• २०८१ बैशाख १७ सोमबार

आफ्नै भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर हुँदाहुँदै अरुको किन प्रयोग गर्ने ?

kharibot

काठमाडौँ ।  कोभिड¬–१९ ले विश्वव्यापी महामारीको रुप लिएसँगै विश्व समुदाय अहिले सूचना प्रविधिको प्रयोगमा निकै अगाडि देखिएको छ । कोरोनाका कारण भौतिक दूरी कायम गर्नुपर्ने अवस्था सिर्जना भएपछि विश्व जगत्नै ‘भर्चुअल’ प्रविधिको प्रयोगमा जुटेको छ । नेपालमा पनि विद्यालय, विश्वविद्यालयका अध्ययन, अध्यापन, कार्यालयका काम तथा बैठक सबै भर्चुअल रुपमा हुँदै आएका छन् । 

भर्चुअल बैठकका लागि विभिन्न भिडियो ‘कन्फ्रेन्सिङ सफ्टवेयर’को प्रयोग भइरहेको छ । तर पछिल्ला समय ती सफ्टवेयरको प्रयोगमा ठूलो चुनौती देखिएको छ । सफ्टवेयरको सुरक्षालाई लिएर विश्वमा अहिले ठूलो बहस हुँदै आएको छ । भर्चुअल बैठकका लागि लोकप्रिय मानिएको जुम सफट्वेयमा पछिल्लो समय ह्याकरले आक्रमण गरेर अश्लिल भिडियो देखाइएको खबर सार्वजनिक भइरहेका छन् ।  

सोमबारमात्र नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक भर्चुअल बैठकमा अश्लिल भिडियो सार्वजनिक भएपछि पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले उक्त घटनाको छानबिन गर्न निर्देशन नै दिएको छ । सो कार्यक्रममा पर्यटनमन्त्रीसहित २०० बढीको सहभागिता थियो । केही दिन अघि जुममार्फत सञ्चालन भइरहेको एक भर्चुअल बैठकमा पनि त्यस्तै घटना भएको थियो । 

सामाजिक सञ्जालमा मात्र नभइ प्रविधिको सुरक्षालाई लिएर सदनमा पनि बहस शुरु भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कोमल वलीले पछिल्ला समय सूचना प्रविधिको प्रयोग ब्यापक बन्दै गएको अवस्थामा त्यसको गोपनीयता माथि ठूलो प्रश्न चिह्न खडा गरेको बताइन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उहाँले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको राष्ट्रिय सूचना प्रविधि केन्द्रले निर्माण गरेको भिडियो कन्फ्रेन्सिङ सफट्वेयर प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

“अहिले हामी ‘डिजिटल वर्ल्ड ’मा सक्रिय छौँ । डिजिटल सफ्टवेयरको माध्यमबाट हामी भर्चुअल कन्फ्रेन्सिङ, मिटिङ तथा कक्षा सञ्चालन भइरहेका छन्, तर अहिले जुमलगायत विभिन्न सफ्टवेयरमा सुरक्षाको प्रश्न उठिरहेको छ”, उनले भनिन्, “राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सरकार आफैँले ‘सोर्स कोड’ प्रयोग गरेर निर्माण गरेको भिडियो कन्फ्ररेन्स ‘टुल’ पनि तयार छ, आफ्नै सफ्टवेयर हुँदाहुँदै अन्य किन प्रयोग गर्ने ?” उनले अन्य सफ्टवेयर प्रयोग गर्नुभन्दा नेपालमा निर्माण गरिएको सफ्टवेयर प्रयोग गरिनुपर्नेमा जोड दिइन् । 

सूचना प्रविधि विभागले निर्माण गरेको भिडियो कन्फ्रेसिन्ङ सफ्टवेयरमा २०० बढीले एकैसाथ सहभागिता जनाउन सक्ने व्यवस्था गरिएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै हाल विद्यालय, विभिन्न कार्यालयमा जुमलगायत विदेशी सफ्टवेरको प्रयोग बढ्दै गएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै