काठमाडौं । ब्राजिलका फुटबल नेइमार कोपा अमेरिकाबाट बाहिरिएपछि उनको ठाउमा चेल्सीबाट खेल्ने विलियन खेल्ने भएका छन् ।
विहिबार बिहान कतारविरुद्धको मैत्रीपूर्ण खेलमा घाइते भएका नेइमार कोपा अमेरिकाबाट बाहिरिएसँगै उनको ठाउमा विलियन खेल्ने ब्राजिल फुटबल फेडेरेशनले घोषणा गरेको छ ।
टिममा ठाउ पाएपछि हाल इजरायलमा छुट्टी मनाइरहेका विलियन ब्राजिल फर्किएका छन् । विलियन यसअघि ब्राजिलको कोपा खेल्ने २३ सदस्यीय टिममा परेका थिएनन् ।
यसअघि नेइमारको ठाउमा लुकास मौरा या भिनिसियस जुनियरलाई बोलाउने भनिएको भए पनि ब्राजिलले अनुभवी विलियनलाई नेइमारको ठाउमा चयन गरेको हो । ब्राजिलका लागि ६५ खेल खेलेका ३० बर्षिय विलियन कोपा खेल्ने तेस्रो अनुभवी खेलाडी हुन् ।
नेइमारको अनुपस्थितिमा विलियनले ब्राजिलको १० नम्बर जर्सी लगाउने बताइएको छ ।
कतारविरुद्धको खेलमा घाइते भएपछि नेइमार खेलको २२औ मिनेटमा मैदान छोडेर बाहिरिएका थिए ।
कोपा अमेरिकाको आयोजक समेत रहेको ब्राजिलको फुटबल फेडेरेशनले घाइते नेइमार कोपा अमेरिका अवधि भर ठिक हुने सम्भावना नभएको भन्दै उनी कोपामा सहभागी नहुने स्पष्ट गरेको छ ।
नेइमारको एन्कलमा इन्जुरी भएको फेडेरेशनले जानकारी दिएको छ । घाइते नेइमार मैदानबाट बाहिरिदा रुदै मैदान छोडेको देखिएको थियो भने पछि बेन्चमा समेत उनी रोइरहेको देखिएको थियो ।
हालै मात्र लगातार विवादमा आएपछि उनलाई ब्राजिलको कप्तानबाट हटाइएको थियो ।
ब्राजिलले १५ जुनमा बोलिभियाविरुद्ध कोपा अमेरिकाको खेल सुरु गर्दै छ । समुह ए मा रहेको ब्राजिल, बोलिभियासँगै भेनेजुएला र पेरु रहेका छन् ।