• २०८१ बैशाख १४ शुक्रबार

प्रतिनिधिसभामा सांसदले नाघे मर्यादा : 'करबहादुरदेखि क्षेरबहादुरसम्म'  

kharibot

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सत्तारुढ नेकपा र नेपाली काँग्रेसका सांसदबीच जुहारी चलेको छ । सात मन्त्रालयको विनियोजित विधेयकमाथि छलफल गर्न बसेको बैठकमा सांसदले एकअर्काको नेतृत्वलाई तल्लोस्तरमा झरेर गाली गरेपछि संसदको गरिमा सांसदहरुले नै राख्न नसकेको भन्दै आलोचना भएको छ ।

काँग्रेसका सांसद उमाकान्त चौधरीले प्रधानमन्त्री केपी ओलीलाई ‘झुटप्रसाद’ को उपमा दिएपछि नेकपा सांसद झपट रावल प्रतिरक्षामा उत्रिएका थिए । रावलले प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई 'छेरबहादुर' भने के हुन्छ भन्दै चौधरीको भनाई रेकर्डबाट हटाउन माग गरे ।

संसद बैठकमा चौधरीले सरकार काण्डै काण्डमा फसेको आरोप लगाउँदै सिन्डिकेट हटाउँछु भन्ने सरकार आफैं सिन्डिकेटमा फसेको दाबी गरेका थिए । निरंकुशताको बाटोमा अघि बढेको भन्दै उनले सरकारले जनताले मूल्यांकन र प्रसंशा गर्न लायक कुनै काम नगरेको दाबी गरे ।

‘जथाभावी कर निर्धारण गरेर करप्रसाद ओलीको उपनाम पाएका सम्माननीय प्रधानमन्त्रीज्यूको कामकारबाही हेर्दा सधैँ झुटको आश्वासन दिने भएकाले उहाँको नाम अब झुटप्रसाद राख्नुपर्छ’, उनले भने ।

चौधरीले यति भनेपछि नेकपा सांसद रावल प्रतिरक्षामा उत्रिएका हुन् । सभामुखसँग समय माग्दै उनले चौधरीलाई संसदीय मर्यादाको पाठ सिकाए । ‘हामी नेपाली जनताको प्रतिनिधि हौँ। हामीले बोल्ने भाषा नेपाली जनताले कले बोल्छ भनेर चनाखोपूर्वक हेरिरहेका छन्’, उनले भने, ‘हामीबाट नेपाली जनताले के सिक्ने? हामीले सभ्य भएर कुरा राख्नुपर्छ।’

कांग्रेस सांसदले प्रधानमन्त्रीको नाम बिगार्दा मर्यादा सिकाएका रावलले आफू पनि त्यही स्तरमा झरेका थिए । उनले प्रश्नको शैली अपनाउदै उनले प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई ‘छेरबहादुर' देउवा भने । ‘प्रतिपक्षी दलका सांसदले जुन प्रकारले प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुटप्रसाद भन्नुभयो’, उनले भने, ‘म प्रतिपक्षी दलको नेताको सम्मान गर्छु। उहाँको दलका नेतालाई हामीले पनि शेरबहादुर नभनेर छेरबहादुर भन्यो भने के हुन्छ ? यहाँ प्रयोग गरिने भाषा सभ्य हुनुपर्छ।’ रावलले चौधरीको अमर्यादित भाषण रेकर्डबाट हटाउन पनि माग गरेका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै