• २०८१ बैशाख २० बिहीबार

कपिलवस्तुमा कोरोना रोकथाम : मस्जिद र मदरसामा अनुगमन, २८ एम्बुलेन्स तयारी अवस्थामा

kharibot

फाइल तस्बीर

जीतपुर । कोभिड–१९ रोकथामका तथा नियन्त्रणका लागि कपिलवस्तुमा २८ एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको छ । 

सङ्क्रमितलाई क्वारेन्टाइन र आइसोलेसन कक्ष वार्डसम्म पु¥याउनका लागि १० वटै स्थानीय तह तथा विभिन्न क्षेत्रका एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको हो । 

सङ्क्रमित भेटिए वा जटिल अवस्था आए सेवा दिने गरी एम्बुलेन्स तयार राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

एम्बुलेन्स चालकले भने आफूहरुको सुरक्षा नभएको गुनासो गरेका छन् । एम्बुलेन्स चालक सङ्घका जिल्ला अध्यक्ष मधु बेल्वासेले कोरोनाको महामारीको समयमा आफूहरुले सेवा दिँदै आएको भए पनि पर्याप्तमात्रमा सुरक्षा साधन नभएको बताए । 

प्रमुख जिल्ला अधिकारी दिर्घनारायाण पौडेलले जोखिम बढेमा सावधानीका लागि पूर्ण तयारी गरेको भन्दै चालक नआतिन अनुरोध गरेका छन् । यस्तै प्रदेश नं ५ सरकारले कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि कपिलवस्तुका स्थानीय तहलाई रु एक करोड ३५ लाख उपलब्ध गराउने भएको छ । 

प्रदेश सरकारले जिल्लाका छ नगरपालिका, चार गाउँपालिका र एक जिल्ला समन्वय समितिलाई उक्त रकम सहयोग गर्ने भएको छ । 

सरकारले जिल्लाको वाणगङ्गा कपिलवस्तु, शिवराज, बुद्धभूमि, कृष्णनगर र महाराजगञ्ज नगरपालिकालाई रु १५ लाखका दरले रु ९० लाख उपलब्ध गराउने जनाएको छ । यस्तै विजयनगर, यशोधरा, मायादेवी र शुद्धोधन गाउँपालिकालाई रु १०–१० लाखका दरले रु ४० लाख र जिल्ला समन्वय समितिलाई रु पाँच लाख सहयोग दिने निर्णय गरको हो ।

मस्जिद र मदरसामा अनुगमन 

कोभिड–१९ को संक्रमणलाई मध्यनजर गर्दै यहाँका विभिन्न मस्जिद र मदरसामा आज अनुगमन गरिएको छ । मस्जिद र मदरसामा मुस्लिम जमाती लुकेर बसेको आशङ्कामा स्थानीय प्रशासनले आज अनुगमन गरेको हो ।

जिल्लाको जवाभारी, चन्द्रौटाका मस्जिद, मदरसामा अनुगमन गरिएको हो । अनुगमन गर्दा कुनै पनि मस्जिद मदरसामा शङ्कास्पद कोही पनि फेला नपरेका राष्ट्रिय मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मशहुद खाँ नेपालीले जानकारी दिए ।

अनुगमनका क्रममा शिवराज नगरपालिका वडा नं ८ का वडाध्यक्ष अनुपकुमार चौधरीले कुनै पनि शङ्कास्पद व्यक्ति फेला नपरेको बताए । जवाभारीको मदरसा र मस्जिदमा प्रशासनको समन्वयमा ताला लागाइएकाले बाहिरी मान्छे आउने समाचार निराधार रहेको वडाध्यक्ष चौधरीले जानकारी दिए । 

राष्ट्रिय मदरसा सङ्घका अध्यक्ष डा अब्दुल गनी अलकुफीले शिक्षा जस्तो पवित्रास्थलमा बहिरी मान्छेलाई आश्रय दिने काम गलत भएको बताए । चन्द्रौटामा रहेको मदरसामा अनुगमन गर्दा कुनै पनि जमाती नभेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दिपेश खरेलले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले प्रहरी र प्रशासन लगाएर खोजतलास गरिएको तर अहिलेसम्म केही फेला नपरेको बताए । उनले एक जना पाकिस्तानी नागरिक फेला परेका र उनी माघमा कानूनी तरिकाले नेपाल प्रवेश गरेको प्रमाण फेला परेको बताए ।

जिल्लाका मुस्लिम अगुवा, निर्वाचित प्रतिनिधि, प्रहरी प्रशासन पत्रकारको टोलीले मदरसाको अनुगमन गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै