• २०८१ बैशाख १६ आइतबार

सगरमाथा बारे जीन्यूजको दुस्साहस र प्रधानमन्त्रीको प्रायोजित अन्तर्वार्ता

kharibot

तस्बीर : फेसबुक/ सुधिर चौधरी

काठमाडौँ । सोमबार बेलुका भारतीय समाचार च्यानल जीन्यूजमा प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारण भएपछि अनेकौ टिप्पणी भइरहेका छन् । 

प्रधानमन्त्री ओलीले अन्तर्वार्तामा व्यक्त गरेका विचारका बारेमा सकारात्मक नै प्रक्रिया आएका छन् । उनले स्पष्ट अडान र आफ्नो धारणा अन्तर्वार्ताका क्रममा राखेका छन् । तर प्रधानमन्त्रीले अन्तर्वार्ता दिन जीन्यूज र यसका प्रधानसम्पादक सुधीर चौधरीलाई किन रोजे भन्ने प्रश्न आम रुपमा उठेको छ ।

नेपालको बारेमा पटक पटक विवादस्पद अभिव्यक्ति दिने मात्र होइन जीन्यूजमै कार्यक्रम बनाएर प्रसारण गर्ने चौधरीले यस्तो हर्कत फेरी यस पटक काठमाडौँ आएको बेलामा गरेका छन् ।

उनले सगरमाथाको फेदीसम्म पुगेर सगरमाथमाथि भारतले दाबि ठोक्नुपर्ने तर्क गर्दै निर्लज्ज रुपमा प्रस्तुत भएका छन् । जीन्यूजले सगरमाथा सम्बन्धि कार्यक्रम गएराती प्रशारण गरेको छ । सो कार्यक्रममा चौधरीले सगरमाथाको नाम परिवर्तन गर्नुपर्नेदेखि यसमाथि भारतले आफ्नो दाबि ठोक्नुपर्ने सम्म बताएका छन् । साथै उनले सगरमाथामा भारतको दाबि बारे जीन्यूजले चलाएको अभियानको एक हिस्सा अन्तर्गत नै आफु सगरमाथाको फेदीसम्म आएको दाबि गरेका छन् ।

उनले कार्यक्रममा भनेका छन्, ‘राधानाथ सिकदर भारतका महान गणितज्ञ थिए । उनले सन् १८५२ मा पहिलो पटक विश्वकै सबैभन्दा अग्लो हिमालको उचाइ नापेका थिए । तर अंग्रेजहरुले उनलाई यसको श्रेय दिएनन् । यस पर्वतको नाम जर्ज एभरेस्टको नाममा राखियो । जसले न त कहिल्यै एभरेस्ट देखेका थिए, न त उनलाई यसका बारेमा जानकारी नै थियो । त्यसैले आज हामी माग गर्छौं कि माउन्ट एभरेस्टको नाम माउन्ट सिकदर राख्नुपर्छ ।’

त्यति मात्र होइन चौधरीले काला पत्थरबाट ‘नयाँ भारतको नयाँ राष्ट्रवादको साँचो पत्रकारिता’ सुरु भएको पनि दाबी गरेका छन् ।

देशमा राजनीतिक संकट बढिरहेका बेला भारतीय विवादस्पद पत्रकार र मिडियाको साथ लिने खोजेका प्रधानमन्त्रीको राष्ट्रवादको नारालाई आफैले बोलाएका अतिथिले नंगाइदिएका छन् । बालुवाटारमा प्रधानमन्त्री ओलीको हिन्दी र अंग्रेजीमा अन्तर्वार्ता लिएपछि हेलिकप्टर लिएर सगरमाथा हेर्न गएका चौधरीको यो कदमको चौतर्फी विरोध र आलोचना भएको छ । यस कार्यक्रमका बारेमा सरकार अर्थात प्रधानमन्त्री ओली पक्षबाट भने कुनै प्रतिक्रिया अहिलेसम्म आएको छैन ।    

नेपालविरुद्ध गतिविधि गर्ने विवादित चौधरी 

जीन्यूजका प्रधानसम्पादक चौधरी नेपालको विषयमा पटक पटक विवादस्पद कुरा गर्ने भारतीय पत्रकार मानिन्छन । उनले काठमाडौँ आएर ओलीसँग अन्तर्वार्ता लिएका हुन् । उनले केही महिनाअघि टिभी कार्यक्रममा नेपाल चीनको ईशारामा भारतविरुद्ध लागेको आरोप समेत लगाएका थिए ।

उनले नेपालले लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेपछि विवादित सामग्री प्रकाशित गरेका थिए । उनले 'राष्ट्रवाद के नामपर नेपालकी चाइनिज नक्सेबाजी’ भनेर कार्यक्रम बनाएर प्रसारण गरेका थिए ।

त्यस्तै यसअघि गत असारमा जीन्यूजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ शिर्षकमा विवादित सामग्री प्रसारण गरेको थियो । पछि जीन्यूजले माफी माग्दै सामग्री हटाएको थियो ।

त्यस्तै सुधीर चौधरीले नेपालबारे भारतीय सेनालाई जोडेर विवादित ट्वीट गरेका थिए । त्यसको नेपाल र भारतमै पनि व्यापक विरोध भएपछि उनले सो ट्वीट हटाएका थिए ।

जीन्यूज भारतमा भारतीय जनता पार्टी नेतृत्वको सरकारलाई जोडदार समर्थन गर्ने न्यूज च्यानलको रुपमा पनि चिनिन्छ ।

जी न्युजले पटक–पटक नेपालका बारेमा विवादित सामग्री प्रसारण गर्दै आएको छ । यसअघि असारमा जी न्युजको बिहार झारखण्ड संस्करणमा नेपालमा चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको भन्दै ‘ओलीकी इस्किँया’ भनेर विवादित सामग्री प्रसारण गरेको थियो । पछि च्यानलले माफी माग्दै सामग्री हटाएको भन्दै भिडियो बाहिरिएको थियो । तर जी न्युजको आधिकारिक च्यानलमा भने उक्त भिडियो भने भेटिएको थिएन ।

त्यस्तै प्रधानसम्पादक सुधीर चौधरीले पनि नेपालबारे विवादित ट्वीट गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको मानहानी र दुष्प्रचार गरेको भन्दै नेपालका केबल अपरेटरहरुले भारतीय समाचार च्यानलको प्रसारण बन्द गरेपछि चौधरीले विवादित ट्वीट गरेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि सर्नै परेन ।’

चौधरीको अभिव्यक्तिप्रति धेरैले आपत्ति जनाएपछि उनले त्यो ट्वीट हटाएका थिए । आफ्नो ट्वीटले नेपाली दर्शकहरुप्रति चोट पुगेको उल्लेख गर्दै उनले ट्वीट हटाएको जानकारी दिएका थिए । उनले लेखेका थिए , ‘मेरो ट्वीटले नेपालका हाम्रा दर्शकलाई चोट पुगेको छ । मलाई थुप्रै भारतीयले पनि यो विचार सही नभएको बताए । मैले खबर पाएसँगै आवेशमा आएर अनावश्यक प्रतिक्रिया दिएको हुनुपर्छ । यो मञ्च अभिव्यक्तिको हो, कसैलाई चोट पुऱ्याउन होइन । त्यसैले दु:ख व्यक्त गर्दै यो ट्वीट हटाउँदै छु ।’

जी न्युजले भारतमा पनि भारतीय जनता पार्टी नेतृत्वको सरकारको इसारामा चल्ने गोदी मिडियाको उपनाम पाएको छ । चौधरी सन् २०१२ मा कांग्रेस सांसद नवीन जिन्दलसँग १ करोड रुपैयाँ घुस मागेको आरोपमा पक्राउ परेका थिए । भारतीय राजनीतिमा हलचल ल्याएको कोलगेट घोटाला (कोइलासम्बन्धी घोटाला) मा जिन्दल समूहलाई 'ब्ल्याकमेल' गर्दै पैसा मागेका थिए । उनीसँगै उनका सहकर्मी समीर अहलुवालिया पनि पक्राउ परेका थिए । उनीहरु धरौटीमा रिहा भएका थिए । सन् २०१८ मा जिन्दल समूहले मुद्दा फिर्ता लिएको थियो ।

यति मात्र होइन चौधरीले मोदी सरकारका हरेक कमलाई खुला समर्थन उनका विरोधीको सधै आलोचना गर्ने गर्दछन । अहिले जारी किसान आन्दोलन र यस अघि दिल्लीमा भएको नागरिकता कानुनको विरोधमा भएको आन्दोलनमा पनि जीन्यूज र चौधरीले मोदीकै पक्ष लिएका थिए ।

निष्कर्ष :

नेपालको बारेमा पटक पटक विषबमन गरेका र केहि महिना अघि मात्र आफ्नै विरुद्ध एक राजदुतलाई जोडेर गरेको झुटा प्रचार विर्सेर कसरी राष्ट्रवादी प्रधानमन्त्री ओलीले उनलाई बालुवाटारमा स्वागत गरे ? अहिले को प्रश्न यहि हो ।

एउटा सामान्य भारतीय पत्रकारको यति धेरै चर्चा किन भन्ने प्रश्न पनि उठेको छ । देशको प्रधानमन्त्रीले नै यस्ता विवादित र सधै नेपालको विरुद्धमा बोल्ने, कार्यक्रम प्रशारण गर्ने पत्रकार र च्यानललाई किन स्वागत गर्नुपर्ने ? किन यस्तो प्रायोजित अन्तर्वार्ताको सहारा लिनुपर्ने ? सत्ता जोगाउन ? छबि सुधार्न ? राष्ट्रवादी बन्न ? यी प्रश्नको उत्तर अहिले खोजिएको छ ।

बालुवाटारमा जीन्युजले प्रधानमन्त्रीलाई राष्ट्रवादी त बनाइदियो तर सगरमाथाको फेदी कालापत्थरमा पुगेर गरेको दुस्सहास देखाएको प्रधानमन्त्री ओलीले देख्नु भएको की भएन ?  अहिलेको प्रश्न यहि हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै