• २०८१ बैशाख १८ मंगलबार

नेकपा संसदीय दलको प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय

kharibot

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको दलको बैठकले पार्टी सचिवालयको निर्देशनअनुसार नै प्रदेश ३ को संसदीय दलले प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको हो ।

नेकपाको सचिवालयले नाम बाग्मती र राजधानी हेटौंडा राख्न निर्देशन दिएको थियो ।

नेकपा प्रदेश ३ संसदीय दलको पछिल्लो पाँच दिनसम्म चलेको बैठकपश्चात् शुक्रबार निर्णयमा पुगेको हो । 

नेकपा सचिवालयको निर्देशनअनुसार प्रदेशसभामा स्थायी राजधानी हेटौंडा र नाम वाग्मती दर्ता गराउने भएको हो ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले फ्लोर क्रस गर्ने र अर्को प्रस्ताव दर्ता हुने सम्भावना नरहेको बताए । ‘हाम्रो पार्टीको आधिकारिक निर्णयअनुसार सबै अगाडि बढ्नुहुनेछ । पार्टीभित्र बहस र छलफल भएपछि एउटा निचोडमा पुग्नै पर्छ । हामी पनि निचोडमा पुगेका छौँ । अब एउटामात्र प्रस्ताव दर्ता हुन्छ । त्यसैमा मतदान पनि हुन्छ,’ मुख्यमन्त्री पौडेलले बैठक पछि भने । 

सहमति नजुटेको खण्डमा ह्विप लगाएर भएपनि पार्टी सचिवालयको निर्णयलाई कार्यान्वयन गराउने तयारीमा संसदीय समिति रहेको थियो । अब सहमतिमै निर्णय भएकाले ह्वीप लगाउनु नपर्ने भएको छ । 

नामकरणभन्दा पनि स्थानको विषयलाई लिएर नेकपाभित्र विवाद सिर्जना भएको थियो । बहुमत सदस्य काभ्रेको पक्षमा रहेका कारण संसदीय दलले निर्णय लिन सकेको थिएन ।

प्रदेशसभामा प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धि प्रस्ताव पास गराउन ७४ मत आवश्यक पर्नेमा नेकपासँग ८० मत रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै