• २०८१ बैशाख २० बिहीबार

प्रचण्डका कारण बहुमतको सरकार जोगाउन सकेनौँ - एमाले सचिव गोकर्ण विष्ट

kharibot

तस्वीर : रासस

भक्तपुर । नेकपा एमालेका सचिव एवं पूर्वमन्त्री गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको आरोप लगाएका हुन् ।

नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले एमालेले समय आएपछि त्यसको समीक्षा गर्ने बताए । उनले भने, “एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्ड लगायतका व्यक्तिसँगको एकता र प्रवेशले हामीलाई कहीँ न कहीँ समस्या पैदा गर्यो, जसका कारण बहुमतको सरकार जोगाउन सकेनौँ ।”

पार्टी एकताको तीन वर्षको अवधिमा कम्युनिष्टभित्र धेरै उतावचढाव पार गर्दै एमाले अहिलेको ठाउँमा आइपुग्यो भन्दै उनले यो समयमा एमालेको जीवनमा केही तिक्तताको सामना गर्नुपरेको, केही अत्यन्त बेठीक र नमिठा अनुभूतिको सामना गर्नुपरेकाले अब विगतबाट पाठ सिक्दै एमालेलाई एकताबद्ध गर्दै अझै माथि उठाउनुपर्ने भनाइ राखे ।

सचिव विष्टले भने, “आज म उद्घोष गर्न चाहन्छु, केपी ओलीले नेतृत्व गरेको नेकपा एमाले पार्टीमा अब कुनै पनि प्रकारको प्यानल रहेन, कुनै गुट उपगुट रहेन, यो पार्टी साङ्गठानिक हिसाबले एकताबद्ध छ, यो पार्टीमा अब कुनै पनि प्रकारको गुटगत मनोविज्ञान छैन, १० औँ महाधिवेशनले यो पार्टीलाई थप एकताबद्ध बनाउँदै अगाडि लैजाने छ ।”

एक्लै चुनाव लड्ने आँट नभएर गठबन्धनको मन्त्र जपेको भन्दै विष्टले भने, “यो मुलुकमा नेकपा एमालेसँग एक्लाएक्लै निर्वाचनको मैदानमा गएर प्रतिस्पर्धा गर्नसक्ने ताकत अब कुनै पार्टीसँग छैन, कुनै पार्टीले आँट गरेको छैन, त्यसैले बिहान उठेर मुख धुनुअगाडि, राति सुत्नुअगाडि मात्रै होइन, सुतिरहेको बेलामा पनि झस्किएर गठबन्धन चुनावसम्म जान्छ भनेर सपनामा पनि बर्बराउन थालेका छन् ।”

नेकपा एमालेसँग करिब साढे दुई वर्ष प्रचण्ड मिल्दा एमालेको बलियो सङ्गठनमा खैलाबैला पार्ने कोसिस गरेको भन्दै उनले प्रचण्डले चाहेको जस्तो एमालेमा सम्भावना नरहेकाले अब कांग्रेसलाई तहसनहस पार्ने योजनामा प्रचण्ड लागेको टिप्पणी गरे ।

कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं युवा नेता महेश बस्नेतले भक्तपुरमा यसअघि नेपाल मजदुर किसान पार्टीले तीन पटक र नेपाली कांग्रेसले तीन पटक सांसद पाए पनि हुन नसकेको विकास अहिले एकै पटक भएको बताए । उनले भक्तपुरमा आएको विकासको लहर देखेर आत्तिएकाले विकास रोक्न खोजेको भन्दै उहाँले विकास नरोकिने दाबी गरे ।

त्यस अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, वाग्मती प्रदेशसभा सदस्य शशीजङ्ग थापा, एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजा, सूर्यविनायक नगरपालिका नगर प्रमुख वासुदेव थापा, वडा नं ५ का वडाध्यक्ष राजकुमार जोशी लगायतले विकास र समृद्धिमा खेलेको भूमिकाको बारेमा चर्चा गरे ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै