• २०८१ बैशाख १७ सोमबार

नेकपाको विचारधारात्मक प्रशिक्षण : तरंगित भयो राजनीति

kharibot

काठमाडौँ ।  नेपाल र छिमेकी चीनका दुई सत्तारुढ कम्युनिष्ट पार्टीले पहिलोपटक संयुक्तरुपमा विचारधारात्मक प्रशिक्षण आयोजना गरेका छन् ।

प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओलगायतका नेताहरुको उपस्थितिमा विचारधारात्मक प्रशिक्षण सोमबार शुरु भएको हो ।

नेता, कार्यकर्ता र सञ्चारकर्मीको खचाखच उपस्थिति देखिएको प्रशिक्षणको शुभारम्भका अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमकी चीनको समृद्धिको शैली दिगो, नमूना र अनुशरणयोग्य रहेको बताए । नेपाली मौलिकताको समृद्धिका लागि दुई देशबीचको सम्बन्ध अझ उचाइमा पुग्नुपर्ने उनको भनाइ थियो । 

नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पहिलोपटक आयोजना गरेको विचारधारात्मक छलफल कार्यक्रम नयाँ थालनी भएको उल्लेख गर्दै उनले नेपालले राजनीतिक आन्दोलन र परिवर्तनको चरण पार गरी उपलब्धिलाई संस्थागत गर्न अधिकारसम्पन्न नयाँ संविधानको कार्यान्वयन र ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्नु वर्तमान कार्यभार भएको स्पष्ट गरे ।

दुई दिने प्रशिक्षण कार्यक्रम ‘सी जीङपीङ' विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । 

दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो । चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जीङपीङको आसन्न नेपाल भ्रमणको सम्मुखमा यो कार्यक्रम आयोजना गरिएको छ । 

कार्यक्रममा सम्बोधन गर्न र चिनियाँ राष्ट्रपतिको भ्रमणको तयारीका लागि आएको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख (मन्त्री) साङ ताओ नेतृत्वको १४ सदस्यीय चिनियाँ टोली हाल काठमाडौँमा छ । चीनमा जनवादी गणतन्त्र स्थापनाको सात दशक पुगेको छ भने नेपालका कम्युनिष्ट पार्टी स्थापनाको सात दशक पुगेको छ ।

“क्रान्ति गरेपनि कम्युनिष्टहरुले विकासको नेतृत्व गर्न सक्दैनन् भन्ने कुरालाई चीनले खण्डन गरेको छ । चिनियाँ समाजको रुपान्तरण आजको समाजको महत्वपूर्ण उपलब्धि हो । त्यसलाई अनुशरण गर्न सकिन्छ ।” प्रधानमन्त्री ओलीले भने,“चिनियाँ विशेषताको समाजवादलाई अझ व्यापक प्रगतिशील बनाउने काम हाल चिनियाँ नेतृत्वले गरेको छ । यसको श्रेय राष्ट्रपति सीलाई जान्छ । उहाँको विचार विश्व व्यवस्थाको समयानुकूल छ । यो चीनको आफ्नै मौलिक जग, वुद्धि र पसिना तथा व्यापकतामा विकास भएको हो ।”

आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, माक्र्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । माक्र्सवादलाई हरेक देशले सिर्जनात्मकरुपमा प्रयोग गर्नुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”

चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याए । उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए । 

प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए ।

प्रधानमन्त्रीकै भनाइमा मिल्दो मन्तव्य व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिए । उनले भने,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”

उनले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाए । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो । 

उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक वहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बताए । उनले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिए ।

प्रशिक्षणले सामाजिक संजाल तरंगित :

तत्कालिन एमाले र माओवादीविच पार्टी एकता भएको १७ महिना बितेको छ भने पार्टी एकीकरणको पनि लगभग उतिकै समय भएको छ । अहिलेसम्म पनि पार्टीको सांगठानिक एकतादेखि नेताहरुको कार्यविभाजन समेत टुंगो लगाए भने अझै केही महत्वपुर्ण कामहरु बाँकी नै छ ।

आरोह अवरोहका बिचमा रहेको सत्तारुढ दल नेकपाभित्र पार्टीको स्कुल विभागले सोमबार र मंगलबार गर्न लागेको प्रशिक्षणमा सहभागी तथा प्रशिक्षण प्रस्तुत हुने विषयले थप नेकपाभित्र मात्र होइन बाहिरको राजनीतिक माहोललाई पनि तरंगित बनाएको छ ।

सत्तारुढ दल नेकपाले मुलुकको विकासको लागि चिनियां राष्ट्रपति सि जिङपिङको विचारधारालाई अबलम्बन गर्ने रणनिति बनाएको र यसका लागि पार्टीभित्रै गंम्भिर छलफल र बहस नगरेको भन्दै असन्तुष्टि फैलिएको छ । नेकपाले सिको विचारधारालाई आफ्नो कार्यदिशा बनाउन खोज्नु हनुमानगिरी भएको समेत टिप्पणी हुन थालेको छ ।

वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संगौलाले ट्वीट गरेर नेकपा अनावश्यक भक्तिभजनमा उत्रिएको बताएका छन् । संगौलाले समाजवादको नाममा सीले चीनमा संचालन गरेको शासन कुनै विचारधारा नभएर निरंकुश अभ्यासको संकेत दिएका छन ।

नेकपाको सरकारले अधिनायवाद लाद्न खोजेको भन्ने आरोप लागीरहेका बेला यस्ता अभिव्यत्तिले समेत थप बल पुर्याएको छ ।

अर्कोतर्फ चीन जस्तो सम्बृद्ध मुलुकको सिद्धान्तहरु सिक्नु राम्रो कुरा भएपनि त्यसको व्यावहारमा कार्यन्यवन हुन सके मात्र त्यसले अर्थ राख्ने राजनितिक विश्लेषक कमल कोइरालाको भनाई छ ।

अर्का विश्लेषक नरेन्द्र पिटरले सामाजाजिक संजाल फेसबुकमा नेकपाको सी जीङपिंङ पथ शिक्षा र प्रशिक्षण शक्तिको चाकरीको भद्धा अभ्यास भएको टिप्पणी गरेका छन् । पिटरले नेपालका संस्थापक कम्युनिष्ट नेतहरुको अपमानसमेत भएको तर्क गरेका छन् ।

उनले भनेका छन्, 'सरकारी नेकपाको सिजिगपिंग पथ शिक्षा र प्रशिक्षाण भनेकाे शक्ति चाकरीको चरमकृया हो । पुस्पलाल लगायत नेता विचारकहरूले प्रसस्त अध्ययन र ब्यबहार खुराक दिएका छन । कम्युनिष्ट आन्दोलनका सार्वभौम नेता र वैज्ञानिक चिन्तकहरू छन । अझ निर्मल लामा भन्नु हुन्थ्यो-हिसाव खोज, निसाफ खोज । आज कार्यकतार्हरूले आन्दोलनको, आदर्शको, सहिद वेपत्ताको, सत्तामा पुगेपछिका आफन्त पोस्ने भ्रष्ट्राचारीसँग  हिसाफ खोज, सत्तासंग निसाफ खोजे कसैको तावेदारी गर्न  पर्दैन । छिमेकी राष्ट्रका प्रमुखलाई सम्मान गर, तर चाकरी नगर । भ्रष्ट र अजिम्वेवार नेपाली कम्युनिष्ट नेता देखेर उनै लजाउन नपरोस ।'

त्यस्तै जुगल भुर्तेलले ट्वीटरमा 'सी-विचारधारा' बोकेर 'मोदी पथ' मा लम्किँदै 'समाजवाद' सम्मै पुगेको यही जुनीमा देखेर धन्य हुने भइयो भन्दै व्यंग्य गरेका छन् ।   

त्यसो त प्रशिक्षणको विषयलाई लिएर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत असन्तुष्टि देखाएका छन । अध्यक्ष प्रचण्डले यसअघि मुलुक समाजवादतर्फ उन्मुख भइसकेकोले पार्टीको आगामी सिद्धान्त नै समाजवाद हुनुपर्ने बताउदै आएका छन् ।

सोमबार मात्रै प्रचण्डले कहिले काही त आफ्नो पार्टी र आफु कम्युनिष्ट नै होइन की भन्ने लाग्ने गरेको प्रतिक्रियाले पनि यो प्रशिक्षणबाट उनी सन्तुष्ट छैनन् भन्ने संकेत दिएको रुपमा बुझिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै