• २०८१ बैशाख १७ सोमबार

जीर्ण बन्दै कर्णाली पुल

kharibot

फाइल तस्विर । 

कैलाली / कैलालीको लम्की चुहा नगरपालिका–३ चिसापानीस्थित पूर्वपश्चिम राजमार्गबाट सुदूरपश्चिमलाई जोड्ने कर्णाली नदीको पुल जीर्ण बन्दै गएको छ । पर्यटकीय हिसाबले समेत महत्वपूर्ण मानिएको कर्णाली पुल नियमित मर्मत सम्भार तथा रेखदेखको अभावमा जीर्ण बन्दै गएको हो ।

एउटा मात्रै पिल्लरमा निर्मित केबुल तारयुक्त पाँच सय मिटर लम्बाई भएको नमूना पुल भएका कारण पनि कर्णाली पुल आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आकर्षक बन्दै आएको छ । २०४९ सालमा निर्माण भएको यो पुल निर्माण भएपश्चात् अहिलेसम्म मर्मतसम्भार तथा रङरोगन हुन सकेको छैन ।

“पुलका कतिपय ‘नट बोल्टहरु’ खुल्दै गएका (हल्लिएका) छन् भने ‘सपोर्टिङ’ केबुल तार चुँडिएका छन्”, स्थानीयवासी मोहन खाँडले भन्नुभयो, “मर्मतसम्भार तथा रङरोगनको अभावमा पुलका विभिन्न भागमा खिया लागेको छ ।” तत्कालीन माओवादी द्वन्द्वका क्रममा चिसापानीमा लडाकू र सेनाबीच भीडन्त हुँदा पुलका विभिन्न भागमा गोली लागेर क्षति भएको थियो । गोली लागेर प्वाल परेका निशान अहिले पनि देख्न सकिन्छ ।

जसका कारण पुल कमजोर बन्दै गएको छ । पुलको पूर्वतर्फका तीनवटा तार हावा चल्दा अस्वभाविक रुपमा हल्लिने गरेको लम्की उद्योग वाणिज्य सङ्घका महासचिव लव शाहीले जानकारी दिए । उनले पुलको ब्यालेन्स हेर्नका लागि तारमा जोडिएका ‘बल’ समेत खस्न थालेको बताए ।

“नियमित मर्मतसम्भार र रङरोगन नहुँदा पर्यटकीय महत्व बोकेको कर्णाली पुल जीर्ण बन्दै गइरहेको छ”, महासचिव शाहीले भने , “समयमै मर्मतसम्भार हुन नसके कुनै दिन ठूलो दुर्घटना हुन बेर छैन ।” चिसापानीस्थित कर्णाली पुल हेर्नकै लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् ।

नेपालका विभिन्न जिल्लासहित भारतको उत्तर प्रदेश र उत्तराखण्डका विभिन्न शहरबाट समेत भारतीय नागरिक चिसापानी पुल हेर्न आउने गर्दछन् । उनीहरु एशियाकै नमूना पुल हेर्नका लागि स–परिवार चिसापानी आउने गरेको बताउनुहुन्छ । चिसापानी आउने कर्णाली पुलमा फोटो खिच्न, कर्णालीको चिसो हावामा रमाउन र कर्णालीका माछाको स्वाद लिनकै लागि यहाँ आउने गर्नुहुन्छ ।

“चिसापानी आउनेहरु कर्णाली पुलमा एउटा तस्वीर नखिची फर्कन मान्दैनन्”, स्थानीयवासी नेत्र जैसीले भन्नुभयो, “यहाँ आउने कर्णालीको माछा खाएर मात्र जाने चलन छ ।” सुदूरपश्चिम प्रदेशबाट पूर्व जाने लामो तथा छोटो दूरीका सवारीसाधन होस् या पर्यटक चिसापानीमा एक छाक खाना खाने योजना बनाउँछन् ।

जसका कारण चिसापानीमा होटल व्यवसाय राम्रो चलेको जैसीले बताए । सरकारले चिसापानीलाई पर्यटकीय क्षेत्रसमेत घोषणा गरेको छ तर पछिल्लो समयमा पुल जीर्ण बनेपछि आकर्षण हराउँदै गएको स्थानीय होटल व्यवसायी नवीन भुजेलले बताए । भुजेलले पुलको सुन्दरता हराएसँगै चिसापानीको महत्वसमेत सङ्कटमा पर्ने खतरा रहेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै