• २०८१ बैशाख १७ सोमबार

तिहार नजिकिएसंगै महोत्तरीमा नदी उत्खनन् बढ्यो

kharibot

प्रतिनिधी तस्वीर

महोत्तरी । तिहार (दीपावली) पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ । 

सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो । दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ ।

आज शनिबार नै सुदूर दक्षिणीक्षेत्र अवस्थित जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका–७ को रातु नदी तटमा उत्खनन् र ढुवानी गरिरहेका पाँच यान्त्रिक उपकरण (जेसिभी, ट्याक्टर) सशस्त्र प्रहरी बल ९ नम्वर हेडक्वाटर जलसागर (महोत्तरी) को गस्ती टोलीले नियन्त्रणमा लिएको छ । नदी किनार र तटबन्ध क्षेत्रमा जथाभावी उत्खनन् गरेको पाइएपछि पाँच उपकरण नियन्त्रणमा लिएको ९ नम्वर गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा लिएका उपकरण आवश्यक कानूनी कारवाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीमा बुझाएको छ ।

वालुवा, ढुङ्गा निकाल्न जिल्लाको उत्तरीक्षेत्रमा र माटो निकाल्न दक्षिणी क्षेत्रमा उत्खनन् हुने गरेको पाइएको छ । खासमा पछिल्लो पटक माटोको कारोवार गर्नेहरुले दीपावली र छठ पर्वको मुखमा नदी क्षेत्रमा उत्खनन् बढाएका छन् । अहिले जिल्लाका सबैजसो नदीक्षेत्रमा प्रत्येक दिनजसो माटो खन्ने र ढुवानी गर्नेको जगजगी बढेको सर्वसाधारणको टिप्पणी छ ।

जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रका नदीमा भने सदाकाल नै जस्तो क्रसर उद्योगीले अवैध नदी उत्खनन् गर्दै आएका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै