काठमाडौं । स्ट्राइकर विमल घर्ती मगरको दुई गोलप्रेरित मछिन्द्र क्लबले आइतबार ब्रिगेड ब्वाइज क्लबलाई ४-० ले पराजित गर्दै सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ ।
खेलको ५६औं मिनेटमा विमलले गरेको गोलमा मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले मछिन्द्रको अग्रता दोब्बर पारेका थिए । त्यसपछि खेलको ८४औं मिनेटमा मछिन्द्रका रेजिन सुब्बाले तेस्रो गोल गरेका थिए भने इन्जुरी समयको दोस्रो मिनेटमा अभिषेक रिजालले मछिन्द्रका लागि चौथो गोल गरेका थिए ।
यो जितपछि मछिन्द्र नौ खेलमा २३ अंकसहित शीर्ष स्थानमा छ । जुन समान खेल खेल्दै दोस्रो स्थानमा बसेको मनाङ मर्स्याङ्दीभन्दा चार अंक बढी हो ।
ब्रिगेड ब्वाइज भने ९ खेलमा ६ अंकसहित १२औं स्थानमा छ ।
च्यासल युथ क्लबका नौ खेलाडीमा कोभिड संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय खेल भने स्थिगित भएको छ । आज बेलुकी तय नेपाल पुलिस र च्यासल युथ क्लबबीचको खेल स्थगित भएको हो ।