• २०८१ बैशाख १७ सोमबार

सिरहा जिल्लालाई सलहेश पर्यटकीय सर्किटको रुपमा विकास गरिने

kharibot

लहान । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरी प्रदेश २ सरकार र स्थानीय सरकारले सिरहा जिल्लालाई सलहेश पर्यटकीय सर्किटको रुपमा विकास गर्न लागेको छ।

प्रत्येक नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते मात्र फूल फुल्ने सिरहाको सलहेश फूलबारी क्षेत्रमा पर्यटकको आकर्षण बढ्न थालेपछि सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्न लागिएको हो।

सलहेश फूलबारीमा एक दिन मात्र माला आकारमा फुल्ने र साँझ पख ओइलाएर जाने फूलको महत्व र सलहेश फूलबारीको ऐतिहासिक र पौराणिक पक्ष बुझ्न आन्तरिक र बाह्य पर्यटकहरुको आगमन यस क्षेत्रमा बढ्न थालेको छ।

सिरहाको सलहेश फूलबारी क्षेत्रलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरी प्रदेश सरकार अघि बढेको प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय बताउछन्।

उनी भन्छन् – “सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्न आवश्यक बजेटसँगै योजनाहरु बनाएका छौं। त्यहाँ निर्माण गर्नुपर्ने भौतिक पूर्वाधारसँगै पर्यटकलाई लोभ्याउन सकिने योजनाहरु समेत बनाइरहेका छौं।” योजनाहरु तयार भइसकेपछि छिट्टै कार्यान्वयनमा लैजाने मन्त्री रायको भनाइ छ।

मन्त्री रायका अनुसार सलहेश फूलबारी क्षेत्रलाई प्रदेश २ कै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्ने प्रदेश सरकारले लक्ष्य लिएको छ र स्थानीय तहसँग समन्वय गरी सो क्षेत्रलाई अझै व्यवस्थित र आकर्षक बनाउने योजना छ।

प्रदेश सरकारले सलहेश क्षेत्रलाई विशेष पर्यटकीय सर्किटको रुपमा विकास गर्ने भएपछि सिरहाका स्थानीय तहसमेत उत्साहित भएका छन्। सलहेश फूलबारी क्षेत्रलाई व्यवस्थितसँगै थप रमणीय र प्रदेश २ कै आकर्षक पर्यटकीय गन्तव्य बनाउन योजनाबद्ध ढङ्गबाट अघि बढेको लहान नगरपालिकाका प्रमुख मुनी साह बताए।
उनी भन्छन् – “सलहेश फूलबारीलाई सिरहाको मात्रै होइन, प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने नीतिअनुरुप यस वर्ष नगरसभाले रु दुई करोड १५ विनियोजन गरेको छ।”

विनियोजित बजेटलाई सलहेश फूलबारी क्षेत्रमा रहेका जग्गाहरुको व्यवस्थापन तथा विस्तार गर्न जग्गा खरिदसँगै बृहत् विकासका लागि डिपिआर तयार गर्न खर्चिने र थप योजनाहरु समेत बनाउने नगरप्रमुख साहको भनाइ छ।

सलहेश फूलबारी क्षेत्रमा पर्यटकलाई आकर्षण गर्ने पूर्वाधारहरुको निर्माणसँगै पूर्व–पश्चिम राजमार्गदेखि सलहेश फूलबारीसम्म पुग्ने सडकको स्तरोन्नतिको काम समेत तीव्र रुपमा अघि बढाइएको नगरप्रमुख साह बताउछन्।

सलहेश फूलबारी क्षेत्रभित्रै व्यापारिक परियोजनाका लागि भवन निर्माण गर्न सकिने सम्भावनाको समेत नगरपालिकाले अध्ययन गरिरहेको छ।

“जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा रहेको सलहेश फूलबारी क्षेत्रमा बढीभन्दा बढी पर्यटकलाई आकर्षण गर्ने हामीले लक्ष्य लिएका छौं,” भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका सदस्य तथा लहान नगरपालिका वडा नं ७ का वडाध्यक्ष राकेश गुप्ता रोशनले भने – “हामीले लुम्बिनीको गौतमबुद्ध, जनकपुरको जानकी मन्दिर जस्तै सिरहाको सलहेश क्षेत्रलाई विकास गर्न चाहेका छौं। सिरहा जिल्लालाई सलहेश सर्किटको रुपमा विकास गर्ने हाम्रो सोच छ।”

पर्यटकलाई आकर्षण गर्न सलहेश क्षेत्रमा स्वागतद्वार र तुलहरु राखिएका छन् भने घुम्न आउने पर्यटकको आरामका लागि फूलबारीभित्रै धर्मशालाको समेत निर्माण गरिएको छ।

घुम्न आउने पर्यटकलाई सहज रुपमा सलहेश क्षेत्र पुग्न बाटोघाटो सँगै यातायातको समेत व्यवस्था मिलाइएको रोशनले बताउछन्। प्रदेश २ सरकार र स्थानीयस्तरबाट समेत सलहेश फूलबारीलाई पर्यटकीय सर्किटको रुपमा विकास गर्न थालेपछि यतिबेला आन्तरिक र बाह्य पर्यटकहरुको पनि आकर्षण बढेको छ।

भ्रमण वर्ष शुरु भएको करीब दुई साताको अवधिमा करीब दुई हजार भन्दा बढी पर्यटक यहाँ आएका सलहेश फूलबारीका पुजारी वीरदेव धामी बताउछन्।

सलहेश फूलबारी क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकले सलहेश क्षेत्रमा घुमफिर गर्नाका साथै सलहेश फूलबारीको महत्वबारे समेत जानकारी दिने गरेको पुजारी धामीको भनाइ छ। सलहेश क्षेत्रमा घुम्न आउनेमा धेरैजसो आन्तरिक पर्यटक छन् भने थुप्रै भारतीय पर्यटक पनि यहाँ आउँछन्।

विस १३२५ ताकाका प्रतापी राजा सलहेशको शौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरुको सम्झनास्वरुप प्रत्येक वर्ष वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्छ। राजा जयवद्र्धन सलहेश र उनकी प्रेमिका दौना मालिनीबीचको पे्रमको प्रतीक मानिने सलहेश फूलबारी करीब १० बिघा क्षेत्रफलमा फैलिएको छ।

सगरमाथा अञ्चलकै प्रमुख व्यापारिक केन्द्र लहान बजारदेखि करीब ५ किलोमिटर पश्चिममा रहेको फूलबारी क्षेत्रभित्र हारम प्रजातिको प्राचीन दुई रुखको मध्य भागमा प्रत्येक वर्ष वैशाख १ गते एक जोडी माला आकारका फूल फुल्छ र त्यो फूल त्यही दिन साँझ औइलाएर जान्छ।

पर्यटकीय महत्व बोकेका विभिन्न दर्शनीय स्थलहरुमध्ये सलहेश फूलबारीमा नयाँ वर्षको पहिलो दिन पूजाअर्चना गरी नयाँ कामको थालनी गर्ने चलन छ। त्यही फूललाई साक्षी राखी युवायुवतीहरु प्रणय सूत्रमा बाँधिने गर्दछन्।

सलहेश तराईका पासवान जातिको इष्टदेव रहेको जानकारहरुको भनाइ छ। १३औँ शताब्दीका लोकनायक मानिने सलहेशको पूजाअर्चनाले सन्तान प्राप्ति र चर्म रोग, कुष्ठ रोग जस्ता रोग ब्याधि निको हुने जनविश्वास रहेको छ।

फूलबारीभित्र दुर्लभ प्रजातिका जडीबुटीहरु खोज्न भारतको बिहार, पश्चिम बंगला, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषा लगायतका जिल्लाबाट हजारौंको सङ्ख्या मानिस आउने गर्दछन्।

राजा सलहेश प्रत्येक दिन सिरहा सदरमुकामस्थित आफ्नो राजधानी महिसोथा गढबाट कमल दहमा स्नान गरी फुलबारीमा आफ्ना साथीहरुसँग कुस्ती लडेपछि प्रेमीका मालिनीसँग वनविहार गर्ने किम्बदन्ती रहेको छ।

सलहेश फूलबारी क्षेत्रभित्र चारैतिर मूल फुटेर पानी बगिरहेको दृश्यले समेत पर्यटकको मन तान्छ। फूलबारीभित्र प्रवेश गरेपछि शान्ति र पे्रमको भाव आफै उत्पन्न हुने अनुभूति यहाँ आउने धेरैले गरेका हुन्छन्।

विगतमा राज्यको ध्यान नपुग्दा र अपेक्षाकृत प्रचारप्रसार हुन नसक्दा सलहेश फूलबारी क्षेत्रको विकास हुन नसकेको बताउने  तत्कालीन पडरिया गाविसका पूर्वअध्यक्ष मागैन कामैत भन्छन् – “पछिल्लो समय स्थानीय सरकारदेखि केन्द्र सरकार समेतको सलहेश फूलबारी क्षेत्रमा ध्यान गएको छ र विस्तारै यस क्षेत्रको विकास हुन गइरहेको आभाष भएको छ।”

पढ्नै पर्ने

लोकप्रिय