• २०८१ बैशाख १७ सोमबार

सल्लाहकारपछि मन्त्री हटाउने तयारीमा प्रधानमन्त्री ओली, प्रचण्डसँग लामो छलफल

kharibot

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको काम प्रभावकारी बनाउने रणनिति बनाउन छलफलमा जुटेका छन् ।

पार्टी महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासमेतको उपस्थितमा प्रधानमन्त्री ओली र प्रचण्डले आइतबार लामो छलफल गरेका छन् ।

आफ्ना सल्लाहकारहरुलाई राजीनामा दिन लगाएर आक्रामक बनेका प्रधानमन्त्री ओलीले मन्त्रिमण्डल समेत पुनर्गठन गर्ने संकेत दिएका छन् । लामो समयदेखि सरकारको काम प्रभावकारी हुन नसकेको, पार्टी एकीकरणको काम समेत समयमा हुन नसकेर आलोचना खाइरहेको नेकपा नेतृत्व अहिले पछिल्लो समय सक्रिय भएको हो ।  

मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल गरेका दुई अध्यक्ष ओली र प्रचण्ड स्थायी कमिटी बैठक बोलाउने तथा उपनिर्वाचनको विषयमा समेत छलफल गरेका छन् ।

उपनिर्वाचनको पुर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सल्लाहकार हटाउने र मन्त्रिमण्डल पुनर्गठनको संकेत गरेर केहि हदसम्म नेकपाको पक्षमा माहोल बनाउने प्रयासको रुपमा यसलाईहेरिएको छ ।

प्रधानमन्त्री ओली र प्रचण्डबीच सरकारको कामलाई द्रूतगतिमा अघि बढाउने विषयमा छलफल भएको बताइएको छ । सरकारको काम कारबाहीमा ढिला सुस्ती भएकोमा सर्वसाधारणले प्रश्न उठाइरहेका बेला प्रधानमन्त्री ओलीले सरकारको काम कारबाही चुस्त दुरुस्त बनाउन केही मन्त्री परिवर्तन गर्ने संकेत गरिसकेका छन् ।

बालुवाटारनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले सल्लाहकारको राजीनामा मागेसँगै मन्त्रिमण्डल पुनगर्ठनको तयारी समेत शुरु गरेका छन् । केही मन्त्रीले काम गर्न नसकेको भन्दै यसअघिको चौमासिक समीक्षामा समेत प्रधानमन्त्रीले असन्तुष्टि व्यक्त गरेका थिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले साना–मसिना काममा अल्झिएर राष्ट्रिय गौरवका आयोजना पूरा गर्न आलटाल गरे विभागीय मन्त्रीलाई पदबाट हटाउने चेतावनी दिएका छन् । प्रधानमन्त्री ओलीले असोजमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साउनयता सरकारका विभिन्न मन्त्रालयबाट भएका कामको प्रगति विवरण जानकारी लिने क्रममा योजनाअनुसार काम नगर्ने-नगराउने मन्त्रीहरूलाई हटाउने चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले सामाजिक, आर्थिक विकासमा प्रभाव पार्नेगरी केही मन्त्रालयले काम गर्न नसकेको भन्दै असन्तुष्टि पनि पोखे। उनले कामको समीक्षा गर्दै देश र जनताको चाहनाअनुसार ल्याइएका योजना समयमै सम्पन्न गर्नेतिर लाग्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै