• २०८१ बैशाख १४ शुक्रबार

अन्तिम समयमा चुक्यो अफगानिस्तान, सामीको ह्याट्रिकले भारत विजयी

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत भारतले अफगानिस्तानमाथि संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो । २२५ रनको लक्ष्य पाएको अफगानिस्तान ४९.५ ओभरमा अल आउट हुदै २१३ रन मात्र बनाएपछि भारत ११ रनले विजयी भएको हो ।

भारतको जितमा मोहमद सामीले अन्तिम ओभरमा ह्याट्रिक लिएका थिए । सामीले अन्तिम ओभरमा मोहम्मद नाबी, अफताब आलम र मुजीब उर रहमानलाई आउट गर्दै भारतलाई जित दिलाएका थिए । उनले ९.५ ओभर बलिङ गर्दै एक मेडनसहित ४० रन दिएर ४ विकेट लिएका थिए ।

सामीको यो ह्याट्रिक यस विश्वकपको पहिलो ह्याट्रिक हो । साथै विश्वकपमा ह्याट्रिक लिने उनी दोस्रो भारतीय बलर हुन् । यस अघि सन् १९८७ को विश्वकपमा चेतन शर्माले न्युजील्याण्डविरुद्ध ह्याट्रिक लिएका थिए । 

त्यस्तै जसप्रित बुमराह, युजवेन्द्र चहल र हार्दिक पाण्डेयले २-२ विकेट लिएका थिए ।

अफगानिस्तानका लागि मोहमद नावीले सर्वाधिक ५२ रन बनाएका थिए । त्यस्तै रहमत शाहले ३६, गुलबदीन नैबले २७, नाजिबुलाह जरदानले २१ राशिद खानले १४ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको भारतले संघर्षपूर्ण ब्याटिंग गर्दै २२४ नमा समेटिएको थियो । भारतले ५० ओभरमा ८ विकेट गुमाउदै २२४ रन बनाएको हो ।

भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रन बनाएका थिए । ६३ बलमा ६७ रन बनाएर आउट भएका विराटले केएल राहुलसँग दोस्रो विकेटको लागि ५७ र विजय शंकरसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए ।

७ रनमै रोहित शर्माको रुपमा पहिलो विकेट गुमाएको भारतलाई अफगानिस्तानका स्पिन बलरले खुलेर खेल्न दिएका थिएनन् । यस अघि २ शतक र २ अर्धशतक बनाएका रोहित यस खेलमा १ रनमा आउट भएका थिए ।

भारतका लागि केदार जादभले ५२ रन बनाए भने केएल राहुलले ३०, विजय शंकरले २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भएका थिए । त्यस्तै हार्दिक पाण्डेय ७ रन बनाएर आउट भए भने मोहमद सामीले १ रन बनाएर आउट भए । 

अफगानिस्तानका बलर मोहमद नावी र गुलबदीन नैबले २- २ विकेट लिए भने मुजीब उर रहमान, राशिद खान, अफताब आलम र रहमत शाहले एक एक विकेट लिएका थिए । नैबले अन्तिम ओभरमा भारतका दुई विकेट लिएका थिए ।   

नावीले केएल राहुल र कप्तान विराट कोहलीलाई आउट गरेका थिए भने उजीबले रोहित शर्मालाई, राशिद खानले महेन्द्र सिंह धोनीलाई आउट गरेका थिए ।

प्रतियोगितामा भारत अहिलेसम्म अपराजित हुदै ५ खेलमा ९ अंक हासिल गरेको छ भने अफगानिस्तान अहिलेसम्म खेलेका सबै ६ खेलमा हार बेहोर्दै विश्वकपबाट बाहिरिएको छ । साथै जारी विश्वकपबाट र खेल खेल्न बाँकी हुदै बाहिरिने अफगानिस्तान पहिलो देश बनेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै