काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ ।
भारतमा हुने सन् २०२३ को एकदिवसीय विश्वकप क्रिकेटको छनौट प्रक्रिया अन्तर्गत आइसीसीले यी सिरिजको घोषणा गरेको हो ।
आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज आगामी सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) किर्तिपुर क्रिकेट मैदानमा हुनेछ ।
आईसीसीले हालसम्म नेपालले प्रतियोगिताअन्तर्गत खेल्ने सुरुआती तीन सिरिजको मात्र स्थान टुंगो लगाएको छ ।
नेपालले फेब्रुअरी २०२० मा घरेलु मैदानमा सिरिज खेलेपछि नामिबिया र पपुवा न्यूगिनीमा अन्य दुई सिरिज खेल्नेछ । नामिबिया र नेपालसँगै स्कटल्यान्ड सम्मिलित सिरिज २०२० अप्रिल २० देखि २७ सम्म नामिबियामा हुनेछ ।
पीएनजीमा भने घरेलु टोलीसँगै यूएई र नेपाल सम्मिलित भएर सन् २०२० जुन ९ देखि १६ सम्म त्रिकोणात्मक सिरिज नै हुनेछ ।
आइसीसीका अनुसार त्यसपछि नेपाल, नामिबिया र स्कटल्यान्डले सन् २०२० को जुनमै अर्को सिरिज खेल्नेछन् । उक्त सिरिजको स्थान भने तय भएको छैन ।
नेपालले त्यसपछि जनवरी २०२१ मा ओमान र अमेरिका तथा फेब्रुअरी २०२१ मा यूएई र पीएनजीसँग खेल्ने कार्यक्रम रहेको छ ।
अगष्ट २०२१ मा अमेरिका र ओमानसँग सिरिज खेल्ने नेपालले नोभेम्बर २०२१ मा नामिबिया र स्कटल्यान्डसँग खेल्नेछ । नेपालले लिगको अन्त्य सन् २०२२ जनवरीमा यूएई र पीएनजीविरुद्ध सिरीज खेलेर हुनेछ ।
हरेक सिरिजमा नेपालले दुवै देशसँग २-२ पटक वान डे खेल खेल्नेछन् । त्यसबाहेक टोलीले अन्य खेल खेल्ने सम्भावना पनि रहन्छ । विश्वकप लिग २ अन्तर्गत हरेक टोलीले ३६ खेल खेल्नेछन् ।
यस प्रतियोगिताको शीर्ष ३ टोलीले आइसीसी विश्वकप छनोट २०२२ मा सिधै स्थान बनाउनेछन् । पुछारका ४ टोली भने विश्वकप छनोटको प्लेअफमा पुग्नेछन् ।