• २०८१ बैशाख १५ शनिबार

सिरीले सुन्दै छ युजरको कुरा, गोपनीयता भंग नगरेको एप्पलको दाबी 

kharibot

काठमाडौं । एमजन एलेक्सा र गूगलको असिस्टेन्टले प्रयोगकर्ताको कुराकानी सुन्ने गरेको घटना त धेरैपटक आइसकेको छ । अब यस्तैमा एप्पलको असिस्टेन्ट सिरीमाथि पनि यस्तै आरोप लागेको छ । द गार्जेनको एक नयाँ प्रतिवेदनमा एप्पलका कर्मचारीले सिरीको माध्यमले प्रयोगकर्ताको व्यक्तिगत कुरा सुन्ने गरेको उल्लेख छ । यसमा एप्पलको भोइस असिस्टेन्टको सहायताले डाक्टरसँग लिइएको अपोइन्टमेन्टसम्म संलग्न छ । 

एप्पलका एक पूर्व कन्ट्राक्टरले एप्पलले सिरीको सहायताले प्रयोगकर्ताको आवाज कर्मचारीलाई विभिन्न आधारमा ग्रेडिङका लागि सुम्पिने गरेको बताएका छन् । यसमा प्रयोगकर्ताले बुझेर सिरीलाई आग्रह गरिरहेका छन् कि अन्जानमा गरिरहेका छन् भन्ने पनि उनीहरुले छुट्याउने गरेका छन् । त्यस्तै, कर्मचारीहरुले सिरीले दिएको प्रतिक्रिया कतिको सही अथवा गलत छ भन्ने पनि कर्मचारीहरुले छुट्याउने गरेको उनको भनाइ छ । 

एप्पलले पनि यस विषयमा केही सहमति जनाउँदै आफूले सिरीले दिएको जानकारी अथवा आदेश कतिको सही अथवा गलत छ भनी विश्लेषण गर्ने गरेको बताएको छ, तर, यसमा प्रयोगकर्ताको व्यक्तिगत विवरण भने साथमा कर्मचारीको हातमा नजाने उसले उल्लेख गरेको छ । 

प्रयोगकर्तालाई विश्वास दिलाउँदै एप्पल 

एप्पलका अनुसार सिरीले प्रयोगकर्ताको आवाज स्पष्ट पहिचानका साथ सुन्न गरेको छैन । उसले आवाज त सुन्छ, तर प्रयोगकर्ताको विवरण भने कसैको हातमा नपुगेको कम्पनीको भनाइ छ । त्यसैले प्रयोगकर्ताको गोपनीयता भंग नभएकोमा कम्पनीले जोड दिएको छ । 

प्रयोगकर्तालाई विशेष अनुभूति दिलाउन गोपनीयतालाई सुरक्षित राखी अध्ययन गर्ने गरिएको एप्पलको भनाइ छ । सिरीले सुन्ने गरेको आवाजको केवल एक प्रतिशत मात्रै विश्लेषण गर्ने गरिएको उसले उल्लेख गरेको छ । कम्पनीका कुनै पनि कर्मचारीले प्रयोगकर्ताको पूरै कुराकानी सुन्ने गरेको भन्ने कुरा गलत भएको एप्पलको कथन छ । 

एमजन र गूगलले पनि सुन्छन् प्रयोगकर्ताको कुरा 

प्रयोगकर्ताको कुरा सुन्नेमा एप्पल एक्लै कम्पनी भने होइन । एमजन र गूगलले पनि आफ्नो असिस्टेन्टको सहायताले प्रयोगकर्ताको आवाज सुन्ने गरेको विभिन्न समाचार सार्वजनिक भएका छन् । एमजनले केही अघि एलेक्साबाट रेकर्ड हुने केही हिस्सा यो प्रविधिलाई अझै गुणस्तरीय बनाउन सुनिने गरेको बताएको थियो ।

गूगलले पनि आफ्ना प्रयोगकर्ताको कुराकानी सुन्ने गरेको पाइएको थियो । 

वास्तवमा सबै भोइस असिस्टेन्टले प्रयोगकर्ताको भोइस कमान्डको उत्तर दिनुका साथै सोही अनुरूप क्रिया गर्ने गर्दछन् । यी भोइस असिस्टेन्टको निर्माण नै यिनलाई आदेश दिनुका साथै प्रयोगकर्ता यिनीहरुसँग राम्ररी कुराकानी गर्न सकून् भन्ने उद्देश्यले नै बनाइएको कम्पनीहरूको दाबी छ । यसबाट हुन सक्ने गोपनीयताको असुरक्षाप्रति भने आफू निकै सजग रहेको कम्पनीहरुले उल्लेख गरेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै