• २०८१ बैशाख १५ शनिबार

आफैलाई कसरी चिन्ने ?

kharibot

प्रकाश पाण्डे

मलाई लाग्छ--भन्न सजिलो तर गर्न सबैभन्दा कठिन काम हो ---आफूलाई चिन्नु। अरुलाई चिन्ने पहिलो कसी हो-- आफूलाई चिन्नु ।

आफूलाई चिन्नु भनेको ईश्वरलाई चिन्नु हो । आत्मालाई भेट्नु हो। आफूभित्र ईश्वरको विराट रुप हुन्छ।  त्यसको अनुभूत गर्नु। यो आत्मदर्शनबाट धेरै प्रेरणा मिल्छ । यही प्रेरणाले मानिसलाई महान् बनाइदिन्छ । आत्मशक्ति एवं शारीरिक शक्तिको कल्पना तपाईं किनारमा बसेर गर्न सक्नुहुन्न । जसरी सागरको किनारमा बसेर मानिसले त्यसको गहिराइ नाप्न सक्दैन त्यस्तै अवस्था  हामीभित्रको शक्तिको पनि हुन्छ । त्यसलाई बोध गर्न आफूभित्र डुबुल्की मार्नुपर्छ। तर अहिलेका प्रविधिले त्यस्तो सोच्ने र गर्ने फुर्सद कहाँ दिन्छ्न् र ?

युवाल नोआ हरारी आफ्नो पुस्तक `२१ लेसन्स फर द ट्वेन्टी फर्स्ट सेन्चुरी' मा भन्छ्न्, " निश्चय नै किताबमा दिइएको सबैभन्दा पुरानो सल्लाह हो: 'आफूलाई चिन । यो सल्लाह एक्काइसौ शताब्दीमा तत्काल कार्यान्वन गर्न योग्य भएको छ। त्यस्तो पहिले कहिल्यै भएको थिएन किनभने आज तपाई लाओत्से र सुकरातको जमानाको भन्दा बेग्लै र अझ गम्भीर प्रतिस्पर्धाको सामना गरिरहनुभएको छ । अहिले डेटा कम्पनीहरु तपाईं र तपाईंको जैविक सिस्टम' भित्र छिर्न र अस्तित्व मेट्न खोजिरहेका छ। तर, तपाईं आफ्नो अस्तित्व र भावी जीवनमाथिको अलिकति नियन्त्रण आफ्नो हातमा जोगाएर राख्न चाहनुहुन्छ भने, तपाईंले एल्गोरिदमहरू भन्दा, अमेजन र सरकार भन्दा छिटो दगुर्नुपर्छ, उनीहरूले तपाईंलाई जान्नु चिन्नुभन्दा पहिले तपाईंले स्वयं आफूलाई जान्नु चिन्नुपर्छ । तपाईले निकै छिटो दगुर्नुपर्नेछ, त्यसैले धेरै झोला झ्याम्टा नबोक्नुहोला । आफ्ना सबै भ्रम छोडेर जानुहोला, ती अचाक्ली भारी छन् ।" यसकारण अब यो बिषय बिशेष भएर अगाडि आएको छ।

मुनि वशिष्ठ भन्छ्न,  “शक्तिहीन मानिसको जीवन व्यर्थ हुन्छ ।” सुषुप्त शक्तिलाई जगाउन आफूलाई चिन्नु जरुरी छ। शक्ति स्वयं व्यक्तिभित्रै छ ।  बस ! त्यसलाई चिनेर जगाउनु पर्छ ।

यहाँ चुनौती नै अवसर बनेका उदाहरण प्रशस्त भेटिन्छ्न्। हामीभित्र अपार शक्ति हुन्छ। कैयौंपटक यस्तो पनि हुन्छ कि कर्मक्षेत्रमा संकट या कष्ट आयो भने अचानक हाम्रो गुप्त शक्ति जाग्छ। जसरी करेन्ट घुम्रेको टन्स्टेन धातुमा पुग्छ एक्कासि प्रकाश र ताप दिन्छ।  यसर्थ हामी त्यो संकटको सामना गर्न तयार रहनुपर्छ । त्यही क्रममा के थाहा हाम्रो तेस्रो नेत्र पो खुल्छ कि।

जर्ज बर्नाड शाले आफ्नो पहिलो रचना प्रकाशित गर्नका लागि पठाए तर त्यो रचना फर्केर आयो । शाको मनमा यसले ठेस पुर्‍यायो। उनलाई  उदासी र चिन्ताले घेर्यो, तैपनि शाले यस्तो प्रतिज्ञा गरे कि उनी एकदिन महान् नाटककार भन्नेछ्न् । अन्ततः उनी बनेर छोडे । बास्तवमा यही नै आन्तरिक शक्तिको फल थियो ।

हामीले सुनेका छौं -एक जीवित मानिसको अस्तित्वमा ब्रह्माण्डको सबै रहस्य लुकेको हुन्छ । हामीले आफ्नो अस्तित्व बुझ्न सक्यौँ भने सम्पूर्ण ब्रह्माण्ड बुझ्न सक्छौं ।’ ‘गीता’ मा श्रीकृष्णले आफूभित्र ब्रह्माण्ड छ भनेका छ्न्।  मलाई लाग्छ-- मानव जीवनको एउटा अणुको मात्रै पूरा डाइनामिजम वा गतिशीलता बुझ्न सक्ने हो भने पूरै ब्रह्माण्ड बुझ्न सकिन्छ  । बास्तवमा हामी ठूलाठूला कुरा जानेको/बुझेको जस्तो गर्छौं, तर आफूले लिने साधारण श्वास, जुन झन्डै हाम्रो जीवितताको आधारभूत मापन हो, त्यसको डाइनामिजम वा गतिशीलता अलिकति पनि बुझेका हुँदैनौं। म को हो ? भन्ने आधारभूत प्रश्नको बोधबाट हामी सदियौ देखि निरन्तर  बन्चित छौं । आफूलाई चिन्न चाहिने चेतना अहिले आधारभूत चेतना हुनुपर्छ नत्र कसैले हामीलाई अरु दास बनाउने र सजिलै शासन गर्नछ।

भनिएकै छ--तिमी त्यही गर जो तिमीलाई गर्न मन छ। त्यसमा तिमीलाई आनन्द प्राप्त हुन्छ। स्टिब जब्सले भनेका छ्न्- आत्माको आवाजलाई सून र त्यही आवाज अनुसार अगाडि बढ। त्यस्तै पाओलो कोएलो भन्छ्न् - तिम्रो अन्तर इच्छा पूरा गर्न सारा ब्रह्माण्ड लाग्छ तिमीलाई बेला बेला लक्षण प्राप्त हुन्छ त्यसलाई पछ्याउ।

थेल्स भन्छ्न् - जीवन कै सबैभन्दा कठिन काम भनेकै आफूलाई जान्नु हो। आफूलाई जानेपछी मात्र जगतलाई जान्नु र बुझ्नु बढी बैज्ञानिक हुन्छ।इरिक इरिक्सन -जति धेरै तिमीले आफूलाई चिन्छौं त्यतिनै अरुमा कसरी हेर्ने भनेर धैर्य कायम गर्न सक्छौं । हो, आफूलाई चिन्ने दुई सर्त धैर्य र आन्तरिक निरीक्षण हो। यसको निरन्तर अभ्यास गर्नुपर्छ। अगस्टे कम्टेले आफूलाई जान्नु नै आफूलाई सुधार गर्नु भनेका छ्न्। बास्तबमा परिवर्तन र रुपान्तरण आफैबाट शुरु गर्नुपर्छ। सुन त्जु भन्छ्न् --तिम्रोले शत्रुलाई चिन्यौं र आफैलाई जान्यौं भने बिना संकट  सयौं युद्ध जित्न सक्छौं।अस्तित्वबादिहरुले भनेका छ्न्-- बिषयगत तत्वले स्व(Self) को विकास गराउँछ । मानिस जब स्व सचेत बन्दछ उसले आफ्नो स्वको पान गर्दछ र अन्तमा उसले हुनु ( Being) को ज्ञान प्राप्त गर्दछन् । सोच्नु,हेर्नू र हुनुको बोध र अभ्यासले हामीलाई चिन्न मद्धत गर्दछ।

अहिले विद्यालयले सिकाउने कुरा भनेको -- आफैलाई चिन्न हो । नत्र इतर विचारकहरुले नियन्त्रण गरेर आफ्नो अस्तित्वमा धावा बोल्नसक्छ। आफूलाई चिनेर लक्ष्य तय गरि सहि कार्यक्रम मार्फत अगाडि बढ्दा सफलता अवश्य पाइन्छ अन्यथा राम जाने । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै