• २०८१ बैशाख १७ सोमबार

रिसाइरहेको भोटेकोशीसँग जिस्कँदा...

kharibot

‘डरके आगे जित हे ।’ यो हरफ युवापुस्ताको मन पर्ने हरफहरुमध्ये एक हो । हुन त एक कोल्ड ड्रिंक्स कम्पनीको बिज्ञापनमा अटाएको यो हरफ जित्न चाहने हरेकको फेवरेट कोटेसन भईसक्यो । 

हामी पनि यस्तै डरके आगे जित हे भन्दै साहसिक खेलका लागि सिन्धुपाल्चोक प्रस्थान गर्दै थियौं । बोर्डरल्याण्ड रिसोर्ट र लिड इन्टरनेशनलले जुराईदिएको यो  यात्रामा हामीले लिडरसिप तथा टिम बल्डिङ सम्बन्धी रोचक तथा साहसिक खेल सहितको यात्रा गर्दै थियौं । 
१९ जना सहभागीका साथै आयोजक तर्फका चार जना गरी २२ जनाको यात्रा थियो त्यो ।

टोलीमा अधिकांस राजनितीक दलका मानिस थिए, जो भविष्यमा देश चलाउने क्षमता राख्थे । जसमा युवा नेताहरु नेपाली कांग्रेस निकट भातृ संगठनका कप्लेश्वर यादव, योगेश्वर पाण्डे, प्रेमिका राना मगर, दिलिप राज कार्की, लक्ष्मी सिलवाल, प्रविन कुमार कार्की र शम्भु कुमाल थिए । नेपाल कम्युनिष्ट पार्टी निकटका युवा तथा विद्यार्थी नेताहरु  निरज पौडेल, आरति लामा, हिरा बि.क.र शिवजी गुप्ता सहभागी थिए । त्यस्तै राजपाका नेताहरु, शम्भु झा, रामेश्वर यादव र साधना यादव थिए भने समाजवादी पार्टी नेपालका अजय यादव सहभागी थिए । 

साथमा हामी चार जना थियौं, जो गैरराजनितीक क्षेत्रका थियौं । जसमा, एकजना जेसीसका जेसी बिशाल थापा, महिला हिंसासम्बन्धि संस्थामा काम गर्ने शुक्री राई, महिनावारीबारे जानकारी दिने संस्थाका संस्थापक तथा स्वास्थ्यका बिद्यार्थी तर्थराज कोइराला अनि पत्रकारिताको विद्यार्थी म । 

हामी सबै डरको अगाडी रहेको ‘जित’लाई जित्ने यात्रामा थियौं । साउन ९ गते बिहिबार बिहानै काठमाडौंदेखि हाम्रो यात्रा सिन्धुपाल्चोकतिर अगाडी बढिसकेको थियो । हामी यात्रा गरेको सोही दिन गन्तव्य पुग्ने र १० गते बिहान ¥याफ्टिङमा रमाउने योजना सहित त्यता लागेका थियौं । 

बसमा करिब ७ घण्टाको यात्रा  (काठमाडौंबाट ९७ किलोमिटर) गरेर हामी सिन्धुपाल्चोकको भोटेकोशी किनारामा रहेका बोर्डरल्यान्ड रिसोर्ट पुग्यौं । उक्त रिसोर्टदेखि तातोपानी नाका जम्मा १६ किलोमिटर टाढा छ ।

त्यहाँ हामीले लोरोप, बिश्वासको खेल, टावर बिल्डिङका साथै अंध्यारोमा आँखा चिम्लेर अफ्यारो सुरुङमार्गको समेत यात्रा गर्यौं । 

भोलिपल्ट बिहानै झमझ पानी परिरहेको थियो । र्याफ्टिङ भुतले अघिल्लो दिनदेखि नै हामी सबैलाई सताईरहेको थियो । कोहि पौडिन नआउने भन्दै उर्लिरहेको भोटेकोशी देखि डराईरहेका थिए त कोहि भेल देखेर हाइड्रो फोयिबा भएको भन्दै भोटेकोशीदेखि टाढा भाग्ने कोशिस गरिरहेका थिए ।

 

एक्साइटमेन्ट त थियो नै साथै सबैको मुहारमा डर थियो र डरलाई जित्ने हौसला पनि । केहि ब्यक्ति र्याफ्टिङका अनुभवी थिए भने हामी अधिकांश पहिलोपल्ट अनुभव लिदैं थियौं । 

बिहान ८ बजे ब्रेकफास्ट लिएर हामी ¥याफ्टिङका लागि निस्कियौं । बाटोमा जुरे पहिरो ( विसं २०७१ साउन १७ गते राम्चे–५ को इटिनी पहरो फुटेर गएको पहिरोले १४५ जनाको निधन भई १२२ घर पूर्ण क्षति भएको थियो । पहिरोबाट साबिक राम्चे, माङ्खा, धुस्कुन र टेकानपुरसहित चार गाविसका बासिन्दा पीडित बनेका थिए ।) तथा केहि हाइड्रोपावर भएकाले हामीले त्यो भन्दा केहि तलबाट मात्रै र्याफ्टिङ सुरु गर्ने भयौं । 

सुरुमा र्याफ्टिङका कपडा देखेर साथीहरु फोटो खिच्न थाले । मोवाइल जोगाउन नसक्ने साथीहरुले भने बसमै छाडेका थिए जसले गर्दा उनीहरुको मुहारमा नैराश्यता झल्किन्थ्यो, ठुलै कुरा गुमाए जसरी । 

हामीलाई गाइड गर्नका लागि पाँच जना थिए । तीनजना तिनओटा बोटका लागि र दुई जना हामी बोटबाट पानीमा पुगे उद्दार गर्नका लागि । उनीहरुले हेलमेट तथा ज्याकेट लगाउनेदेखि पानीमा परे के गर्ने र के नगर्नेसम्मको जानकारी हामीलाई दिए । 

साथै, प्याडल कसरी चलाउने, कतिखेर रोक्ने, प्याडलले पानी अगाडी कसरी काट्ने, पछाडी कसरी काट्ने, कतिखेर डोरी समाउने, कतिखेर बोटमुनी टाउको लुकाउने, यदि बोट पल्टियो भने के गर्ने, बोटबाट खस्यो भने डोरी कसरी समाउने देखि हेल्प गर्न हिडेकालाई कसरी सहयोग गर्ने जस्ता इन्ष्टक्सन दिइयो । 

यी सबै इन्स्टक्सन सुनिसकेपछि डरको मात्रा पनि उत्तिकै बढेको थियो । बर्खायाममा गडगडाहट सहित आएको भोटेकोशीमा होमिनु सजिलो कुरा पनि थिएन । त्यसैमाथी हामी ¥याफ्टिङका लागि बेमौसमी मानिने महिनामा गएका थियौं । भोटेकोशीको पानी सामान्य थिएन, बहाव निकै बढेको थियो । 

सबै युवा थियौं । तातो रगत सजिलै सेलाउनेवाला थिएन । सबैको प्याडललाई चियर्स गर्दै भोटेकोशीको नाम लिएर ¥याफ्टिङ सुरु भयो । पानी बाहिर हुँदा डराएको शरिर पानीमा पस्ने बित्तिकै रमाउन थाल्यो । 

बोटलाई उचाल्ने र थेचार्ने गरिरहेको भोटेकोशीको त्यो छाल, पानी बाहिरबाट हेर्दाजस्तो भयंकर थिएन । उ आफ्नै सुरमा बगिरहेको थियो । टाढाबाट सुनिएजस्तो भयानक गढगढाहट पनि थिए, उ त आफ्नै तालमा सुसेल्दै थियो । 

यो साहसिक यात्रा गरुन्जेल मैले भने भोटेकोशीलाई निकै नजिकबाट नियालें । टाढाबाट हेर्दाजस्तो बिलकुलै थिएन भोटेकोशी, नजिकबाट निकै दयालु थियो । शान्तसँग बगिरहेको थियो र बेलाबेला हामीलाई जिस्काउँथ्यो । 

छालको स्पर्शले शरिरमा छुट्टै खालको तरङ्ग पैदा गरिदिन्थ्यो । बेलाबेला हामीलाई लखेटेजस्तो गथ्र्यो र हामी बोटमुनि साहाराका लागि पुग्थ्यौं, फेरी उस्को लुक्ने पालो आउँथ्यो, हामी पानी छ्यापेर रमाइलो मान्थ्यौं । 

हामीले अन्य बोटका साथीलाई जिस्काउने मात्रै होइन, बोट–बोट ठोक्काएर समेत मज्जा लियौं । कुनैकुनै समय भने साँच्चै रिसाएजस्तो गथ्र्यो भोटेकोशी र हामीलाई धमिलो पानी समेत खुवाइदिन्थ्यो, फेरी तुरुन्तै शान्त पनि बनिदिन्थ्यो ।

हिउँदको समयमा दुई घन्टा लाग्ने जलयात्रा हामीले ४५ मिनेटमै तय गर्यौं । यसको कारण पानीको बहाव थियो । हामी त भोकतिर्खा सबै भुलेर त्यतै जिन्दगी बिताईदिन समेत तयार थियौं । जलयात्राको गन्तब्य सुकेटेमा रहेको सुनकोशी बीच रिसोर्टसम्म थियो । रिसोर्टमा हामीलाई बोर्डरल्यान्डले प्रमाणपत्र दिने कार्यक्रम थियो ।

बोटबाट उत्रन मन नहुँदानहुँदै पनि उत्रियौं । साथै मनमा भोटेकोशी जलयात्राका लागि फेरी पनि आउने बाचा त छँदै थियो र छँदैछ पनि ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै