काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिज जितेको छ । शुक्रबार सम्पन्न सिरिजको तेस्रो टी-२० खेल १० विकेटले जितेसँगै सिरिज २-० ले जितेको हो ।
पाकिस्तानले दिएको १०७ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले कुनै विकेट नगुमाई ११.५ ओभरमा लक्ष्य पुरा गरेको थियो ।
अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले अविजित ५२ रन बनाए भने डेविड वार्नरले अविजित ४८ रन बनाए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १०६ रन बनाएको थियो । पाकिस्तानका लागि इफ्तिकार अहमदले ४५ र इमाम उल हकले १४ रन बनाएका थिए । पाकिस्तानका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बानाउन असफल भएका थिए ।
अस्ट्रेलियाका बलर केन रिचार्ड्सनले ३ विकेट लिएका थिए भने मिचेल स्टार्क र सीन एबोटले २-२ विकेट लिएका थिए ।
सिरिजको पहिलो खेल बिना नतिजा रद्ध भएको थियो भने त्यस पछिका दुवै खेल अस्ट्रेलियाले जितेर सिरिज २-० ले जितेको छ ।
अस्ट्रेलिया टुरमा रहेको पाकिस्तानले अब अस्ट्रेलियाविरुद्ध २ टेस्ट खेल्ने छ । टेस्ट सिरिजको पहिलो खेल नोभेम्बर २१ देखि शुरु हुने छ ।