काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड बराबरीमा रोकिएको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिड रियल भल्लाडोलिडसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
म्याड्रिडका लागि करिम बेन्जमाले खेलको ८२औ मिनेटमा गोल गरेका थिए भने भल्लाडोलिडका लागि खेलको ८८औ मिनेटमा सेर्गी गार्डीओलाले गोल फर्काएका थिए ।
म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले यस खेलमा ग्यारेथ बेल जेम्स रोड्रीगेज र इस्कोलाई फस्ट टिममा खेल्ने मौका दिएका थिए । जेम्सले सन् २०१७ मे पछि पहिलो पटक रियलका लागि फस्ट टिममा ठाउ पाएका थिए । इडेन हजार्ड भने इन्जुरिका कारण यो खेल खेलेका थिएनन् ।
बेन्जामाले गरेको गोल उनको ला लिगा करियरको १५०औ गोल बनेको छ । उनी ला लिगामा १५० भन्दा बढी गोल गर्ने रियलको सातौ खेलाडी बनेका छन् ।
रियल म्याड्रिडले अब अर्को खेल भिल्ला रियलसँग आगामी आइतबार खेल्ने छ भने भल्लाडोलिडले लेभांटेसँग खेल्ने छ ।