• २०८१ बैशाख १५ शनिबार

गुठी विधेयकप्रति विवेकशील नेपाली दलको आपत्ति

kharibot

काठमाडौँ । विवेकशील नेपाली दलले सरकारले ल्याउन लागेको गुठीसम्बन्धी विधेयकको विरोध गरेको छ ।

विवेकशीलले एक विज्ञप्ति प्रकाशित गर्दै गुठीलाई स्वायत्त, समुदायमुखी र पारदर्शी बनाउनुको साटो राष्ट्रिय पहिचानहरूलाई नै धराशायी बनाउन सकिने गरी नियन्त्रणमुखी, केन्द्रीकृत र सङ्कुचित दायराबाट आएको भन्दै सरकारको गुठी विधेयक प्रति गम्भीर आपत्ति जनाएको छ । 

विज्ञप्तिमा भनिएको छ, ' गुठी प्रणाली नेपालको मौलिक र सफल अनुसन्धान अनि प्रयोग हो। राष्ट्रिय पहिचानलाई नै टेवा पुर्‍याउने यस गुठी प्रणालीको मौलिकतालाई जोगाउनु पर्ने जरुरी छ र २१ औँ शताब्दी सापेक्ष बनाउनु पनि जरुरी छ । अहिले जसरी सङ्घीय सरकारले सुधारको नाममा “गुठी विधेयक २०७५” लिएर आएको छ यो अहिलेको संविधानको मर्म विपरीत नै रहेको विवेकशील नेपालीको ठहर छ। कुनै पनि ऐन-कानुन-नियम बनाउँदा नेपालको संविधानको मर्मअनुरुप सहभागितामूलक लोकतन्त्र र सङ्घीयतालाई आत्मसात् गरी नागरिक, गुठीका व्यापक सरोकारवालाहरू लगायत प्रदेश र स्थानीय सरकारहरूसँग पनि संवाद- समन्वय गर्नु अपरिहार्य छ। तर सरोकारवालाहरूसँग विना कुनै समन्वय, सहभागिता र विभिन्न प्रकारका गुठीका मौलिक अस्तित्वहरूलाई नस्वीकारी एउटै सङ्कुचित परिधिभित्र मात्र बाँध्न खोजियो भने नेपालको विविधता बिचको एकता नै खलबलाउन सक्छ ।'

विवेकशीलले विधेयक तयार गर्दा कुनै पनि गुठीको र नागरिकको सहभागिता नभएको हुनाले यसलाई खारेजै गरी देशैभरिका नागरिक र सरकोरवालाहरुको सहभागिता र सम्वादको अन्तरक्रियाबाट नयाँ विधेयकको सुरुवात होस् भन्दै सबैको सुझाव/प्रतिक्रिया लिएर मात्र फेरि सङ्घीय सरकारले प्रदेश र स्थानीय सरकारसँगको प्रत्यक्ष समन्वयमा नयाँ विधेयक ल्याउन माग अग्रेको छ ।

सङ्घीय, प्रदेश र स्थानीय सरकार तिनै सरकारलाई नागरिक र सरकोरवालाहरुको सहभागितामा मात्र कुनै पनि गुठी विधेयक अघि बढोस् भन्दै अपिल गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै