• २०८१ बैशाख १७ सोमबार

२९९औँ पृथ्वीजयन्तीमा प्रज्ञा–प्रतिष्ठानको एकहप्ते पुस्तक प्रदर्शनी

kharibot

प्रतिनिधी तस्वीर

काठमाडौँ । पृथ्वीनारायण शाहको २९९औँ जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा एकहप्ते पुस्तक प्रदर्शनी शुरु भएको छ ।

प्रज्ञाको भानुभक्त कक्षमा पुस २६ गतेदेखि शुरु भएको प्रदर्शनीमा २०३० सालदेखि २०७७ पुस तेस्रो सातासम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायनशास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करण समेत प्रदर्शनीमा समावेश गरिएको छ ।

प्रदर्शनीको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रज्ञाबाट प्रकाशित पुस्तक विशेष भएकाले साझा प्रकाशन र निजी प्रकाशन मार्फत सातै प्रदेशमा पुर्याएर प्रज्ञाको गरिमा बढाउन लागिएको बताए । हरेक नेपालीको हात र मनमा प्रज्ञाका पुस्तक पुर्याउन आफू लागिरहेको उनको भनाइ थियो ।

विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग ७, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड १,२,३,४,५ र ६ जस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् ।

प्रदर्शनीमा भेटिनुभएका नेपाल विद्यार्थी सङ्घका अध्यक्ष राजीव ढुङ्गानाले नवरसका धारा प्रवाह गर्ने पुस्तक एकै ठाउँमा आरामसँग हेर्न, पढ्न र मन परेका पुस्तक छानेर किन्न पाइने हुँदा आफू प्रदर्शनी अवलोकन गर्न आएको र यस्ता प्रदर्शनीबाट आफू जस्तै धेरै पुस्तकप्रेमीलाई फाइदा पुगेको बताए । प्रदर्शनीमा भाषा, साहित्य, बालसाहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शन सम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगन लगायत धेरै विषयका पठनीय उपयोगी झण्डै ४६५ पुस्तक पत्रपत्रिका समावेश गरिएको छ ।

नयाँ थप पुस्तक लोकवार्ता विवेचना, तुफुका कविता, वोटे भाषाको व्याकरण, मातृभाषा साहित्यको इतिहास, विश्वप्रख्यात नारीका कथाहरु र प्रज्ञा नेपाली समालोचना, प्रज्ञा मैथिली नेपाली शब्दकोष, चीनका प्राचीन कथा, अमरकोश,  प्रज्ञा भोजपुरी नेपाली शब्दकोष, पाकिस्तानी महिला लेखन जस्ता ४०  भन्दा बढी पुस्तक प्रदर्शनीमा रहेको प्रतिष्ठानका सदस्यसचिव डा जगतप्रसाद उपाध्यायले जानकारी गराराए ।

नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको र प्रतिष्ठानबाट शुरु प्रकाशन भएदेखि २०७७ सालसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जानकारी पनि उनले दिए ।

माटोको ममता, महेन्द्र प्रवचन माला जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले बताए । यसअघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थीहरु बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी बालसाहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक ३०० भन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक रु २० हजारभन्दा बढी पुस्तक बिक्री  हुने गरेको समेत व्यवस्थापक ढुङ्गेलले बताए ।

पृथ्वीजयन्तीका अवसरमा शुरु गरिएको प्रदर्शनी एक हप्तासम्म जारी रहनेछ । पाठकको रुचि बढेमा समय थप गर्न सकिने पनि जनाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै