• २०८१ बैशाख १७ सोमबार

बालबालिकालाई स्मार्ट फोन चलाउन किन दिने ? किन नदिने ?

kharibot

काठमाडौँ । बालबालिका भनेका गीलो माटो हुन् जस्तो आकार दिइयो त्यस्तै बन्छन् । बालकको प्रारम्भिक सिकाई गरेर र देखेर हुन्छ।अनि सुनेर, बोलेर र पढेर सिक्छ। शुरुका बर्षमा जे देख्यो त्यही सिक्छ । बान्डुराले भनेजस्तै सिकाइमा बालकले अरुको नक्कल गर्छ र सिक्छ । बिस्तारै मस्तिष्कको बिकास हुँदै जादा तर्क र प्रयोग गर्छ।खोजी गर्छ र ज्ञानको निर्माण गर्छ । 

बालबालिकाको सिकाई र बिकासको प्राकृतिक अवस्थामा कुनै अप्ठ्यारोको सिर्जना गर्नु हुदैन् । जसरी ऊ बढ्नुपर्थ्यो त्यसरी नै बढ्न पाउनुपर्छ । खेल्दै सिक्ने सिक्दै खेल्न पाउनुपर्छ । अभ्व्यक्ति पाउनुपर्छ । स्वतन्त्र रमाउन पाउनुपर्छ । कुनै परोक्ष संसारमा भन्दा वास्तविक संसारमा उसले रमाउन पाउनु पर्छ । तर बर्तमान प्राबिधिक ज्ञान र सिपबाट बन्चित हुनु पनि हुदैन् ।

स्मार्ट्फोन मोबाइल फोनको एउटा पछिल्लो बर्ग हो जुन बहुउद्देश्यका साथ विभिन्न कार्य गर्न बनाइएको गणना यन्त्र हो । सबैभन्दा पहिले सन 1959 AD मा मोहम्मद अटाला र ड्वन कह्ङ्ले मेटल ओक्साइड सिलिकन फिल्ड एफेक्ट ट्रान्जिस्टर(MOSFET) को प्रयोग गरेपछी मोबाइल फोनको प्रयोग बड्यो र 1990---2000 AD सम्म रहयो । अहिलेको स्मार्ट्फोनमा करोडौँ "मोसफेट"को एकीकृत सर्किट, माइक्रोप्रोसेसर र शक्ति यन्त्रको रुपमा  मेमोरी चिप्स र मोबाईल डिस्प्लेको लागि थिन फिल्म ट्रान्सिस्टिर (TFTS) प्रयोग भएको छ । स्मार्ट्फोनमा शक्तिशाली हार्ड्वयर र धेरै कार्यप्रणालीको प्रयोग भएको हुन्छ । जसले सफ्टवेयर ,ईन्टरनेट र मल्टिमेडियाका सुबिधाहरु उपलब्ध गराउँछ । यसबाट सजिलै गित सुन्न, हेर्न,फोटो खिच्न,इडिट गर्न,भिडियो हेर्न,गेम खेल्न,पढ्न,सोसल मिडिया चलाउन,पावर प्वाइन्ट, एक्सेल र वर्ड चलाउन, पिडिएफ, डाउन्लोड गर्नको साथै धेरै एप्स मार्फत थुप्रै काम गर्न सकिन्छ ।

यो अत्यन्तै बहुउपयोगी छ । रेडियो सुन्न अडियो सुन्न,घडी हेर्न, अर्थ खोज्न,ज्ञान लिन समेत सकिन्छ । 

बैज्ञानिक आबिष्कारका साधनले असल र खराव दुबै परिणाम दिन्छ्न् । तर सहि सदुपयोग भयो भने घाटा भन्दा फाइदा बढी हुन्छ । हो त्यस्तै छ यो स्मार्ट्फोन पनि । सहि प्रयोग गरे फाइदा गलत र धेरै प्रयोग गरे बेफाइदा । यसको मतलव सन्तुलित प्रयोग भनेको हो।यहाँ बालबालिकालाई स्मार्ट्फोन प्रयोग गर्न दिनु उचित कि अनुचित भनि विश्लेषण गरिएको छ ।

यसकारण बालबालिकाहरुलाई स्मार्ट्फोन चलाउन दिनु उचित हुन्छ :

स्मार्टफोनले शिक्षक ,अभिभावक र बालबालिकालाई

आपसमा जोड्छ:

बालबालिकाहरु कहाँ छन् ?
 

के गर्दै छ्न् ? भन्ने कुरा फोन गरेर म्यासेज पठाएर र भिडियो च्याट गरेर थाहा पाउन सकिन्छ । सम्पर्कमा रहन सकिन्छ । बिदेशमा बस्ने अभिभावकहरुले म्यासेन्जर,भाइवर,यूट्यूव, हवाट्अप मार्फत सम्पर्क गरि जानकारी र सूचनाको आदनप्रदान गर्ने प्रयोग गर्न सकिन्छ । त्यसले बालबालिका सँगै भएको जस्तो लाग्छ । नियास्रोपन मेट्छ । यसले प्रेम माँया र सहानुभूति वाड्ने अभिन्न साधन भएको छ । बिद्यालयले दिएको बालकको पढाइ, परीक्षा मिति,आमन्त्रणका सूचनाहरुको जानकारी बालबालिका स्वयंले हेर्न,पढन सक्छ्न् र सुसूचित हुन्छ्न् । बिद्यालय शिक्षक र बालबालिकाको सम्बन्ध सुमधुर बनाउन र किप इन टच मा मद्द्त गर्दछ । भरिक सर्खेदी भन्नुहुन्छ, "यो स्मार्टफोनको विश्वमा स्मार्ट एप्स जस्तै बन्।"

लेखक : प्रकाश पाण्डे

स्मार्ट्फोनले बालकलाई उत्तरदायी बनाउँछ:

बालबालिकाहरुको विभिन्न मोबाइल एप्स र इन्टरनेट्को सहायताले जिम्मेवारी ,उत्तरदायित्व र उनिहरुले पालन गर्नु पर्ने नियमहरुको जानकारी र सूचना स्वयं थाहा पाउन सक्छ्न् । नितिकथा, बालकथा र अनुशासनका पाठहरु सिक्न सक्छ्न् । उनिहरुलाई फोनबाट बन्चित गर्नु भनेको सिकाईको र ज्ञानको आधुनिक विस्फोटनको अवस्थाको जानकारी नदिएर प्रतिस्पर्धात्मक संसारबाट अलग्याउनु हो ।

स्मार्ट्फोन सिकाईको असल साधन:

स्मार्ट्फोन सिकाईको एक असल साधन हो । जुन सर्वसुलभ  र प्रयाप्त पनि हुँदै गएको छ । यसमा सबै थोक हुन्छ त्यसैले यसलाई अल इन वान साधन पनि भनिन्छ । बालबालिकाहरुले यस्ता फोनहरुबाट गेम खेलेर, परोक्ष संग्रहालयहरु डुलेर, आश्चर्यजनक ठाँउहरु हेरेर,अनलाइनबाट किताब पढेर डाउनलोड गरेर, गणितीय र भाषिक अभ्यास गरेर सिक्न सक्छ्न् । गीत, भिडियो, फिल्म, मोबाइल एप्लिकेसन हेरेर, सुनेर ज्ञान तथा धारणाहरु निर्माण गर्न सक्छ्न् । यूट्युबबाट हेरेर सिक्न सक्छ्न् । दक्षिण कोरियाले धेरै अगाडी बढेर बालबालिकाहरुको लागि सामुहिक छ्लफल गर्न,समूह कार्य गर्न ,गृहकार्य बुझाउन र शिक्षकहरुबाट प्रतिक्रिया समेत लिन मिल्ने गरि डिजिटल पाठहरु निर्माण गरि प्रयोग गरेको छ । नेपालमा पनि इलामको आदर्श मा बि सुनसरीको जनता मा बि बुटवलको कालिका मा बि र काठ्माण्डौको बिद्यालयहरु निक्कै अगाडी बढेर स्मार्ट डिभाइसबाट शिक्षण गर्दैछ्न् ।

प्रतिभा प्रदर्शन प्लेट्फर्म

स्मार्ट्फोनबाट बालबालिकाहरुले आफ्नो कला र प्रतिभाहरु ईन्टरनेटमा राखेर आफुलाई अझ अब्बल बनाउदै लैजान सक्छन् । नाँच,गान चित्रकला,क्यारिकेचर,ट्यालेन्ट सो, टेक्स्टहरु, यूट्यूव,इस्टाग्राम, फेसबूक,ट्यूटर र अन्य अनलाइन मिडियामा राखेर तथा प्रकाशित गरेर आफ्नो प्रतिभाको प्रस्फुटन र मुल्यांकन गर्ने ठूलो अवसर स्मार्टफोनले दिएको छ । अहिले पनि फेसबूक र यूट्यूव तिर बालबालिकाहरुका ब्याकरण गीत,अधिकार गीत,कविता गजल एक्कल तथा समूह नाँच हेर्न र सुन्न पाइन्छ । आफुलाई रिहल्सन गर्ने र निखार्ने प्लेटफर्म पाएका छ्न । स्मार्टफोन प्रतिभा प्रदर्शनको एउटा गतिलो साधन भएकाले बालबालिकाहरुलाई चलाउन दिदा र सिकाउँदा उचितै हुन्छ ।

बालबालिकालाई स्मार्ट्फोन प्रयोग गर्न दिने सवालमा उनीहरुको परिपक्वताको तह,नियम पछ्याउने क्षमता,उत्तरदायित्वको बोध क्षमता,होशियार रहनुपर्ने तरिका,चलाउने नीति विधि प्रकृया र साबधानिहरुको ज्ञान कति र कस्तो छ भन्ने कुरा बहुत महत्वपूर्ण हुन्छ।अन्धाधुन्ध प्रयोग गर्न दिनु उचित हुदैन ।

यसकारण बालबालिकालाई स्मार्टफोन चलाउन दिनु हुदैन:

अभिभावक-बालक सम्बन्ध अप्राकृतिक बनाउछ:

स्मार्टफोनले बालकलाई बिस्तारै अप्राकृतिक र अस्वभाविक बनाउछ। वास्तविक संसारमा भन्दा बालक अबास्तविक संसारमा बढी रुचि राख्न थाल्छ।बुबाआमासगँ समय नबिताउने, अन्त्तरक्रिया नगर्ने मोबाइलमा मात्र झुन्डिने गर्छ जसले आमाबाबु र छोराछोरीको सम्बन्धमा असर गर्दछ । चाडैँ रिसाउछ । झर्किन्छ । रियाक्टिभ हुन्छ । एकोहोरो र जिद्दी प्रवृत्तिको हुन सक्छ । अभिजित नस्कारले त्यतिकै भन्नुभएको होइन "मानिसहरूलाई ध्यान देऊ फोनलाई होइन।"

सिर्जनात्मक क्षमतालाई कमजोर बनाउछ:

मोबाइलमा धेरै गेम खेल्ने,लगातार भिडियो हेर्न,धेरै फिल्म हेर्ने बानीले बालकलाई अल्छी र वास्तविक कार्यमा निष्क्रिय बनाउदै लैजान्छ। बालमनोबिज्ञान विरुद्धका क्षणिक रमाइलो लाग्ने गेमहरु पव्जी,मिनिमिलिटा,फ्री फायर, टेम्पलरन जस्ता खेलहरुले दिमागमा स्लो पोइजनको काम गर्छ्न्। साथी संगति र सजिलै उपलब्ध हुने अस्लिल भिडियो,ब्लग र साइटहरु खोलेर हेर्न र समय बर्बाद गर्न सक्छ।जसले सिर्जनात्मक कार्यको लागि चाहिने उत्सुकता र जोस घटाइदिन्छ।बालकको वास्तविक खोजी गर्ने र अवलोकन गर्ने बानीमा कमी ल्याइदिन्छ।

स्मार्टफोनको ज्यादा प्रयोगले निन्द्रामा कमि हुन्छ:

बालबालिकाहरुलाई स्वास्थको हिसाबले दस घण्टा सुत्नु पर्ने हुन्छ । लामो समय मोबाइल चलाउनेहरुको लागि त्यो समय पुग्दैन् । मोबाइल ज्यादा चलाउने बालबालिकाको दिमागलाई नकारात्मक असर गरेको हुन्छ । मनमा मोबाइल सम्बन्धी परिकल्पना गर्ने आदतको बिकास हुन्छ । राती सुत्ने बेलासम्म चलाउदा त्यसले निन्द्रालाई कमि गरिदिन्छ ।

शारीरिक र मानसिक स्वास्थ्यमा नकारात्मक असर गर्छ:

स्मार्टफोन अधिक चलाउदा आँखाको दृष्टिमा कमि हुने,कान कम सुन्ने, स्नायूमा असर गर्ने,ढाड र काधमा समस्या हुने,जोर्नी दुख्ने,मसल्सको बिकासमा कमी,रक्तसंचालनमा समस्या देखिन सक्छ् । अधिक मोबाइल चलाउन दिदा बालबालिकामा बेचैनी,डिप्रेसन र तनाव बढ्न जान्छ । मनमा अशान्ति पैदा हुन जान्छ । स्मरण शक्ति कमजोर बनाउँछ । बैज्ञानिकहरुको अनुसार मोबाइल र टिभीको बढी प्रयोगले किशोर किशोरीहरुलाई आत्माहत्या गर्न प्रेरित गर्ने गरेको पाइएको छ । रेडियोलोजिष्ट डा.शैलेन्द्र रुपलेलाका अनुसार,"मोबाइलबाट निस्कने हानिकारक रेडिएसनले ब्रेनलाई असर गर्दछ । र लामो समयसम्म प्रयोग भएमा मस्तिष्कमा क्यान्सर पनि हुन सक्छ ।"

सिकाइमा नकरात्मक असर पर्दछ:

बालबालिका स्मार्टफोनमा नै बढी झुन्डि रहने हुदा सिकाईका लागि चाहिने समयको अभाव हुन जान्छ । सिकाई प्रतिको रुचि घट्न जान्छ । बिस्तारै बालबालिकाको मस्तिष्कमा मोबाईलका बिषयहरुले प्राथमिकता पाई ओगट्ने हुदा सोच्ने र सम्झने क्षमतामा ह्रास आउन थाल्छ।सिकाइमा अल्छी र मन नजाने हुन्छ । र, सिकाईमा असर पर्छ।अभिभावकहरुले बताए अनुसार बालबालिकालाई जुनसुकै कार्य गर्न गराउन पनि मोबाईल चलाउन दिने शर्तमा मात्र गर्छन् भन्नुहुन्छ । यदि यस्तो हो भने भोलिको दिशा र उनीहरुको ब्यवहार कस्तो हुन्छ ?

मोबाईल चलाउने लत बस्न सक्छ:

बालबालिकाहरुको चेतना आइनसकेको हुदा के गर्नु हुन्छ ? के गर्नु हुदैन भनेर छुट्याउन सक्ने हुदैनन् । स्मार्ट डिभाइसहरुले उनिहरुको ध्यान ज्यादा खिच्छ । चलाऊँ चलाऊँ लाग्छ । चलाउदै जादा बानी बन्छ । निर्भरता बढ्छ । मोबाइल क्रेज बढ्छ । मोबाइल लत बन्छ । गेम खेलीरहेको बच्चाको मोबाइल खोसिदिदा होस या टिकटकको लत बसेकोलाई छुटाउदा उनिहरुले आक्रोशित र आक्रमण ब्यवहार देखाउछन् त्यस बाट बुझ्नु पर्छ कि त्यो उनीहरुको लत बनिसकेको छ । जुन बिस्तारै डिजिटल ड्रग्सको रुपमा बिकास पनि हुनसक्छ ।

गलत कृयाकलाप तर्फ उत्तेजित हुनसक्छ :

नेपाल सरकारले भल्गर साइटहरु पूर्ण रुपमा प्रतिबन्ध गर्न सकेको छैन् । जे सुकै पनि मोबाइलमा खुल्छ । अस्लिल चित्र भिडियो खुल्ने हुदा बालकले हेरेर बिग्रिने हुन्छ । साथी समूहले त्यस्तो गलत कार्यतर्फ उक्साउने पनि गर्छ्न् ।

बालबालिकाहरुलाई स्मार्टफोन चलाउन दिनु उचित कि अनुचित भन्ने प्रश्न भन्दा पनि कसरी दिने भन्ने पेचिलो कुरा हो । कुन कुन साइडहरु कुन कुन एप्सहरु कति समयसम्म चलाउन र खोल्न दिने, कसले निगरानी राख्ने, साबधानी कस्तो अपनाउने र चलाउने तरीका कसले सिकाउने ? भन्ने कुरा बढी नै महत्वपूर्ण हो भन्ने मलाई लाग्छ ।

सरकारले  पब्जी र पोर्न साइडहरु जस्तै: मालमनोबिज्ञान  बिरुद्धका गेम, सामग्री र भल्गर साइडहरु पूरै बन्द गर्नुपर्छ जसको लागि स्मार्टफोन र अनलाईन प्रयोग सम्बन्धी ऎन र नियमहरु बनाएर नियमन गर्नुपर्छ । जुन हामी चीन र जापानमा देख्न सक्छौँ । 

बालकलाई सुसंस्कृत बनाउन,संस्कार सिकाउन,आधुनिक ज्ञान बिज्ञान र प्राविधिको जानकारी दिन, इमानदार र नैतिकवान बनाउने एप्सको बिकास र प्रयोगमा जोड दिनुपर्छ । डिजिटल प्रबिधि सिकाई,सामाजिकिकरण र मानसिक स्वस्थ्य ब्यबस्थापन गर्न सहयोग गर्ने निर्देशिका तथा कानुन ल्याएर हरेक बालबालिकाहरुलाई सूसूचित गराउनु पर्छ ।

भर्चुअल प्राइभेट नेट्वोर्क (भिपीएन) लाई कडा नियमन गर्नुपर्छ । अहिले १७४७ बटा अनलिन न्यूज पोर्टल प्रेस काउन्सिलमा दर्ता छ्न् अरु थुप्रै दर्ता बिहिन छ्न् । फेक र अनावश्यक र उल्टापुल्टा समचार र सामाग्री राखेर धेरैलाई भुटेका छ्न् । मार्क जुगरवर्कले लन्च गरेको सामाजिक संजालका राम्रा नराम्रा दुबै पक्ष ससक्त छ्न् । कतिपय कुराहरु जुगरवर्कको टाउको दुखाई पनि बनेको छ भने हामीले त्यसैको माध्यमबाट संसारलाई जोड्न र अभिव्यक्त गर्न पनि पाएका छौँ । सबै सोसल मिडियाहरुलाई सरकारले आफ्नो नियन्त्रणमा ल्याइ अबैध धन्दा र छाडापनलाई रोक्नु पर्छ । यदि त्यस्तो नभए मैजुदा अबस्थामा बालबालिकालाई फोन दिनु उचित हुन्न् ।

बिटेनको स्वास्थ्य प्रमूखहरुले मोबाइलको स्वस्थ्यकर प्रयोगको लागि बेलुका खानाको र सुत्ने समयमा मोबाइलको प्रयोगमा निषेध गर्न, मोबाईल फोन सुत्ने ठाउँबाट टाडै स्विच अफ गरेर राख्न र बालबालिकाहरुलाई स्मार्टफोन टिभी तथा डिजिटल साधनहरु दिनको दुई घण्टा भन्दा बढी लगातार प्रयोग गर्न दिनु हुदैन् भनेर सुझाएका छ्न् ।

शिक्षक मासिकमा गुरु मैनाली लेख्नुहुन्छ,"कुनै पनि साधनको सदुपयोग बढ्दै जाँदा त्यसका नकारात्मक पक्षहरु क्रमश: कम हुँदै जान्छ्न् । मोबाइल फोनलाई पनि हामी किशोर- किशोरी तथा बिद्यार्थीको निम्ति शैक्षिक प्रगति र उन्नतिको साधनको रुपमा स्थापित गर्न सक्यौं भने आज अनुभव गरिएका मोबाइलका समस्या र विकृति बिस्तारै हराएर जान थाल्नेछ् ।" हुनपनी हो सहि काममा प्रयोग गरिए गलत काममा हुने प्रयोग स्वत:
घट्छ।"

बालबालिकाहरुसँग ईन्टरनेटको जोखिम सम्बन्धि खुलेर छलफल  गर्नुपर्छ । बालबालिकालाई शिक्षक र अभिभावकले बढी समय दिनुपर्छ । मोबाइल फोनको सहि प्रयोगको तरिका र अपनाउनु पर्ने सावधानी बुझाइदिनुपर्छ । आफूसँगै बसेर चलाउन दिनुपर्छ । के- के हेर्छ ? के-के गर्छ ? राम्ररी अवलोकन तथा मनिटरिङ गर्नुपर्छ । अभिभावक आफूले पनि मोबाईल फोनको प्रयोग कम गरि बालबालिकाहरुलाई समय दिदै खेल्ने, चित्र बनाउँन लगाउने, तर्क गर्न सिकाउने तथा सिर्जनात्मक कार्यमा लगाउँने गर्नुपर्छ । साथै शारीरिक ब्यायाम हुने खालमा सक्रिय सहभागी गराइ मोबाइल प्रतिको तिब्र  झुकावलाई बिस्तारै कम गर्दै लानुपर्छ । र सिमित र सन्तुलित प्रयोग गर्ने कुरामा विशेष जोड दिनुपर्छ ।

बालबालिकाहरुलाई सामाजिक, परिवारिक तथा व्यवहारिक कार्यहरुमा सक्रिय सहभागी गराउनुपर्छ जसले गर्दा अधिक स्मार्टफोनको प्रयोगबाट हुने भार र हुने हानीबाट जोगाउन सकिन्छ भने स्मार्टफोनको प्रयोगलाई सिकाई, मनोरञ्जन र सिर्जनात्मक कार्यमा मात्र प्रयोग गर्ने बाताबरणको सिर्जना गर्ने हो भने सुनमा सुगन्ध हुन जान्छ ।

अब आफै भन्नुहोस, बालबालिकाहरुलाई स्मार्टफोन प्रयोग गर्न दिनु उचित कि अनुचित ???

(लेखक पाण्डे सुनपकुवा माबि उर्लाबारी-२ मोरङका शिक्षक हुन्)  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय