• २०८१ बैशाख १७ सोमबार

नेकपाको सचिवालय बैठक आज बस्दै, जिम्मेवारी तोकिने सम्भावना 

kharibot

फाइल तस्बीर

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपराहन्न एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै छ । बैठकमा जिल्ला इञ्चार्ज, केन्द्रीय विभाग, आयोग, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउने कार्यसूची रहेको छ । 

यस अघि गत आषाढ ३१ बसे दुवै प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बसेर एकता प्रक्रिया टुंगाएका थिए । राजनीतिक प्रतिवेदनको विवाद टुंगाएर प्रकाशित गर्न पठाएसँगै अब पार्टीका विभाग, केन्द्रीय समितिको जिम्मेवारी तोक्ने काम बाँकी रहेको छ ।

आज बस्ने बैठकले पार्टीका ३२ केन्द्रीय विभागहरु जिम्मेवारी टुंगो लगाउन सक्ने बताइएको छ । ३२ विभागमा पूर्वएमालेको भागमा १८ र पूर्वमाओवादीको भागमा १४ विभाग पाउने सहमति भएको छ ।  जसअनुसार पुर्वएमालेका नेताहरु शुक्रबार बिहान बसेर आफ्नो भागमा परेका बिभागको जिम्मेवारी कसलाई दिने भन्ने बारे छलफल गरेका छन् । जसमा पुर्वएमालेको भागमा परेको संगठन विभाग बामदेव गौतमलाई र विदेश विभाग माधवकुमार नेपाललाई दिने सहमति भएको बताइएको छ ।

त्यस्तै अर्का वरिष्ठ नेता झलनाथ खनाललाई नीति तथा अनुसन्धान विभाग र स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेलले पाउने सम्भावना रहेको छ ।

त्यस्तै १४ विभागमा कसलाई जिम्मेवारी दिने भन्ने बारे पुर्वमाओवादीका नेताहरुले पनि प्रचण्ड निवासमा छलफल गरेको बताइएको छ । पुर्वमाओवादीले पाएका विभागमा प्रचार विभाग पार्टीका प्रवक्ता समेत रहेका नारायणकाजी श्रेष्ठलाई दिने लगभग तय मानिएको छ भने अन्य विभागको जिम्मेवारी बारे अझै निर्णय नगरिएको बताइएको छ ।     
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै