वाशिंगटन । अमेरिकाको केन्टकी राज्यमा बस्ने प्रतिभाशाली ८ वर्षिया बालिका प्रज्ना पाठकले जन्मदिनको अवसरमा मार्मिक गीत 'फर्कि आऊ' को लिरिकल भिडियो सार्बजनिक गरेकी छिन् ।
चर्चित गायक/संगीतकार स्वरूपराज आचार्यको संगीत र मणि भट्टराईको शब्द रहेको उक्त मार्मिक गीतमा विदेशिएका बाबासँगै सँधै हाँस्न, खेल्न, रमाउन पाए कस्तो हुन्थ्यो होला भन्ने एउटी अबोध बालिकाको मनको चाहनालाई व्यक्त गरिएको छ ।
देशको चरम बेरोजगारीको कारण कलिला छोराछोरीहरूलाई आफ्नो जन्मभूमि छोडेर बिदेशी भूमिमा आफ्नो रगत, पसिना बगाउन बाध्य लाखौं लाख बुबाहरुलाई घर फर्कि आउन एउटी अबोध छोरीले गरेको अनुरोधलाई गीतमा समेटिएको छ ।
अंग्रेजी गीतहरु पनि निकै राम्रो गाउने प्रज्नाले विभिन्न कार्यक्रमहरुमा समेत प्रस्तुति दिने गर्छिन् । प्रज्नाले ६ बर्षको उमेरमा 'द न्यु गर्ल इन टाउन' नामक बाल पुस्तक पनि प्रकाशित गरेकी थिइन् ।
उक्त पुस्तक प्रकाशनबाट संकलित २५ सय डलर उनले बाल अस्पताल सेन्ट जुड चिल्ड्रेन रिसर्च हस्पिटललाई समेत प्रदान गरेकी थिइन् ।
गायिका पाठकका पिता मुर्रे स्टेट युनिभर्सिटीका प्रोफेसर डा मनोज पाठक प्रज्ना चार बर्षको उमेर देखिनै गीत, संगीत ,लेखन र चित्रकलमामा लागि परेको बताउछन् ।
'फर्कि आऊ' को लिरिकल भिडियो :