• २०८१ बैशाख १७ सोमबार

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारवाहीमा

kharibot

प्रतिनिधि तस्बीर ।

काठमाडौँ । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारवाही गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी सवारीसाधन चलाउने उक्त सवारीसाधनलाई कारवाही गरेको हो ।  

महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक रवीकुमार पौडेलले आफ्नो लेनभन्दा बाहिर गएर जथाभावी चलाउने चालकलाई कारवाही गरेको जानकारी दिए । “हतारोका कारण अर्को लेनमा गएर सवारी चलाउने चालकलाई कारवाहीको दायरामा ल्याएका हौँ”, उनले भने । 

महाशाखाले सिसीटिभी, ग्रोप्रो क्यामरा, वडीवन क्यामराबाट समेत लेनबाट अनुगमन गरी अनुशासनको  कारवाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारीसाधनको नम्बर टिपेर चालकको घरमा चिठी पठाउने र जरिवानासमेत गर्ने गरेको छ । 

कारवाही परेकामध्ये ४० हजार ६१९ पुरुष र दुई हजार २०३ महिला रहेका छन् । ट्राफिक प्रहरीले लेन अनुशासन पालना नगर्ने सवारी चालकलाई रु पाँचसय जरिवाना र एक घण्टा जनचेतनामूलक कक्षा सञ्चालन गर्दै आएको छ । उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त तथा दुरुस्त बनाउन ट्राफिक प्रहरीले विस २०७१ असोज २६ देखि लेन अनुशासन कारवाही गर्दै आएको हो ।

महाशाखाले हालसम्म तीन लाख आठ हजार ५४७ चालकलाई लेन अनुशासनमा कारवाही गरी जनचेतनामूलक कक्षा लिएको प्रवक्ता पौडेलले बताए । 

यातायात व्यवस्था विभागका अनुसार हाल देशभर ३५ लाख तथा काठमाडौँ उपत्यकामा मात्र नौ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै