• २०८१ बैशाख १७ सोमबार

पूर्वप्रधानमन्त्री भट्टराई र मुख्यमन्त्री नेपालीबीच भेटवार्ता

kharibot

गण्डकी । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच आज भेट भएको छ । मुख्यमन्त्री निवासमा भएको भेटमा उहाँहरूबीच प्रदेशमा नयाँ सरकार गठन भएपछि विकसित घटना र कार्यप्रगतिलगायतका विषयमा छलफल भएको थियो । 

भेटघाटमा मुख्यमन्त्री पोखरेलले छोटो अवधिमा नीति तथा कार्यक्रम र बजेट ल्याउँदा भएका कतिपय त्रुटि र कमजोरी सच्याउँदै अगाडि बढ्नुपर्ने अवस्था रहेको बताए । बहुवर्षे योजनाका कारण विकासको धेरै बजेट चलाउन नपाउने अवस्था रहेको भन्दै उहाँले बाँकी रकमबाट बजेट बनाउँदा कतिपय सालबसाली योजना छुटेको जानकारी दिए ।

प्रदेशको क्षमताअनुसारका योजना अगाडि बढाउनका लागि काम सुरु भइसकेको र केही ठूला योजनाका लागि सङ्घ सरकारबाट थप रकमको अपेक्षा गरिएको मुख्यमन्त्री पोखरेलले बताए । बाढीपहिराका कारण अहिले प्रदेशका ११ वटै जिल्ला प्रभावित भएकाले तत्काल राहत र उद्धारका काम भइरहेको र ठूला संरचनामा पुगेको क्षति पुनःनिर्माणका लागि सङ्घ सरकारको भर परेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले गठबन्धलाई अझै दरिलो कसरी बनाउने भन्नेबारेमा आफूहरूले निरन्तर छलफल गरिरहेको बताए । यो सरकारलाई असफल हुने छुट नरहेको भन्दै उहाँले स–साना मतभेदलाई भित्रै मिलाएर लैजान सुझाव दिए । नागरिकका अपेक्षा अत्यधिक रहेको अवस्थामा प्राथमिकता निर्धारण गरेर जान उनले आग्रह गरे ।

जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईका साथमा उक्त पार्टीका गण्डकी प्रदेश संयोजक मोती रिजाल तथा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य सहभागी थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै