• २०८१ बैशाख १५ शनिबार

इङल्याण्डलाई हराउदै अस्ट्रेलिया विश्वकपको सेमिफाइनलमा

kharibot

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत अस्ट्रेलियाले इङल्याण्डलाई ६४ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

अस्ट्रेलियाले दिएको २८६ रन पछाएको इङल्याण्ड ४४.४ ओभरमा २२१ रनमा अलआउट भएपछि अस्ट्रेलिया ६४ रनले विजयी भएको हो ।

इङल्याण्डका लागि बेन स्टोकले सर्वाधिक ८९ रन बनाएका थिए भने जोनी बैरस्ट्रवले २७ रन बनाएका थिए । त्यस्तै क्रिस वोक्सले २६, जोस बटलर र आदील राशिदले २५-२५ रन बनाएका थिए ।

अस्ट्रेलियाका बलर जासन बेहरेनड्रोफले सर्वाधिक ५ विकेट लिए । बेहरेनड्रोफले १० ओभरमा ४४ रन इएर ५ विकेट लिएका थिए । त्यस्तै मिचेल स्ट्राकले ४ विकेट लिए भने मार्कोस स्टोइनिसले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अस्ट्रेलियाले ५० ओभरमा ७ विकेट गुमाउदै २८५ रन बनाएको थियो ।

अस्ट्रेलियाका कप्तान एरोन फिन्चले उत्कृष्ट ब्याटिंग गर्दै शतकीय पारी खेले । फिन्चले ११६ बलमा ११ चौका र २ छक्का प्रहार गर्दै आफ्नो शतक पुरा गरेर आउट भए ।

फिन्चको यस विश्वकपमा यो दोस्रो शतक हो । फिन्चले यस अघि श्रीलंकाविरुद्धको खेलमा १५३ रनको आक्रामक पारी खेलेका थिए ।

फिन्चले यस खेलमा पहिलो विकेटका लागि डेभिड वार्नरसँग मिलेर १२३ रनको साझेदारी गरेका थिए । वार्नर ५३ रन बनाएर आउट भएका थिए । त्यस्तै दोस्रो विकेटका लागि फिन्चले उसमान ख्वाजासँग मिलेर ५० रनको साझेदारी गरेका थिए । 

फिन्चले यस विश्वकपमा २ शतक र ३ अर्धशतक प्रहार गर्दै ४९६ रन बनाएका छन् ।

अस्ट्रेलियाका लागि डेभिड वार्नरले ५३ रन बनाएका थिए । त्यस्तै स्टिभन स्मिथले ३८ रन बनाए भने उसमान ख्वाजाले २३, एलेक्स केरीले आक्रामक २७ बलमा अविजित ३८ रन बनाए भने, ग्लेन म्याक्सवेलले १२, मार्कोस स्टोइनिसले ८, पाट कमिन्सले १ रन बनाए । त्यस्तै मिचेल स्ट्राकले अविजित ४ रन बनाए ।  

इङल्याण्डका बलर क्रिस वोक्सले २ विकेट लिएका थिए । त्यस्तै जोफ्रा आर्चर, मार्क वुड, बेन स्टोक र मोइन अलीले एक एक रन बनाएका थिए ।

अस्ट्रेलिया यो जितसँगै जारी विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । ७ खेलमा ६ जित र एक हारसहित १२ अंक बटुल्दै अस्ट्रेलिया सेमिफाइनलमा पुगेको हो । त्यस्तै ६ खेलमा ३ खेल हारेको इङल्याण्ड ८ अंकसहित चौथो स्थानमा रहेको छ भने अब सेमिफाइनलमा पुग्न खेल्न बाँकी रहेका दुवै खेल जित्नु पर्ने दबाबमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै