काठमाडौँ । वेल्सका फुटबलर ग्यारेथ बेललाई उनकै पुरानो क्लब टोटनह्यामले भित्राउने प्रयास गरेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
द मिररका अनुसार बेलमा टोटनह्यामले लोनमा ल्याउने प्रस्ताव गरेको उल्लेख गरिएको छ । टोटनह्यामले बेललाई १० मिलियन पाउण्डमा पारिश्रमिकमा कटौतीसहित लोनमा भित्राउन अफर गरेको बताइएको छ ।
बेल टोटनह्यामबाट नै रेकर्ड ट्रान्सफर रकममा सन् २०१३ मा रियल म्याड्रिड आएका थिए । टोटनह्यामबाट ६ सिजन प्रिमियर लिग खेलेका बेलले २०३ खेल खेल्दै ५५ गोल गरेका थिए ।
रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले रियलमा पुनरागमन गरेपछि बेललाई लगातार दोस्रो खेलका लागि आफ्नो टोलीबाट बाहिर राखेर उनको प्राथमिकतामा बेल नरहेको बताए पछि बेलले अब रियलबाट बाहिरिने तरखर गरेका हुन् ।
रियलको यस सिजनमा ला लिगा र च्याम्पियन्स लिग जिदानको रियलको टिमलाई पुनर्निर्माण गर्ने अभियानमा बेल प्राथमिकतामा नरहेको देखिएको छ ।
टोटनह्यामको पछिल्लो अफर अघि बेललाई प्रिमियर लिग क्लब चेल्सी र म्यानचेस्टर युनाइटेडले पनि भित्राउने इच्छा देखाएका थिए ।
स्पेनिस ला लिगामा रियलको यस सिजनको प्रदर्शन निराशाजनक भएपछि धेरै खेलाडीलाई परिवर्तन गर्ने देखिएको छ ।
२९ बर्षिय बेलले यस सिजनमा रियल म्याड्रिडका लागि ४२ खेल खेल्दै केवल १४ गोल गरेका छन् । २०१३-१४ सिजनदेखि रियलमा खेलेका बेलले अहिलेसम्म २३१ खेलमा कुल १०२ गोल गरेका छन् ।