• २०८१ बैशाख १४ शुक्रबार

अस्ट्रेलिया र इङल्याण्डको भिडन्त : दुवैलाई जित्नैपर्ने दबाब

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत आज परम्परागत प्रतिद्वन्दी अस्ट्रेलिया र इङल्याण्ड एकआपसमा भिड्दै छन् । लर्ड्स मैदानमा हुने यस खेल दुवै टिमका लागि जित्नै पर्ने खेलको रुपमा रहेको छ ।

अहिलेसम्म अस्ट्रेलियाले ६ खेलमा केवल एक खेल हार्दै १० अंक सहित दोस्रो स्थानमा छ भने इङल्याण्डको अवस्था भने अलिकति मुश्किल रहेको छ । ६ खेलमा २ खेल हारेको इङल्याण्ड ८ अंकसहित चौथो स्थानमा रहेको छ ।

अस्ट्रेलियाका लागि यो खेल जित्नै पर्ने अवस्था नरहे पनि इङल्याण्डका लागि भने सेमिफाइनल यात्राका लागि यो खेल जित्नै पर्ने देखिएको छ । पछिल्लो खेलमा श्रीलंकासँग पराजित हुनुले इङल्याण्ड दबाबमा आएको हो ।

विश्वकपमा अस्ट्रेलियाविरुद्ध इङल्याण्डको रेकर्ड भने त्यति राम्रो देखिदैन । अहिलेसम्म विश्वकपमा खेलेका ७ खेलमा अस्ट्रेलियाले ५ खेलमा जित हासिल गरेको छ भने इङल्याण्ड २ खेलमा विजयी भएको छ । तर इङल्याण्डले सन् १९९२ को विश्वकप पछि भएका विश्वकपमा अस्ट्रेलियालाई पराजित गर्न भने सकेको छैन ।

यस खेलमा इन्जूरीका कारण जेसन रोय खेल्ने छैनन्, जुन इङल्याण्डका लागि ठुलो धक्का हुने छ । रोयको ठाउमा जेम्स भिन्च खेल्ने छन् भने उनले पछिल्ला दुई खेलमा औसत सुरुवात गरेका छन् । इङल्याण्डको ब्याटिंग सम्हाल्न्ने जिम्मा जस बटलर, जोय रुट र कप्तान इयोन मोर्गनको हुने छ । यी तीनले यस विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

रुटले यस विश्वकपमा अहिलेसम्म २ शतक र ३ अर्धशतकसहित ४२४ रन बनाएका छन् । त्यस्तै मोर्गनले एक शतक र एक अर्धशतकसहित २७० रन बनाएका छन् । त्यस्तै बेन स्टोकले २ अर्धशतक बनाउदै २०२ रन बनाएका छन् भने जोस बटलरले एक शतक र एक अर्धशतकसहित १९७ रन बनाएका छन् ।

त्यस्तै अस्ट्रेलियाका लागि भने डेभिड वार्नर र कप्तान एरोन फिन्चको जोडीले उत्कृष्ट ब्याटिंग गरिरहेको छ । वार्नरले २ शतक र २ अर्धशतकसहित ४४७ रन बनाएका छन् भने फिन्चले एक शतक र ३ अर्धशतकसहित ३९६ रन बनाएका छन् । त्यस्तै स्टिभन स्मिथले २४४ रन बनाएका छन् ।

बलिङतर्फ पनि यस विश्वकपमा अस्ट्रेलिया र इङल्याण्डका बलरको दबदबा रहेको छ । अहिलेसम्म धेरै विकेट लिने खेलाडीको सुचिमा इङल्याण्डका जोफ्रा आर्चर र अस्ट्रेलियाका मिचेल स्ट्राकले १५-१५ विकेट लिएका छन् । त्यस्तै इङल्याण्डका मार्क वुडले १२ र अस्ट्रेलियाका पाट कमिन्सले ११ विकेट लिएका छन् ।

आर्चर भर्सेज वार्नर :

यस खेलमा अहिलेसम्म उत्कृष्ट फर्ममा रहेका अस्ट्रेलियाका डेभिड वार्नर भर्सेज यस विश्वकपमा उत्कृष्ट बलिङ गरिरहेका जोफ्रा आर्चरको भिडन्त रोचक हुने अनुमान गरिएको छ । त्यस्तै अस्ट्रेलियाका बलर मिचेल स्ट्राकको धारिलो बलिङका अगाडी इङल्याण्डका ब्याट्सम्यानको पनि अग्नि परीक्षा हुने देखिन्छ ।              

सेमिफाइनलको यात्रा : 

सेमिफाइनलमा पुग्न इङल्याण्डसहित श्रीलंका, बंगलादेश र पाकिस्तान दौडमा रहेको देखिन्छ । तर न्युजील्याण्ड बाहेक अन्य टिमको पनि अझै सेमिफाइनलको यात्रा पूर्ण रुपमा सुनिस्चित भने भएको छैन । अहिलेसम्मको खेलका आधारमा न्युजील्याण्ड, अस्ट्रेलिया र भारत सजिलै सेमिफाइनलमा पुग्ने अनुमान गरीएको छ ।  

अहिले चौथो स्थानमा रहको इङल्याण्डको सेमिफाइनल यात्रा मुश्किल हुने सम्भावना देखिएको छ । इङल्याण्डको अब खेल्न बाँकी खेलहरु ठुला टिमसँग मात्र रहेकाले उसको सेमिफाइनल यात्रामा अवरोध आउन सक्ने दखिन्छ ।

इङल्याण्डले आज अस्ट्रेलियासँग, जुन ३० मा भारतसँग र न्युजील्याण्डसँग जुलाई ३ मा खेल्दै छ । तिनै टिम अंक तालिकामा शिर्ष तीन स्थानमा रहेका छन् । इङल्याण्डले यी तीन टिम मध्ये कम्तिमा २ खेल जित्नै पर्ने अवस्था रहेकोले उसको सेमिफाइनल यात्रा पछिल्लो श्रीलंकाविरुद्धको खेलमा पराजित भएसँगै मुश्किलमा परेको देखिएको छ ।

त्यस्तै अस्ट्रेलियाका लागि पनि सेमिफाइनलमा पुग्न कम्तिमा एक खेल जित्नै पर्ने देखिन्छ । अस्ट्रेलियाले आज इङल्याण्डसँग खेल्दै छ भने बाँकी दुई खेल न्युजील्याण्ड र दक्षिण अफ्रिकासँग खेल्दै छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै