• २०८१ बैशाख २१ शुक्रबार

जी–२० शिखर सम्मेलनमा रुसी राष्ट्रपति पुटिनको भौतिक उपस्थिति नहुने

kharibot

मस्को । विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुने भएका छन् । 

राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसकेको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ ।  

कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउने भएको वक्तव्यमा जनाइएको छ । 

पुटिनले भौतिकरूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ । 

त्यसैले राष्ट्रपति पुटिनले इटलीका प्रधानमन्त्री मारियो ड्राघीलाई नै आफ्नो निर्णयका बारेमा जानकारी गराएको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले बताए । 

सम्मेलनमा अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै