काठमाडौँ । भारत र बंगलादेशबीच आजदेखि शुरु भएको डे-नाइट टेस्टमा बंगलादेश पहिलो इनिंगमा १०६ रनमा अल आउट भएको छ ।
टस जितेर पहिला ब्याटिंग गरेको बंगलादेश पहिलो दिन ३०.३ ओभर मात्र खेलेर १०६ रनमा अल आउट भएको छ ।
पिंक बलले खेलिएको यस टेस्टमा बंगलादेशका लागि शडमान इस्लामले सर्वाधिक २९ रन बनाएका थिए । त्यस्तै लिटन दासले २४ रन बनाएर रिटायर्ड हर्ट भएका थिए । उनको टाउकोमा बल लागेपछि लिटनले मैदान छोडेका थिए । त्यस्तै नयीम हसनले १९ रन बनाए ।
बंगलादेशका अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । बंगलादेशका चार खेलाडी शुन्यमा आउट भएका थिए ।
लिटन घाइते भएपछि बंगलादेशले कंकुजन सब्सटिच्यूटको रुपमा उनको ठाउमा मेहिदी हसनलाई बोलाएको छ ।
बंगलादेशलाई सस्तैमा आउट गर्नेक्रममा भारतीय बलर इशान्त शर्माले सर्वाधिक ५ विकेट लिएका थिए । त्यस्तै उमेश यादवले ३ विकेट लिए भने मोहमद सामीले २ विकेट लिएका थिए ।