• २०८१ बैशाख १६ आइतबार

उखुखेतीप्रति किसानको आकर्षण घट्दो

kharibot

महोत्तरी । भुक्तानीमा निकै समस्या खेप्नुपर्ने भएपछि महोत्तरीका किसानले उखु खेती छाड्दै गएका छन्।

कडा मिहिनेत र धेरै लगानी पर्ने उखुखेतीको भुक्तानीमा हण्डर खेप्नु परेपछि जिल्लाका किसानले उखुखेती छाड्ने क्रम बढेको हो।

जिल्लामा २० वर्षअघि मुख्य नगदेबालीका रुपमा उखुखेती करिब १८ हजार बिघा गरिन्थ्यो। यो क्रम पाँच वर्षअघिदेखि घट्दै गएर यसपालि सात हजार बिघामा झरेको छ। गत वर्ष ११ हजार बिघामा उखु खेती थियो। अहिले तयार भएको सात हजार बिघामध्ये चार हजार ५०० बिघामा खुट्टी (दोस्रो वर्षको उत्पादन) उखु छ।

खुट्टी उखु काटेपछि त्यसमा अन्य बाली लगाइने भएकाले आउने वर्षमा स्वात्तै घट्ने उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउछन्।

यसपालि नयाँ उखुखेती गर्ने किसान खासै नदेखिएका हुँदा अर्को वर्षका लागि अहिले मुडन (पहिलो वर्षको उखु) रहेको दुई हजार ५०० बिघाको खुट्टी उखु रहनेछ। वर्षमा एकपटक मात्र उत्पादन लिइने उखुखेतीमा निकै मिहिनेत र लगानी लगाउनुपर्ने र भुक्तानीमा भने चिनी उद्योगले वर्षौं झुलाउने भएपछि किसानले बाध्य भएर उखुखेती छाड्दै जानुपरेको कुशवाहाको भनाइ छ।

महोत्तरीमा मात्र नभएर वरपरका जिल्लामा पनि उखुखेती घट्दै गएपछि यस भेगमा स्थापित र सञ्चालित चिनी उद्योगलाई आगामी वर्षहरुम कच्चा पदार्थको अभाव हुने निश्चित छ।

“हामी त खेतको उखुमात्र नभई उद्योग पनि हाम्रै हो भन्थ्यौँ, उद्योगलाई बुझाइएको उखुको मूल्य छ महिनाभित्र पाउँदासम्म दङ्ग नै हुन्थ्यौँ,” जिल्लाकै गौशाला नगरपालिका–१ रामनगर (एभरेष्ट चिनी उद्योग रहेकै बस्ती)का किसान धनलाल शाशङ्रले भन्नुभयो, “उद्योगले किसानलाई भुक्तानीमा वर्षौँ झेलाउन थाल्यो। अब त बाहिरबाट उखु ल्याउँदा नगदै कारोवार गर्नु पर्ला नि!” उखुखेती घटेसँगै उद्योग खस्कने चिन्ता आफुहरुलाई रहेको शाशङ्कर बताउछन्।

विश्वासिलो वातावरण सरकारले बनाउनसके सरकारकै विश्वासमा किसान फेरि उखुखेतीमा फर्कनसक्ने सम्भावना भने रहेको जिल्लाकै बर्दिवास नगरपालिका–९ पशुपतिनगरका किसान ब्रह्मदेव महतो बताउछन्।

उद्योग धराशयी बन्दा धेरैको रोजगारी गुम्नसक्ने देखिन्छ। जिल्लामा उखुखेतीलाई फेरि जगाउन किसानलाई समयमा बीउमल, खेतीखर्च बापत सहुलियत ऋण, मङ्सिर तेस्रो साताको प्रारम्भमै उखु क्रसिङ खोल्ने व्यवस्था र पहिले नै कबुलियत गरेर मूल्य निर्धारण तथा भुक्तानीको अवधि तोकिए जिल्लामा उखुखेती फेरि फस्टाउन सक्ने किसानको भनाइ छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै