• २०७९ श्रावण २७ शुक्रबार

कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रम: परिचय र समिक्षा

kharibot

लेखक: प्रकाश पाण्डे

१. पाठ्यक्रमको परिचय

बिद्यालय तह कक्षा १२ का विद्यार्थीहरूमा समाजको अध्ययनसहित जीवनोपयोगी सिप विकास गराई मानवीय मूल्य र मान्यतासहित लोकतान्त्रिक समाजमा अनुकूलन हुन सक्ने असल र सक्षम नागरिक तयार पार्ने उद्देश्यले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रम तयार गरिएको छ ।

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पाठ्यक्रमले ज्ञान, सिप, अभिवृत्ति र मूल्यको विकासमा जोड दिएको छ। अध्ययन अध्यापनमा सैद्धान्तिकभन्दा व्यावहारिक र प्रयोगात्मक पक्षमा बढी जोड दिएको छ । यस विषयका लागि साप्ताहिक ५ पाठ्यघण्टा र वार्षिक कुल १६० कार्यघण्टा छुट्याइएको छ । जहाँ विषयवस्तुमा १२० कार्यघण्टाको सैद्धान्तिक (७५%) तथा ४० कार्यघण्टाको व्यावहारिक तथा प्रयोगात्मक (२५%) अभ्यास समावेश गरिएको छ ।

२. सक्षमता र सिकाइ उपलब्धि

अनुशासन र प्रदर्शन सामाजिक अध्ययनका सक्षमता हुन्।पाँच ओटा क्षेत्र; ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा सक्षमता निर्धारण गरिएको छ । जहाँ १३ ओटा तहगत सक्षमता(  कक्षा ११ मा ३७ र १२ मा ४७ ओटा कक्षागत सिकाइ उपलब्धि ) निर्धारण गरिएको छ।
   
३. बिषय क्षेत्र

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रमका ११ ओटा बिषय क्षेत्रहरू छ्न्। यी बिषयक्षेत्र भित्र विविध बिषयबस्तुहरु समेटिएका छ्न्।

एकाइ १ : सामाजिक अध्ययन  तथा जीवनोपयोगी शिक्षाको अवधारणा
एकाइ २: जीवनोपयोगी सिपको रुपमा डिजिटल तथा सामान्य अनुसन्धान सिपहरु
एकाइ ३ : जीवनोपयोगी सिप
एकाइ ४:  समाजको विकास र दर्शन
एकाइ ५: भूगोल र सामाजिक जीवन
एकाइ ६: नेपालको इतिहास
एकाइ ७ :सामाजिक पहिचान र विविधता
एकाइ ८: संविधान र नागरिक सचेतना
एकाइ ९: शहरीकरण र बसाइँसराइ
एकाइ १०: अर्थतन्त्र र विकास
एकाइ ११ : शिक्षा  र सामाजिक विकास

४. सिकाइ सहजीकरण प्रक्रिया

सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयमा सिकाइ सहजीकरण गर्दा प्रश्नोत्तर, प्रदर्शन, समस्या समाधान, छलफल विधि, अवलोकन, खोज, अभिनय, परियोजना, प्रयोग, स्थलगत भ्रमण, घटना अध्ययन, समालोचनात्मक चिन्तन जस्ता विद्यार्थीकेन्द्रित शिक्षण विधिहरू प्रयोग गर्नुपर्छ ।

यसमा विद्यार्थीहरूलाई आआफ्ना समुदायमा खोज गरी सिर्जनात्मक प्रतिभाको विकास गर्न प्रोत्साहन गर्ने, र कथा, कविता, नाटक, समाचार, चिठी, सम्पादकीय, गीत, प्रतिवेदन, रेखाचित्र, वृत्त चित्र, स्तम्भ चित्र, तालिका, तस्बिर, नक्सा, परियोजना कार्य, क्षेत्रभ्रमण, भूमिका निर्वाह र नेतृत्व विकासजस्ता सिर्जनशील क्रियाकलापमार्फत आवश्यक ज्ञान, सिप र अभिवृत्ति विकास गराउँदै सिर्जनशीलताको विकास गराउने लक्ष्य राखिएको छ ।विद्यार्थीहरूलाई गर र सिक अनि सिक र गर भन्ने धारणाको अभिवृद्धि गराउनु सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल लक्ष्य हो ।

त्यो प्राप्त गर्न सिकाइ सहजीकरणमा परियोजना कार्यमा आधारित, सिकारुकेन्द्रित, खोज, छलफल , क्रियाकलाप र प्रयोगात्मक विधिहरूको अवलम्बन गर्नुपर्ने कुरा निर्दिष्ट गरेको छ। यसमा विद्यार्थीलाई पर्याप्त मात्रामा खोजी गर्ने, सोच्ने, तर्क गर्ने, समालोचनात्मक सोच राख्ने, बुझने, छलफल गर्ने, परीक्षण गर्ने, अनुभूति गर्ने अवसर दिने कुरामा खुला छ ।

५. विद्यार्थी मूल्यांकन

सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा  बिषयको शैक्षिक सत्रकोअन्तमा  ७५% बाहय मूल्यांकन ( लिखित परीक्षा)   र २५% आन्तरिक मूल्याकंन ( प्रयोगात्मक ) हुने व्यवस्था छ।  आन्तरिक मूल्यांकनमा ( प्रयोगात्मकमा ) कक्षा सहभागीता -३, त्रैमासिक परीक्षाको मुल्यांकन -६, परियोजना कार्य,प्रयोगात्मक कार्य,प्रतिबेदन लेखन तथा प्रस्तुती र अन्तर्वार्ता -१६ अंक हुने व्यवस्था पाठ्यक्रमले गरेको छ। तसर्थ यहि अनुसार विद्यार्थी मूल्यांकन गर्नुपर्ने छ ।

माध्यमिक तह कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रमको सबल पक्षहरु:

•  कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रमले  सक्षमता,सर्वाङ्गीण विकासको अवधारणा ,एकीकृत ,समबेसी,सहभागीतामूलक,जीवनोपयोगी र कार्यप्रती अभिमूख,सूचना तथा प्रविधि  तथा खोज र अनुसन्धानलाई  पाठ्यक्रम विकासको सैद्धान्तिक आधारहरू बनाइएको।

• सामाजिक तथा जीवनोपयोगी सीप विकास गरि लोकतान्त्रिक मूल्य र मान्यता अनुकूल असल तथा सक्षम नागरिक निर्माणमा जोड।

• पाठ्यक्रम ज्ञान, सीप ,अभिवृद्धि ,मूल्य र कार्यतत्परता जस्ता क्रियात्मक व्यवहार निर्माण गर्न सक्षमतामा (competency based) आधारित भएको ।

• सिकारुको पूर्वक्षमता, आवश्यकता, रुचि, मानसिक दक्षताका आधारमा पाठ्यवस्तुको छनोटमा सचेतता अपनाइएको ।

• पाठ्यक्रमलाई समयसापेक्ष, उपयोगी र व्यवहारमूलक बनाउने प्रयास गरिएको।

• पाठ्यक्रममा परिचय, विषयगत रूपमा अपेक्षित ज्ञान, सिप, अभिवृत्ति, मूल्य र कार्य तत्परतालाई समेटी त्यसको क्रियात्मक स्वरूपमा तहगत सक्षमता र कक्षागत सिकाइ उपलब्धि निर्धारण गरिएको।

• सिकाइको स्तर र सक्षमताको विशिष्टीकृत विस्तृतीकरण तथा अघिल्ला कक्षासँग लम्बीय सन्तुलन र अन्य विषयसँगको क्षितिजीय सन्तुलनका आधारमा विषयवस्तुको क्षेत्र र क्रम निर्धारण गरिएको । क्षेत्रअनुसार पाठ्यघण्टा र अङ्क विभाजन पनि गरिएको ।

• विषयगत विशिष्टपन र मौलिकतालाई समेटी सिकाइ सहजीकरणका विधि तथा प्रक्रिया प्रस्तुत गरिएको ।

• सामाजिक तथा जीवनोपयोगी शिक्षा विषयमा सिकाइ सहजीकरण गर्दा प्रश्नोत्तर, प्रदर्शन, समस्या समाधान, छलफल विधि, अवलोकन, खोज, अभिनय, परियोजना, प्रयोग, स्थलगत भ्रमण, घटना अध्ययन, समालोचनात्मक चिन्तन ,सिर्जनात्मक सीप विकास ,जस्ता विद्यार्थीकेन्द्रित सिकाइ सहजीकरण विधि र रणनीतिहरु प्रयोग भएको।

• पाठ्यक्रममा व्यावहारिक ,मौलिक र प्रयोगात्मक पक्षलाई बढी जोड दिइएको।

• सम्बन्धित विषयको क्षेत्र र क्रमलाई स्पष्ट गरी दैनिक जीवनसँग सम्बन्धित समस्या समाधान , निर्णय निर्माण  र समालोचनात्मक चिन्तनको विकास हुने  गरी पाठ्यक्रम तय गरिएको ।

• सामाजिक विज्ञान तथा जीवनोपयोगी सिपहरुलाई  विद्यार्थीकेन्द्रित ढंगमा एकीकृत र समन्वयात्मक रूपले हासिल हुने गरि प्रस्तुत गरिएको ।

• विद्यार्थीहरूलाई गर र सिक अनि सिक र गर भन्ने धारणाको अभिवृद्धि गराउनु सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको मूल लक्ष्य मानिएको।

• पाठ्यक्रममा आन्तरिक( २५%)र बाह्य (७५%) मूल्याङ्कनका विधि तथा प्रक्रियासमेत उल्लेख गरी विद्यार्थी मूल्याङ्कनलाई व्यवस्थित गरिएको ।

माध्यमिक तह कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षाको पाठ्यक्रमको दुर्वल पक्षहरु:

• पाठ्यक्रम सक्षमतामा (competency based) आधारित भए पनि हासिल हुन आवश्यक पर्याप्त  क्रियात्मक व्यवहारीक आधार प्रस्तुत नभएको  ।

• विद्यार्थी केन्द्रित भनिएको तर सारमा विद्वान केन्द्रित वा विद्वानबाट बिषयबस्तु थोपारिने प्रकृति नै भएको ।

• व्यवहारीक पाठ्यक्रम भनिएपनि यथार्थमा व्यावहारिक भन्दा सैद्धान्तिक धरातलमा बढी केन्द्रित रहेको भन्ने कुरा पाठ्यक्रममा २५% व्यवहारीक र ७५% सैद्धान्तिक भएकाले स्पष्ट भएको  ।

• यथार्थमा देशको सवै क्षेत्र, वर्ग, समुदाय, धर्म संस्कृतिको प्रतिनिधित्व,पहुँच ,सहभागीमूलक  र  समावेशी हुन नसकेको।

• पाठ्यक्रमको सर्वसुलभता गर्दै शिक्षकलाई स्तरिकरण र प्रबोधीकरण गरी कार्यान्वयन गर्ने सम्बन्धमा अभिमूखिकरण, तालिम दिन नसकिएको र दक्ष शिक्षकको अभाव रहेको।

• पाठ्यक्रम कार्यान्वयनको अनुगमन गर्न नसकिएको अर्थात् सुपरिवेक्षणीय सहयोग उपलब्ध,समस्या समाधान गर्न र  गराउन नसकिएको ।

• वर्तमान सूचना प्रविधिको उपयोग गर्ने तर्फ इङित गरेको ठोस व्यवस्था,आधार,र पहुँच विस्तार  गर्न नसकिएको ।

•  व्यावसायिक र प्राविधिक ज्ञान सीप (Hard skill) मा भन्दा बिषयगत ज्ञान सीप( Soft skill)मा  नै ज्यादा जोड दिएकाले अझै व्यावहारिक र व्यवसायिक हुन नसकेको।

• सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको टिचर म्यानुअल,प्रोजेक्ट हेडबूक,सामग्री निर्माण र प्रयोगको मार्गदर्शन ,सामाजिक र जीवनोपयोगी सीप विकासको पद्धति ,अभ्यास र निर्देशिका अझैसम्म  निर्माण नभएको।

निष्कर्ष

केही सिमितताका बाबजुद  सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षाको पाठ्यक्रम असल र प्रभावकारी छ तर त्यसको कार्यान्वयन कसरी हुन्छ ? पाठ्यपुस्तक कस्तो बन्छ ? शिक्षक कस्तो छ ? विद्यार्थी कस्तो छ ? सहजीकरण कसरी हुन्छ ? भन्नेमा धेरै भर पर्छ । सामाजिक र जीवनोपयोगी ज्ञान, सीप ,अभिबृती ,मूल्य र तत्परता  सिकाउन परियोजना,अवलोकन, प्रयोग, प्रदर्शन, अध्ययन ,खोज,सिर्जनात्मक कार्य तथा अनुसन्धान जस्ता क्रियाकलापमा आधारित बिधि अवलम्बन गरिएकोले व्यक्ति असल, चरित्रवान, सक्षम  नागरिक बन्ने र दैनिक जीवनका समस्याहरु समाधान गर्न सक्ने  देखिन्छ  पाठ्यक्रम आधा सैद्धान्तिक र आधा व्यवहारीक भएको भए सामाजिक र व्यवहारीक जीवनलाई अझ उत्तम र अपेक्षित बनाउँन सकिन्थ्यो । 

पढ्नै पर्ने

लोकप्रिय