• २०८१ बैशाख १६ आइतबार

भक्तपुर क्यान्सर अस्पतालमा छानबिन समिति गठन

kharibot

भक्तपुर । भक्तपुर नगरपालिका–१ मा सञ्चालित भक्तपुर क्यान्सर अस्पतालमा छानबिन समिति गठन गरिएको छ ।

नवगठित भक्तपुर क्यान्सर अस्पताल व्यवस्थापन समितिको आज बसेको पहिलो बैठकले अस्पतालमा भएको आर्थिक अनियमितता र भ्रष्टाचारका बारेमा सत्यतथ्य सार्वजनिक गर्न छानबिन समिति गठन गरेको समितिका अध्यक्ष एवं नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । 

समितिले वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वको संयोजकत्वमा लेखा परीक्षक कृष्णगोविन्द लाखा र अधिवक्ता अनिता जधारी सदस्य रहने गरी छानबिन समिति गठन गर्ने निर्णय गरेको उनले बताए । त्यसैगरि बैठकले अस्पतालको सरसफाइमा भरोसा सर्भिस् प्रालि महाराजगञ्ज, काठमाडौँसँग यसअघि भएको ठेक्का सम्झौता आज कै मितिले खारेज गरेको छ । 

कम्पनीले सफाइ मजदूरमाथि श्रम शोषण गरेको र पूर्वव्यवस्थापन समितिका पदाधिकारीले कमिशन खाएको गुनासो आएपछि सम्झौता रद्द गरेको बताएको छ । 

अस्पतालको नियमित सरसफाइमा कार्य गरिरहेका एक जना सुपरभाइजर र ३७ जना सफाइ कर्मचारीलाई अस्पतालको शुरु तहको कर्मचारीको रुपमा नियुक्ति गर्ने र अस्पतालको नियमानुसार मासिक तलब एवं सुविधा प्रदान गर्ने निर्णय गरेको छ ।

बैठकले अस्पतालमा कार्यरत कर्मचारीको अन्तिम पदोन्नति भएको मितिदेखि २०७५ चैत्र मसान्तसम्म पाँच वर्ष स्थायी सेवा अवधि पुगेका कर्मचारी तथा मौजुदा कर्मचारी प्रशासन नियमावलीअनुसार तह वृद्धि गर्ने, दुई वर्ष कार्यकाल पूरा गरेका चिकित्सिक (रजिष्ट्रार भन्दा माथि) दुई जना र पाँच वर्ष कार्यकाल पूरा गरेका नौ जना कर्मचारीलाई नियमावलीअनुसार स्थायी नियुक्ति गर्ने बैठकले निर्णय गरेको छ । 

अस्पतालमा कार्यरत कर्मचारीले २०७५ चैत्र मसान्त अघिसम्म पाउँदै आएको घरविदा, पर्व बिदा, बिरामी बिदा लगायतका बिदा सुविधा अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि यथावत कायम गर्ने बैठकमा निर्णय भएको छ । 

अस्पताललाई व्यवस्थित एवं जनउत्तरदायी रुपमा सञ्चालन गर्ने एवं कम शुल्कमा बिरामीको गुणस्तरीय उपचार सेवा गर्न टेवा पु¥याउने उद्देश्यले गत साउन २९ गते नगरपालिकाले पुरानो व्यवस्थापन समिति खारेज गर्दै नगरपालिकाको प्रमुख प्रजापतिको अध्यक्षतामा नयाँ अस्पताल व्यवस्थापन समिति गठन गरेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै