• २०८१ बैशाख १७ सोमबार

बुढ्यौलीमा अक्षर चिन्दै ज्येष्ठ नागरिक

kharibot

प्रतिनिधी तस्वीर

दमौली । तनहुँको व्यास नगरपालिका–५ निवासी विमला भट्टराईले आफ्नो नाम समेत लेख्न जान्दैन थिइन् । नाम लेख्नपरे अरूको सहारा लिनुपथ्र्यो । ६६ वर्षीया भट्टराईले सामाजिक सुरक्षा भत्ता लिन बैङ्कमा जाँदा औँठाछाप लगाउनुपर्ने बाध्यता थियो । तर गत वर्षदेखि उहाँले आफ्नो नाम आफैँ लेख्न सक्ने भएकी छिन् । 

रोटरी क्लब अफ दमौली, इनरह्विल क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ वेदव्यासले सञ्चालन गरेको सिकाइको उमेर हुँदैन अभियान मार्फत उनले आफैँले नाम लेख्न सक्ने भएका छन् । चापाघाटस्थित वेदव्यास ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेकी उनले भनिन्, “पहिला पढ्न पाइएन, नाम लेख्नु त परको कुरा, अक्षर चिन्न पनि मुस्किल थियो ।” 

सोही ठाउँ निवासी नानुमाया श्रेष्ठले सामान्य अक्षर चिन्छिन् । क्लबले सञ्चालन गरेको प्रौढ कक्षामा सहभागी भएपछि थप जान्ने अवसर मिलेको श्रेष्ठले बताइन् । “उमेर हुँदा पढ्ने अवसर पाइएन, अहिले बुढ्यौलीमा भए पनि अक्षर चिन्ने अवसर पाउँदा एकदमै खुसी लागेको छ,” श्रेष्ठले भनिन् । 

इनरह्विल क्लब अफ दमौलीकी पूर्वअध्यक्ष एवं आश्रमकी सचिव निर्मला मल्लका अनुसार गत असोज २ देखि ८ गतेसम्म सञ्चालित प्रौढ कक्षामा १२ महिला प्रशिक्षित भएकी छिन् । “फुर्सदको समयमा ज्ञानका कुरा सिक्न पाउँदा आमाहरु हर्षित हुनुभएको छ,” उनले भनिन् । 

क्लबले गत वर्ष पनि प्रौढ कक्षा सञ्चालन गरेको थियो । त्यो बेला दश जनाले सहभागिता जनाएका थिए । यो अभियानलाई प्रत्येक वर्ष सञ्चालन गरिने रोट्रयाक्ट क्लब वेदव्यासकी पूर्वअध्यक्ष सञ्जु घलेले जानकारी दिइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै