• २०८१ बैशाख १७ सोमबार

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा स्वास्थ्य सेवा विस्तार

kharibot

चितवन । पछिल्लो समय सुधार हुँदै गएको चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा यही मङ्सिर १ गतेबाट विस्तारित स्वास्थ्य सेवा (ईएचएस) शुरु गरिने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यका अनुसार साँझ ४:३० बजेबाट विस्तारित स्वास्थ्य सेवा उपलब्ध गराइने छ ।

काठमाडौँका सिभिल र गङ्गालाल अस्पता जस्तै नमूना सेवा प्रदान गरिने आचार्यले जानकारी दिए । जसबाट बिरामीले पालो कुर्न नपर्ने र कम खर्चमा सेवा पाउने जनाइएको छ । रेडियोलोजी र प्याथोलोजीको सेवा अन्य समयकै दर रेटमा उपलब्ध गराइने भए पनि अरु सेवामा केहि बढी शुल्क लाग्ने छ ।

यद्यपि निजीको तुलनामा निकै सस्तोमा बिरामीले उपचार पाउने आचार्यको भनाइ छ । अस्पताल स्थापनाका समयमा चिकित्सक कर्मचारीलाई आकर्षक भत्ता उपलब्ध गराइ बाहिर काम गर्न नपाउने व्यवस्था गरिएको थियो । पछि भत्तामा केही कम गरी बाहिर काम गर्न छुट दिइएको थियो । त्यसकै नाममा अस्पतालका चिकित्सक र कर्मचारीले बिरामी बाहिर पठाउने गरेको आरोप लाग्ने गरेको थियो । आचार्यले विस्तारित सेवा अस्पतालमा शुरु भएपछि साँझमा पनि बिरामी बाहिर जानुनपर्ने बताए। 

विस्तारित सेवामा काम गर्ने चिकित्सक कर्मचारीले अतिरिक्त रकम पाउने छन् । बिरामीबाट लिइने सेवा शुल्कले चिकित्सक कर्मचारीलाई भत्ता उपलब्ध गराइने छ । झण्डै तीन वर्षअघि अस्पताल अस्तव्यस्त बनेपछि स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । पछिल्ला समयमा सेवा विस्तारसँगै उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । २० वर्षअघि चीन सरकारको सहयोगमा स्थापना भएको यस अस्पतालमा देशभरका र भारतीय सीमा क्षेत्रबाट बिरामी उपचारका लागि आउने गर्दछन् । 

गत आर्थिक वर्षमा अस्पतालवाट एक लाख ४२ हजार ३७७ जनाले सेवा लिएका छन् । जसमध्ये सात हजार ८ सय ९३ जनाको क्यान्सर पहिचान भई उपचार भइरहेको छ । 

एक सय शैंयाबाट शुरु भएको अस्पतालमा हाल ४ सय ५० शैंया रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय