• २०८१ बैशाख १७ सोमबार

युरोपेली युनियनको शिखर बैठक अनिर्णित हुने जर्मन चान्सलरको चेतावनी

kharibot

ब्रसेल्स । कोरोना भाइरसबाट थलिएको युरोपेली अर्थतन्त्र उकास्न अघि सारिएको एउटा विशाल आर्थिक उद्धार प्याकेजमा युरोपेली युनियनका नेताहरुबीच सहमति हुने सम्भावना कमजोर हुँदै गएको जर्मन चान्सलर एन्जेला मर्केलले बएकी छन् । 

युरोपेली युनियनमा आबद्ध २७ वटा मुलुकका सरकार प्रमुखहरु यतिबेला युनियनको मुख्यालय ब्रसेल्समा तीन दिनदेखि सम्भावित आर्थिक प्याकेजमा सहमति जुटाउन वार्तामा छन् । 

दुई दिनदेखिको वार्तामा नेताहरुले सम्भावित प्याकेजको आकार र नियममाथि छलफल गरिरहेका छन्, तर यसमा सहमति जुट्न सकेको छैन । 

युरोपेली युनियनभित्र सबैभन्दा ठूलो अर्थतन्त्र रहेको जर्मनीकी चान्सलर मर्केलले युरोपेली नेताहरुबीच सहमति जुटाउन तीन दिनभन्दा बढीको वार्ता आवश्यक नदेखिएको विचार व्यक्त गरेकी छन् । उनले युरोपेली मुलुकका नेताहरुबीच अझै पनि धेरै कुरामा मतान्तर रहेको बताइन् ।

“म अहिल्यै कुनै समाधान निस्केला भन्नेमा विश्वस्त छैन,” चान्सलर मर्केलले भनिन् , “वार्ताप्रति सबैको ठूलै सदभाव छ, तर आज नै कुनै निश्कर्ष निस्कन्छ भन्नेमा मलाई विश्वास छैन ।”

जर्मन चान्सलरको विचारप्रति फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रो र शिखर बैठकका आयोजक युरोपेली परिषदका अध्यक्ष चाल्र्स मिसेलले समर्थन जनाएका थिए । जर्मनी, फ्रान्स र परिषदले तयार पारेको नयाँ प्रस्तावमा नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुट समेतका पाँच सदस्य मुलुकले विमती राखेपछि वार्ता लम्बिएको हो ।

नेदरल्यान्ड्सले सदस्य राष्ट्रहरुले श्रम बजार सुधारको सुनिश्चित गरुन् भन्ने चाहेको छ भने अस्ट्रिया, फिनल्याण्ड, डेनमार्क र स्वीडेनले ७५० अर्ब युरोसम्मको ऋण र अनुदान कटौती गर्न प्रस्ताव गरेका छन् । 

युनियनका सर्वाधिक शक्तिशाली मुलुकहरु जर्मनी र फ्रान्सले कोरोनाभाइरसबाट सर्वाधिक असर परेका मुलुकको आर्थिक उत्थानका लागि अघि सारेको प्रस्तावलाई युनियनकै एउटा समूहले विरोध गरेको छ । यसमा विरोध गर्नेमा मुख्य रुपमा स्पेन र इटाली रहेका छन् । 

फ्रान्सेली राष्ट्रपति म्याँक्रोले समग्र युरोप नै भाइरस र यसको प्रसार रोक्न गरिएका लकडाउनले गम्भीर आर्थिक मन्दीको अवस्थामा पुगेको भन्दै कुनै सम्झौता हुन सक्नेमा आफू अझै आशावादी रहेको बताए । तर उनले युरोपेली आकाँक्षालाई दाउमा राखेर कुनै सम्झौता हुन नसक्ने स्पष्ट गरे ।  

उनले हामी स्वास्थ्य, आर्थिक र सामाजिक क्षेत्रमा अभूतपूर्व संकटको सामना गरिरहेको विषम परिस्थितिमा युरोपेली मुलुकहरुबीच अझ बढी सुदृढ एकता चाहिएको बताए । 

युनियनका अध्यक्ष मिसेलले सबैलाई मान्य हुने सम्झौता तयार पार्न आइतबार रातभर काम गरेकी थिइन् ।  

एक फ्रान्सेली कूटनीतिक स्रोतले म्याँक्रो र मर्केलले प्याकेजमा व्यवस्थित अनुदानको रकमलाई ४०० अर्ब युरोभन्दा कम गर्ने नेदरल्याण्ड्सका प्रधानमन्त्री रुट र उनका सहयोगीहरूको दबाबलाई अस्वीकार गरेका छन् । 

युरोपेली नेताहरूले कोरोनाभाइरसबाट सर्वाधिक असर पारेका मुलुकहरुमा तत्काल नगद पठाउने एउटा योजना स्वीकृत गर्न कोशिस गर्दैछन् । विशेषगरी यो रकम स्पेन र इटालीलाई सर्वाधिक बढी जरुरी छ । 

नेदरल्याण्ड्सले युनियनका अध्यक्ष मिसेलको योजनाको प्रारम्भिक प्रस्तावलाई अस्वीकार गरेको छ किनकि नेदरल्याण्ड्सको विचारमा युनियनले ऋणको साटो बढी अनुदान दिएको बताउँदै आएको छ । अनुदान बढी प्राप्त गर्ने सम्भावित स्पेन, इटाली समेतका कतिपय मुलुकको सुशासनको स्तर कमजोर रहेको नेदरल्याण्ड्सको भनाई छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै