काठमाडौं । विश्वकप क्रिकेट अन्तर्गत आज भारत र वेस्टइन्डिजबीच खेल हुदै छ । प्रतियोगितामा अपराजित रहेको भारत र विश्वकपमा अहिलेसम्म खराब प्रदर्शन गरेको वेस्टइन्डिजबीचको यो खेल रोमान्चक हुने अनुमान गर्न सकिन्छ ।
पछिल्लो खेलमा अफगानिस्तानविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको भारत ५ खेलमा ९ अंक हासिल गर्दै तेस्रो स्थानमा छ भने वेस्टइन्डिज ६ खेलमा ३ अंक हासिल गर्दै आठौ स्थानमा रहेको छ ।
भारत यो खेलमा जित हासिल गर्दै आफ्नो अपराजित यात्रा कायम अग्रण चाहन्छ भने सेमिफाइनलको दौडमा एककदम नजिक पुग्न चाहन्छ । त्यस्तै वेस्टइन्डिज भने बाँकी रहेका तीन खेल जितेर कम्तिमा यँहाबाट अन्तिम प्रयास भने गर्न सक्छ । सामान्य रुपमा वेस्टइन्डिजको सेमिफाइनल यात्रा सकिएको देखिएपनि चौथो स्थानमा अंक गणितीयरुपमा सम्भावना बाँकी रहेको कुरा नकार्न भने सकिन्न ।
भारत आफ्ना ओपनर शिखर धवनको बहिर्गमनपछि अलिकति दबाबमा देखिएको छ भने अर्का तिब्र गतिका बलर भुवनेश्वर कुमार पनि इन्जुरिका कारण यो खेल खेल्ने नखेल्ने निश्चित छैन । त्यस्तै वेस्टइन्डिजका अलराउन्डर आन्द्रे रासेल घाइते हुदा जारी विश्वकपबाट बाहिरिएका छन् ।
प्रमुख खेलाडी :
भारतका लागि ओपनर रोहित शर्मा र बलर जसप्रित बुमराह भारतका लागि यस खेलमा प्रमुख खेलाडी हुने छन् । रोहितले ४ खेलमा २ शतक र एक अर्धशतकसहित अहिलेसम्म ३२० रन बनाएका छन् । त्यस्तै बुमराहले ४ खेलमा ७ विकेट मात्र लिएपनि उनले लिएका विकेटले खेलको स्थिति नै परिवर्तन गरेका छन् ।
यसका अलावा भारतका लागि मध्यक्रमका ब्याट्सम्यान महेन्द्र सिंह धोनी, हार्दिक पाण्डेयजस्ता खेलाडीले रन बनाउन जरुरी देखिन्छ ।
त्यस्तै वेस्टइन्डिजमा क्रिस गेल, साइ होप, जासन होल्डरजस्ता खेलाडी भएपनि यस खेलमा क्रिस गेल प्रमुख खेलाडी हुनसक्ने देखिन्छ । गेलले यस विश्वकपमा ६ खेलमा २ अर्धशतकसहित १९४ रन बनाएका छन् । गेलले आफ्नो प्राकृतिक खेल देखाएमा भारतका सामु एक्लै चुनौती बन्न सक्दछन् ।
यी दुवै टिमबीच विश्वकपमा अहिलेसम्म ८ पटक भेट भएको छ । जसमा भारतले ५ पटक जितेको छ भने वेस्टइन्डिजले ३ जित हासिल गरेको छ । वेस्टइन्डिजले भारतलाई विश्वकपमा अन्तिम पटक सन् १९९२ मा पराजित गरेको थियो । त्यस यता खेलेका विश्वकपका सबै खेलमा भारत विजयी भएको छ ।
सम्भावित टिम
भारत : विराट कोहली (कप्तान), रोहित शर्मा, केएल राहुल, विजय शंकर, हार्दिक पाण्डेय, महेन्द्रसिंह धोनी, केदार जाधव, कुलदीप यादव, युजवेंद्र चहल, जसप्रीत बुमराह र मोहम्मद शमी ।
वेस्टइंडीज: जेसन होल्डर (कप्तान), क्रिस गेल, शाई होप, शिमरोन हेटमायर, कार्लोस ब्रेथवेट, शेल्डन कोट्रेल, ओशाने थोमस, केमार रोच, एश्ले नर्स, निकोलस पूरण र इविन लुइस ।