• २०८१ बैशाख १८ मंगलबार

दुई दिनमै प्रदेश ३ को नाम र राजधानी टुङ्गो लाग्ने’

kharibot

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले असन्तुष्टीहरुलाई पन्छाएर नेतृत्वको निर्णय कार्यान्वयन गर्नु कम्युनिष्ट कार्यकर्ताको कर्तव्य भएको बताएका छन् ।

नेकपा प्रदेश ३ को संसदीयदलको आज भएको बैठकमा  मुख्यमन्त्री पौडेलले नेकपा नेतृत्वले निक्कै नै सुझबुझका साथ गरेको निर्णयलाई प्रदेशका सदस्यहरुले एकमनाका साथ कार्यान्वयन गर्नुपर्ने बताए । “हामीसँग असहमतिहरु पनि होलान् ती सबै कुराहरुलाई एकातिर राखेर एउटा असल कम्युनिष्ट कार्यकर्ताको भूमिका के हुने, नेतृत्वको निर्णयलाई कसरी लिने भन्ने कुरा मैले भनिरहनुपर्ने कुरा होइन”, उनले भने । 

प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठकअघि नै प्रदेशको राजधानी र नामाङ्कनको विषयमा नेकपा प्रदेश ३ संसदीय दलले स्पष्ट निर्णय गरिसक्नुपर्ने उनको भनाइ थियो । दुई वर्षदेखिको विषय भएकोले यो अधिवेशनमा कुनै पनि हालतमा टुङ्ग्याएर जानुपर्ने भन्दै मुख्यमन्त्री पौडेलले कम्तीमा पनि पुस २२ गतेभित्र निर्णय गरिसक्नुपर्ने धारणा राखे ।

प्रदेशसभाको कार्यपरामर्श समितिले पहिलो बैठकबाटै नाम र राजधानीको विषय टुङ्गो लगाउने गरी तयारी थालिसकेको बताउँदै मुख्यमन्त्री पौडेलले सकेसम्म पुस २२ गते नै प्रदेशसभाबाट सम्पूर्ण प्रक्रिया र छलफल सकेर पास गरेर जानुपर्ने बताए ।

संसदीय दलमै सबै विषयमा छलफल गरेर साझा धारणा बनाएर जाने हो भने प्रदेशसभामा अलमल नहुने र प्रदेशसभाको सबै तालिका मिलाएर दुई दिनमै नाम र राजधानीको विषयको टुङ्गो लाग्ने उनको भनाइ थियो । 

यही पुस २१ गते हुने प्रदेशसभाको हिउँदे अधिवेशन अघि नेकपा संसदीय दलको बैठक बसेर साझा धारणा निर्माण गर्न लागिएको जनाइएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै