• २०८१ बैशाख १५ शनिबार

मानिसको जीवनचक्रमा चन्द्रचक्रको प्रभाव  

kharibot

अमेरिका । चन्द्रमालाई पूर्वीय जगत्मा चन्द्रदेव भनेर पूज्ने चलन छ । यहाँ चन्द्रमाको प्रत्यक्ष सम्बन्ध मन र मस्तिष्कसँग रहेको मानिन्छ । त्यस्तै, पाश्चात्त्य जगत्मा पनि अहिले यस विषयलाई लिएर धेरै शोध, अनुसन्धानहरु भइरहेका छन् ।  

डेभिड एभरी अमेरिकाको सियाटल सहरका एक मनोचिकित्सक हुन् । एक दिन उनीकहाँ उपचार गराउन एक व्यक्ति  आए । उनको रोग निकै आश्चर्य लाग्दो थियो । 
उनी एक इन्जिनियर थिए । उनीसँग डेभिड एभरी सन् २००५ मा पनि भेटेका थिए । उनी अचम्म किसिमको विचारबाट ग्रस्त थिए । उनी कहिले आत्महत्या गर्न चाहन्थे भने कहिले चन्द्रमामा जान चाहन्थे । उनको निद्रा पनि ठीक थिएन । कहिले उनी रातभर अनिदो रहन्थे भने कहिले दिनभर घण्टौंसम्म सुतिरहन्थे । 

उनी इन्जिनियर भएकाले आफ्नो जीवनको मार्ग पनि आफै कोर्न चाहन्थे । त्यसैले उनले आफ्नो जीवनमा हुने गरेका यस्ता गतिविधिको हिसाबकिताब राखिराख्थे ।

जब डेभिड एभरीले उनको त्यो रेकर्ड हेरे, उनको निद्रा र भावनात्मक अवस्था तथा समुद्रको छालसँग त्यसको प्रत्यक्ष सम्बन्ध रहेको देखे । 

उनी ज्वारभाटाबाट प्रभावित थिए । त्यसैले उनलाई राति निद्रा लाग्दैनथ्यो । पहिला भेट्दा त उनले ती व्यक्तिको कुरालाई त्यति वास्ता नै गरेनन् । तर, जब उनले

तथ्यांकको विश्लेषण गरे, त्यसपछि भने उनमा चन्द्रमाको प्रत्यक्ष असर पर्ने गरेको पत्ता लगाए । 

मानिसको मस्तिष्कमा चन्द्रमाको असर 

प्रसिद्ध मनोचिकित्सक थोम वेहरले १२ वर्षसम्म १७ जना यस्ता बिरामीको अध्ययन गरी अध्ययन प्रतिवेदन प्रकाशित गरे । ती सत्र जना नै नियमित अन्तरालमा कहिले डिप्रेसन र कहिले अतिरेकको शिकार हुन्थे । 

उनीहरु सामान्य अवस्थामा रहनु र डिप्रेशनको सीधा सम्बन्ध चन्द्रमाको घटाइ बढाइसँग रहेको देखियो । 

प्राचीन कालदेखि नै मानिस चन्द्रमाको निकै नजिक रहेको छ । त्यसैले चन्द्रमाबाट मानिस प्रभावित रहनु मनोवैज्ञानिकहरुका लागि कुनै नौलो कुरा होइन । 

अंग्रेजी शब्द लुनासीको अर्थ पागलपन हो । यो ल्याटिन भाषको शब्द लुनाटकसबाट बनेको हो । यसको अर्थ जसमा चन्द्रमाको असर पर्छ भन्ने हुन्छ । 

यूनानी दार्शनिक एरिस्टोटल र रोमन प्रकृतिवादी प्लिनी द एल्डरको मान्यता पनि यस्तै थियो । उनीहरु पागलपन र छारे रोगका लागि चन्द्रमालाई नै कारण मान्दथे । प्राचीन समयमा गर्भवती महिलाले धेरैजसो पूर्णिमाकै दिन बच्चा जन्माउने मान्यता राख्दथे । यसबारे कुनै वैज्ञानिक तथ्य भने हालसम्म छैन । 

मनोरोगको शिकार भएको व्यक्तिमा पागलपनको समस्या पूर्णिमामा बढी देखिने गरेको एक अध्ययनले देखाएको छ । 

एक अर्को अध्ययनले पनि घरभन्दा बाहिर हुने अपराधको संख्या पनि पूर्णिमाको दिन बढी हुने गरेको बताएको छ । 

निद्रामा चन्द्रमाको घटबढले असर पर्ने गरेको विषयमा भने धेरै अनुसन्धान भएका छन् । पूर्णिमाको नजिकका रातमा मानिसलाई सुत्न धेरै समय लाग्छ । 

औंसीको रात 

यद्यपि, अक्सफोर्ड विश्वविद्यालयका भ्लादिस्लाभ ब्याजोभस्की निद्राका विशेषद्द भने उक्त आँकडालाई प्रमाणित तथ्य मान्दैनन् । यसको लागि गहन अध्ययनको आवश्यकता भएको उनको भनाइ छ । अमेरिकी मनोचिकित्सक विलियम वेहरले पनि यसबारे अध्ययन गरेका थिए । 

उनले रोगीको व्यवहारमा लामो समयसम्म ध्यान दिँदा चन्द्रमाको घटबढसँग रोगीको व्यवहारको सम्बन्ध रहेको पाए । 

पृथ्वीमा त चन्द्रमाको विभिन्न किसिमको असर हुन्छ नै । यसको प्रत्यक्ष असर पूर्णिमामा देख्न सकिन्छ । औंसीको रात पूरै अन्धकार हुन्छ तर समुद्र प्रायः शान्त रहन्छ । तर, पूर्णिमामा समुद्रमा ठूलो ज्वार आउँछ । समुद्रको ज्वारभाटासँग चन्द्रमाको घटबढको प्रत्यक्ष सम्बन्ध रहेको त प्रमाणित नै छ । 

पूर्णिमाको रात समुद्र निकै माथि उठ्छ, यसलाई ज्वार भनिन्छ । त्यस्तै, औंसीको रात समुद्र निकै शान्त र पानीको सतह तल रहन्छ, यसलाई भाटा भनिन्छ । वेहरले रोगीको मूच्र्छा पर्ने समस्या पनि चन्द्रमाको घटबढ सँगै घट्ने र बढ्ने पत्ता लगाए । 

२०६ दिनमा बानी परिवर्तन 

अर्को रमाइलो कुरा के छ भने हरेक २०६ दिनमा सुपर मुन आउँछ । २०६ दिनमा नै रोगीको व्यवहारमा पनि निकै परिवर्तन आउँछ । 

स्विट्जरल्यान्डको भेसेल युनिभर्सिटीका मनोविज्ञान विभागकी विशेषज्ञ एन विर्जजस्टिसलाई यो तथ्यमा पूर्ण विश्वास छ । तर, यसको कारण पत्ता लगाउन भने उनले सकेकै छैनन् । 

चन्द्रमा लागेको रात मानिसलाई राम्ररी निद्रा लाग्दैन र उनीहरु उत्तेजित पनि हुने विर्जजस्टिसको मान्यता छ । हाम्रो शरीरको जैविक घडीमा चन्द्रमाको उतारचढावको गहिरो असर रहन्छ र त्यसको प्रभाव करीब २४ घण्टासम्म रहन्छ । विर्जजस्टिसका अनुसार निद्रा कम लाग्नाले कतिपय त डिप्रेसनको शिकार पनि बन्दछन् । यद्यपि, अहिले रातमा पनि कृत्रिम उज्यालो धेरै हुनाले चन्द्रमाको असर त्यति नरहने उनी भन्दछिन् । 

पृथ्वीको चुम्बकीय क्षेत्र 

यस्तोमा सायद चन्द्रमाको गुरुत्वाकर्षणले मानिसलाई बढी असर पर्न सक्छ । चन्द्रमाको गुरुत्वाकर्षणको असर पृथ्वीको चुम्बकीय क्षेत्रमा पर्ने र मुख्यतः संवेदनशील मानिसमा यसको असर बढी देखिने वेयरको मान्यता छ । त्यसैले उनीहरुको व्यवहार पनि चन्द्रमाबाट बढी प्रभावित हुने उनी बताउँछन् । 

लन्डनको युनिभर्सिटी कलेजका प्राध्यापक रोबर्ट विक्सले समुद्रको पानीमा नुन हुनाले त्यसमा विद्युतीय तरंग प्रवाहित हुने बताए । यसको प्रत्यक्ष सम्बन्ध पृथ्वीको चुम्बकीय क्षेत्रसँग रहेको उनको मान्यता छ । 

कतिपय अध्ययनले पृथ्वी र सूर्यबीचको सम्बन्धको असर पनि मानिसमा पर्ने गरेको देखाएका छन् । ती अध्ययनका अनुसार मुटुको समस्या, छारे रोग, डर, आत्महत्या आदिसँग त्यसको सम्बन्ध रहेको छ । किनकि, सूर्यका कारण विद्युतीय तरंग उत्पन्न हुन्छ । 

कतिपय अवस्थामा त यसले पावरग्रिडलाई समेत असर पुर्याउँछ । त्यसैले हाम्रो मुटु र दिमागमा सूर्य र चन्द्रमाको धेरै असर रहने केही जानकारले बताएका छन् । 

क्रिप्टोक्रोमको महत्त्वपूर्ण भूमिका 

यद्यपि, यस विषयमा निकै कम अध्ययन भएको छ । केही कीरा, चरा र माछामा चुम्बकीय संवेदना हुन्छ, तर मानिसमा यो गुण छैन । तथापि, मानिसमा चुम्बकीय क्षेत्रको असर भने रहने एक अध्ययनले देखाएको छ । यसको महत्त्व हाम्रो जीवनमा केकति रहन्छ भन्ने बारे भने केही थाहा पाउन सकिएको छैन । तथापि, चुम्बकीय तरंगको असर हाम्रो मस्तिष्कको गतिविधिमा भने रहने देखिएको छ । एक  झिँगाभित्र क्रिप्टोक्रोम नामक प्रोटिन हुन्छ । यसले झिँगामा चुम्बकीय सेन्सरको काम गर्छ । हाम्रो शरीरको जैविक घडीमा क्रिप्टोक्रोमको महत्त्वपूर्ण भूमिका रहन्छ । 

चन्द्रमाको गुरुत्वाकर्षण 

हरेक कोशिकामा रहेको यो जैविक घडी मस्तिष्कको मास्टर क्लकबाट चल्ने मनोचिकित्सक थोमस वेहर बताउँछन् । जब क्रिप्टोक्रोम प्रोटिन फ्लेविन नामक तत्त्वसँग मिल्छ, त्यसपछि यसले  नै हाम्रो शरीरको जैविक घडीमा यो दिन हो र यो रात हो भनेर सन्देश पठाउँछ । ्

जब केही झिँगामा चुम्बकीय किरण पारियो, तब ती झिँगाको जैविक घडीको चाल परिवर्तन भयो । तिनीहरुको निद्राको समय नै उल्टियो । 
तर, मानिसमा भएको क्रिप्टोक्रोमले झिँगामा भन्दा फरक व्यवहार गर्छ । 

यसबाट रोगीहरुमा मुख्यतया चन्द्रमाको गुरुत्वाकर्षणको असर रहने र यसले उनीहरुको भावनात्मक अवस्थालाई प्रभावित गर्ने पुष्टि हुन्छ । 
रोगीको मस्तिष्कमा असर 

अराबडोप्सिस थालियाना नामक एक बोटमा भएको अध्ययनअनुसार त्यसको जराको विकास चन्द्रमाले पृथ्वीलाई घुमेको अनुसार चलिरहेको देखियो । किनकि, त्यो बोट पानीमा विकसित हुन्छ । पानीको धारमा चन्द्रमाको गुरुत्वाकर्षण शक्तिको असर त देखिएको छँदै छ । 

यदि बोटका कोशिकामा पनि चन्द्रमाको चक्रको असर रहन्छ  भने मानिसका कोशिकामा यसको असर रहन्छ भन्ने कुरालाई नकार्न सकिँदैन । 

वेहरका अनुसार चन्द्रमाको गुरुत्वाकर्षण शक्तिले मनोरोगीको मस्तिष्कमा असर पुर्याउँछ । यस विषयमा कुनै दुई मत नभएको उनी बताउँछन् । यद्यपि, यस विषयमा अझै गहन अध्ययन हुन आवश्यक रहेको उनको भनाइ छ । बीबीसीबाट भावानुवाद 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै