• २०८१ बैशाख १४ शुक्रबार

'हुवावेले साथ छोडे गूगलले गुमाउनेछ ८० करोड प्रयोगकर्ता'

kharibot

काठमाडौं । स्मार्टफोन निर्माता हुवावेमाथि अमेरिकी सरकारले प्रतिबन्ध लगाएपछि गूगलले कम्पनीको एन्ड्रोइड लाइसेन्स अघिल्लो महिना रद्द गरेको छ । अब हुवावेले आफ्नो स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम प्रयोग गर्न नपाउने भएको छ । यूएस डिपार्टमेन्ट अफ कमर्सले हुवावेलाई एन्टिटी सूचीमा राखेको छ । यो सूचीमा त्यस्ता कम्पनीलाई राखिन्छ जसका कारण राष्ट्रलाई खतरा हुन सक्छ ।

हुवावेले यो प्रतिबन्धपछि आफ्नो छुट्टै मोबाइल ओएस होङमेङ विकास गरिरहेको छ भने विकल्पस्वरुप रुसी ओएस अरोराका लागि पनि वार्ता गरिरहेको छ । गूगलले आफ्नो ओएस एन्ड्रोइड प्रयोग गर्न हुवावेलाई दिने–नदिने अझै स्पष्ट भइसकेको छैन ।

यूएस कमर्स डिपार्टमेन्टले प्रतिबन्ध घोषणा गरेको ९० दिनभित्र अमेरिकी कम्पनीहरुलाई हुवावेसँग बाँकी लेनदेन प्रक्रिया पूरा गर्न आदेश दिएको छ । यसले हुवावेलाई त समस्या बढिरहेको छ नै ।

हुवावेले आफ्ना प्रयोगकर्तालाई कम्पनीका सबै स्मार्टफोनले उत्तिकै काम गर्ने बताइरहेको छ । ती फोनमा एन्ड्रोइड अपडेट प्राप्त भइरहने पनि उसको भनाइ छ । पूर्ण प्रतिबन्ध लागेमा कम्पनीलाई करीब ३० अर्ब डलर घाटा लाग्ने अनुमान छ ।

सीएनबीसीलाई दिइएको एक अन्तर्वातामा हुवावेका संस्थापक सीईओ रन चङफेईले यदि हुवावेले एन्ड्रोइडको प्रयोग आफ्नो डिभाइसमा नगर्ने हो भने गूगलले करीब ८० करोड प्रयोगकर्ता गुमाउने बताएका छन् । उनले भने, ‘गूगल र हुवावे दुवै सँगै मिलेर काम गर्नुमा नै दुवै कम्पनीको भलाइ छ, अन्यथा केही समयको अन्तरालमा गूगलले ७० देखि ८० करोड प्रयोगकर्ता गुमाउनुपर्नेछ ।’

कम्पनीको विकासको गति सुस्ताउने भएकाले हुवावेले गूगलको एन्ड्रोइडको स्थानमा अरु कुनै पनि ओएस प्रयोग गर्न नचाहेको चङफेईको भनाइ छ । तर, यदि हुवावेले गूगलको साथ छोड्नुपरेको खण्डमा आफ्नो ओएसको माध्यमले ऊ विश्व बजारमा टिकिरहने उनले बताए ।

हुवावे आफ्नो अपरेटिङ सिस्टम होङमेङ ओएस अथवा ओआक ओएस सेप्टेम्बरको अन्त्यदेखि अक्टुबरसम्ममा सार्वजनिक गर्ने तयारीमा छ । यो ओएस सुरुमा मध्यरेन्जको डिभाइसमा प्रयोग हुने विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हालसालै हुवावेको मोबाइल अपरेटिङ सिस्टमको परीक्षणमा ओप्पो र भिभोजस्ता कम्पनीले पनि भाग लिएका थिए । हुवावेको होङमेङ ओएस एन्ड्रोइडको तुलनामा ६० प्रतिशत छिटो भएको बताइएको छ । यसबाहेक हुवावेले सेलफिस ओएस र रुसी ओएस अरोरालाई पनि एन्ड्रोइडको स्थानमा प्रयोग गर्न सक्ने अनुमान छ ।

होङमेङ सबै एन्ड्रोइड एपको लागि कम्प्याटिबल हुने र पर्फर्मेन्स पनि निकै राम्रो हुने हुवावेको दाबी छ । एपलाई अझै राम्रो बनाउन क्रोमको जस्तै यसलाई रिकम्पाइल पनि गर्न सकिने बताइएको छ । यदि हुवावेले एन्ड्रोइडलाई प्रतिस्थापित गर्ने हो भने अन्य चिनियाँ प्रविधि कम्पनीले पनि एन्ड्रोइडलाई छोडेर  हुवावेको ओएस प्रयोग गर्न सक्छन् । यस्तोमा मोबाइल ओएस बजारमा गूगल सबैभन्दा ठूलो ब्रान्ड रहनेछैन र अर्को कुनै पनि विकल्पले एन्ड्रोइडलाई टक्कर दिन सक्नेछ । गूगलले पनि यो कुरालाई लिएर अमेरिकी सरकारसामु चिन्ता व्यक्त गरिसकेको छ ।

एजेन्सीको सहयोगमा

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै