• २०८१ बैशाख १६ आइतबार

नेपाल–भारत संयुक्त निगरानी संयन्त्रको भर्चुअल बैठक सम्पन्न

kharibot

काठमाडौँ । नेपाल–भारत ज्वाइन्ट ओभरसाइड मेकानिज्म (संयुक्त निगरानी संयन्त्र) को भर्चुअल बैठक सम्पन्न भएको छ ।

बैठकमा नेपालमा भारतीय सहयोगमा निर्माणाधीन परियोजनाहरुको प्रगतिका बारेमा मुल्यांकन भएको परराष्ट्रका अधिकारीहरुले बताएका छन् । नेपाली पक्षको बैठकको नेतृत्व परराष्ट्र सचिव शंकरदास वैरागीले गरेका थिए भने मन्त्रालयका सम्बन्धित पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

यस्तै, भारतीय टोलीको नेतृत्व नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गरेका थिए । साथमा भारतीय दूतावासका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

बैठकमा अहिलेसम्म आयोजनाहरुको प्रगति सन्तोषजनक भएको मुल्यांकन गर्दै आवश्यकताअनुसार थप सहकार्य गर्ने विषयमा सकारात्मक छलफल भएको छ ।

बैठकपछि विज्ञप्ति निकाल्दै भारतीय दूतावासले सन् २०१६ मा भारतीय परियोजनाहरुको प्रगतिको संयुक्त निगरानीको लागि बनेको उक्त संयन्त्रको बैठकमा आफ्नो तर्फबाट राजदूत क्वात्रासहित कार्यान्वयनमा नेपालका विभिन्न मन्त्रालयका पदाधिकारीहरु तथा संलग्न ठेकेदार र परामर्शदाताको पनि उपस्थिति रहेको जनाएको छ ।

दूतावासले पछिल्लो एक वर्षमा भारत सरकारले नुवाकोट र गोरखामा भूकम्प प्रभावितहरुलाई ४६ हजार ३०१ घर निर्माणमा सहयोग गरेको जनाएको छ । भारत सरकारले नेपालका भूकम्प प्रभावितहरुलाई ५० हजार घर निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेको थियो ।

दूतावासले मोतिहारी–अमलेखगञ्ज सीमापार पेट्रोलियम पाइपलाइनको सञ्चालन, विराटनगरमा एकीकृत जाँच चौकी तथा कोभिड–१९ सम्बन्धी विषयमा पनि नेपाललाई सहयोग गरेको जनाएको छ । ‘कोभिड–१९ को समयमा पनि नेपाललाई आवश्यक समयमा स्वास्थ्य सामग्री र औषधि सामग्री भारतले सहयोग गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैठकमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको अनुगमन र समीक्षा गर्ने, केही अप्ठेरो अवस्था छ भने त्यसको गाँठा फुकाउने सहमति भएको छ ।

नेपालमा भारतीय सहयोगमा एकीकृत जाँच चौकी, ऊर्जा, पुल, सिंचाइ, रेल, सडक, कृषि तथा भूकम्पपछिको पुनर्निर्माणलगायत क्षेत्रमा काम भइरहेका छन् । ती क्षेत्रमा भइरहेको कामको प्रगति, बाधा अड्चन र समाधानका लागि आवश्यक पर्ने विषयमा संयन्त्रको बैठकमा कुरा भएको छ ।

भारतले नेपालमा लगानी गरेको परियोजनाहरुको कामको नतिजा राम्रो नभएपछि दुई सरकारबीच उक्त संयन्त्र बनाउने निर्णय भएको थियो ।

यसअघि २०७६ असार २३ मा बसेको सातौं संयन्त्रको बैठकले परियोजनाहरुको सहज कार्यान्वयनमा जोड दिएको थियो । संयन्त्रको पहिलो, दोस्रो र तेस्रो बैठक २०७३ मा क्रमश मंसिर १४, माघ १७ र चैत ३० मा बसेको थियो । चौथो र पाचौं बैठक २०७४ साल असार २२ र कात्तिक २१ मा बसेको थियो । छैटौं बैठक २०७५ साउन २ मा बसेको थियो ।

पछिल्लो समय नेपालले नक्शा जारी गरेपछि भारतीय पक्षसँग कुनै पनि तहमा बसेको यो पहिलो बैठक हो ।

भारतले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेकसमेत समेटेर नयाँ नक्सा प्रकाशित गरेसँगै नेपाली भूमि हुँदै सडक निर्माण गरेसँगै संयुक्त निगरानी संयन्त्रको बैठक रोकिएको थियो । त्यसलगत्तै नेपालले पनि आफ्नो प्रमाणको आधारमा नयाँ नक्सा जारी गरेको थियो । लगत्तै दुई मुलुकबीचको कुनै तहमा छलफल र बैठक हुनसकेको थिएन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै