• २०८१ बैशाख १५ शनिबार

आफ्नै आकाश, आफ्नै प्रकाश !

kharibot

लेखक: प्रकाश पाण्डे

मान्छे, एक्लै जन्मिन्छ । एक्लै मर्छ । तर जीवनको अवधिमा धेरै घेराबन्दीमा हुन्छ । रुसोले भनेकै थिए, मानिस स्वतन्त्र जन्मन्छ तर सर्वत्र साङ्लोले बाधिन्छ । मान्छे, एक्लो भएर स्वतन्त्र हुन्छ । स्वतन्त्र भएर एक्लो हुन्छ । एक्लोपना उसको निजत्व हो, प्रेम हो । आफैलाई खोजी गर्ने सुन्दर वातावरण हो । एक सुनौलो अवसर हो । यसै सिलसिलामा कान्तिपुरको कोशेलीमा लेखक सरस्वती प्रतीक्षाले एउटा गजबको लेख लेखिन, एक्लै, सिर्फ एक्लै !

उनी भन्छिन्, एकान्तको खोजी स्वयंको खोजी हो, जीवनको खोजी हो,अनन्त सुख र शान्तिको खोजी हो । एकान्तको खोजी भनेकै ज्ञानको खोजी हो जो बुद्धले खोजेथे । त्यसबाट पाएथे आत्मीक ज्ञान । पत्तालगाए सुत्रवाक्य वा मन्त्र- अप्प दिपो भव: अर्थात आफ्नो दिप आफै बन ! संसार उज्यालो छ । त्यो उज्यालो पार्ने दिप आफैसँग छ । आफैलाई चीन । आफूलाई उत्खनन गर भन्ने कुरा ज्यादै पुरानो हो । त्यो अहिले  पुनः धेरै प्रखर भएर आयो । अझ यो आउनेछ । उदाउने छ । अहिले मान्छे अरुलाई चिन्नेमा  र अरुले आफ्नो परिचय गरिदिएकोमा मस्त र व्यस्त छ ।

जसरी हर पथरमा आगो लुकेको हुन्छ, हर करेन्टमा प्रकाश छिपेको हुन्छ, हर अँध्यारोमा समेत प्रकाशको आशा र आभास मिल्छ, त्यसरी नै मान्छे भित्र सूर्य लुकेको हुन्छ, प्रज्वलन लुकेको हुन्छ । त्यसको आभास पाएर उत्खनन गर्न जान्ने हो भने उज्यालोको लागि भौतारिरहनु पर्दैन् । दुखी हुनु पर्दैन् । आफ्नै आकाश भित्र, आफ्नै प्रकाश मिल्छ । सुख र आनन्द मिल्छ । अब आफू भित्रको आकाश कसरी खोज्ने र त्यसभित्रको सूर्य र प्रकाश कसरी पत्तालगाउने त्यो मूख्य कुरा हो ।

यहाँ आकाश भन्नाले व्यक्तिको आन्तरिक बुझिनसक्नु तर बुझ्नुपर्ने  बिहङगम स्व संसार वा स्व ब्रह्माण्ड हो । त्यसको यात्रा गर्नु आवश्यक छ । यात्राका साधन र साध्यहरु- सोच्ने, अवलोकन गर्ने, अनुभाव गर्ने, हुने वा बन्ने प्रक्रियाहरु हुनसक्छ्न् । यसको एकान्तिकता आधार पृष्ठभुमि हो । स्व र स्वदृष्टिको उपस्तिथि र प्रयोग अनिवार्य । आफ्नो आकाश र प्रकाशको प्रदिप्ति ।

जसरी सूर्यमा न्युक्लियर फ्युजन भएर अपार शक्ति निस्किन्छ र त्यहि ताप र प्रकाशले उर्जामय बनाउँछ पृथ्वी । त्यसरी नै आन्तरिक स्व शक्ति, प्रक्रिया र तत्वले निकाल्छ प्रकाश र उज्जिल्याउँछ देह, देखिन्छ सत्य र नासिन्छ अन्धकार । तर आन्तरिक शक्तिको स्रोत के हो ? कसरी पैदा हुन्छ उर्जा ? हजारौं बर्षको खोजको उत्तर  छ- फर्किनु पर्छ आफैतिर । आफ्नो स्वतिर । आफ्नो एकान्ततिर । आफ्नो आत्मातिर । स्व उर्जालाई जगाउनु पर्छ । अवलोकन गर्नुपर्छ आफ्नो स्वलाई । ज्ञान, प्रज्ञा र उच्च चेतनाको आन्तरिक आँखाले हेर्नुपर्छ । आफ्नो उर्जालाई चिन्न अवलोकन गर्नुपर्छ आफूलाई एकान्तमा लिन गर्नुपर्छ । जो बुद्धले गरे, महावीरले गरे, जैनले गरे, रामले गरे, क्राइष्टले गरे । एकान्तमा रहेर आफूसँग भएको आन्तरिक  शक्तिलाई रुपान्तरण गर्दै  न्यूटनले गुरुत्वकर्षणको नियम पत्तालगाए, आइन्सटाइन्सले ब्रह्माण्ड संचालनको सुत्र पत्तालगाए, एडिसनले विद्युतीय चिम बनाए, फेराडेले विद्युत बनाए ।  किनकी आफ्नो आकाश र प्रकाश उनिहरुले राम्ररी चिने र त्यही अनुसार कर्म गरे ।

हामीसँग आफ्नै रङ छ । गन्ध छ । सुगन्ध छ । मन छ । हृदय छ । आत्मा छ । विश्वास छ । ज्ञान छ । विज्ञान छ । भित्री आकाश छ । प्रकाश छ । चेतनाको दियो बालेर शक्तिको जागरण गर्नु छ त्यसको लागि  चाहिन्छ, इच्छा शक्ति, आत्मविश्वास, लगातार नियमपूर्वक अभ्यास, धैर्य, आन्तरिक उत्खनन, चैतन्य, कार्य ।

तर हामी जस्तो मान्छेको लागि सबैभन्दा कठिन काम हो- आफ्नै आकाश, आफ्नै प्रकाश पत्तालगाउनु र आफूभित्रको अन्धकारको नष्ट गर्नु र अरुलाइ उज्यालो पार्नु ।

एउटा प्रसङ्गको कुरा गरौँ,

सन् १९५७ को कुरा हो, थाइल्यान्डमा एउटा गुम्बाका सदस्यहरूलाई माटोद्वारा निर्मित एक विशाल बुद्धको मूर्तिलाई एक नयाँ स्थानमा स्थानान्तरण गर्ने कार्य सुम्पिएको थियो । त्यही बेला क्रेनले मूर्तिलाई उच्चाल्न थालेपछि धेरै गह्रौ भएको हुनाले मूर्ति ठाउँ ठाउँमा चर्किन थाल्यो । त्यसमाथि झन् नराम्रोसँग मुसलधारे पानी पर्न थाल्यो मूर्ति अब अत्यन्त नराम्रोसँग बिग्रने डरले गर्दा उनीहरूले त्यस मूर्तिलाई जमिनमा नै राखे र त्यसमाथि वर्षा ओढाइदिए र बिहान भएपछि मात्र काम थाल्ने निश्चय गरे । त्यसै रात एकजना भिक्षुले फोकस लाइट बालेर मूर्तिको निरीक्षण गर्न थाले, उनले त्यस मूर्तिको माटो चर्किएको र चिरा परेको ठाउँभित्र केही कुरा चम्किरहेको महसुस गरे । उत्सुकता बढ्दै गएपछि उनले छिनो र हथौडा लिएर माटो खुकंन थाले । आखिरमा धेरै नै माटो हटाइसकेपछि उनले के थाहा पाए भने माटोद्वारा निर्मित भनिएको त्यो प्रतिमा वास्तवमा माटोद्वारा निर्मित नभएर सुनद्वारा निर्मित एक विशाल प्रतिमा पो रहेछ ।

धेरैजसो इतिहासकारहरू के विश्वास गर्दछन् भने शताब्दियौ अगाडि बर्मेली सैनिकहरूको कुदृष्टिबाट बचाउन थाई भिक्षुहरूले बुद्धको त्यस सुनको विशाल प्रतिमालाई माटो लेपन गरेर लुकाएका थिए । युद्धमा त्यो रहस्य थाहा पाउने सबैजसो थाई भिक्षुहरू मारिए । युद्ध समाप्तिपश्चात् सन् १८५७ मा आएर मात्र त्यो बुद्ध प्रतिमाको रहस्य पत्ता लाग्यो । आज त्यो बुद्धको प्रतिमा थाइल्यान्डको एउटा मन्दिरमा स्थापित गरिएको छ र सर्वसाधारणलाई दर्शन गर्न खुल्ला गरिएको छ ।

त्यो बुद्धको प्रतिमामा छिपेको अमूल्य निधिजस्तै हामी सबैमा पनि केही बन्न सक्ने विलक्षण प्रतिभा, चम्किलोपना र अकूत सम्पत्ति लुकेको छ, अन्तर्निहित छ । तैपनि जीवन सङ्ग्राममा जुझ्नु परेकाले, आफ्नो स्वलाई बोध गर्न नसक्दा हामीभित्र लुकेका ती प्रतिभाहरूसम्म आफ्नो दृष्टि पु-याउन हामीलाई कठिनाइ महसुस भइरहेको छ ।  बुद्धको मूर्तिमा लगाएको माटोको लेप जस्तै हामीलाई समाज र सांसारिक जगतको लेप लगाएको हुँदा त्यो खोलेर भित्र नहेर्दा भित्री प्रकाश देख्न नसकिएको हो ।

भनिन्छ, एक जीवित मानिसको अस्तित्वमा ब्रह्माण्डको सबै रहस्य लुकेको हुन्छ । हामीले आफ्नो अस्तित्व बुझ्न सक्यौँ भने सम्पूर्ण ब्रह्माण्ड बुझ्न सक्छौं । स्व बुझ्यौ भने संसार बुझ्छौँ ।  यो कुरा ‘गीता’ मा श्रीकृष्णले आफूभित्र ब्रह्माण्ड छ भनेकोबाट पुष्टि हुन्छ ।  मलाई लाग्छ, मानव जीवनको एउटा अणुको मात्रै पूरा डाइनामिजम वा गतिशीलता बुझ्न सक्ने हो भने पूरै ब्रह्माण्ड बुझ्न सकिन्छ । बास्तवमा हामी ठूलाठूला कुरा जानेको/बुझेको जस्तो गर्छौं, तर आफूले लिने साधारण श्वास, जुन जीवितताको आधारभूत मापन हो, त्यसको डाइनामिजम वा गतिशीलता अलिकति पनि बुझेका हुँदैनौं । म को हो ? किन धर्तीमा आए ? भन्ने जस्ता आधारभूत प्रश्नहरुको बोधबाट हामी सदियौ देखि निरन्तर  बन्चित छौं । आफूलाई चिन्न चाहिने चेतना अहिले आधारभूत चेतना हुनुपर्छ नत्र कसैले हामीलाई अरु दास बनाउने र सजिलै शासन गर्नछ । चेतनाको स्तरिकरण मार्फत आन्तरिक शक्तिको पहिचान र प्रयोग गर्न सकिन्छ ।

भनिएकै छ, तिमी त्यही गर जो तिमीलाई गर्न मन छ । त्यसमा तिमीलाई आनन्द प्राप्त हुन्छ।  आत्माको आवाजलाई सूनेर  त्यही आवाजको भाव अनुसार अगाडि बढ्ने हो भने सफलता हात लाग्छ। पाओलो कोएलो भनाई 'तिम्रो अन्तर इच्छा पूरा गर्न सारा ब्रह्माण्ड लाग्छ तिमीलाई बेला बेला लक्षण प्राप्त हुन्छ त्यसलाई पछ्याउ ।' भन्ने कुराले आन्तरिक र बाह्य शक्तिको जोडले हामीलाई एकीकृत र सत्य तिर डोहोर्‍याउछ ।

थेल्स भन्छ्न्, जीवन कै सबैभन्दा कठिन काम भनेकै आफूले आफूलाई जान्नु हो । आफूलाई जानेपछि मात्र जगतलाई जान्नु र बुझ्नु बढी बैज्ञानिक हुन्छ । आफ्नो बोध नभैकन जगतको बोध गर्छु भन्नू असान्दर्भिक हुन्छ । इरिक इरिक्सन, जति धेरै तिमीले आफूलाई चिन्छौं त्यतिनै अरुमा कसरी हेर्ने भनेर धैर्य कायम गर्न सक्छौं । हो, आफूलाई चिन्ने दुई सर्त धैर्य र आन्तरिक निरीक्षण हो। यसको निरन्तर अभ्यास गर्नुपर्छ । अगस्टे कम्टेले आफूलाई जान्नु नै आफूलाई सुधार गर्नु भनेका छ्न् । बास्तबमा परिवर्तन र रुपान्तरण आफैबाट शुरु गर्नुपर्छ । सुन त्जु भन्छ्न्, तिम्रोले शत्रुलाई चिन्यौं र आफैलाई जान्यौं भने बिना संकट सयौं युद्ध जित्न सक्छौं । अस्तित्वबादिहरुले भनेका छ्न्, बिषयगत तत्वले स्व (Self) को विकास गराउँछ । मानिस जब स्व सचेत बन्दछ उसले आफ्नो स्वको पान गर्दछ र अन्तमा उसले हुनु (Being) को ज्ञान प्राप्त गर्दछन् । सोच्नु, हेर्नू र हुनुको बोध र अभ्यासले आफूलाई चिन्न मद्धत गर्दछ । आफ्नो आत्माको आलोकको पहिचान गर्न मद्धत गर्दछ ।

यसो हेर्दा आकाश शून्य लाग्छ तर यथार्थमा शून्य छैन् त्यहाँ टाईम र स्पेश छ । त्यस्तै हामीभित्र शून्य छ जस्तो लाग्नसक्छ तर त्यहाँ आत्मा छ । आत्मा प्रदिप्त र जैविक छ । आत्माज्ञानले हामीलाई निर्वाण प्राप्त हुन्छ । प्रत्येक शास्त्रमा निर्वाण प्राप्त गर्नु मानव जीवनको मुख्य लक्ष्य उल्लेख गरिएको छ । त्यस्तै आफ्नै आकाश भित्र रहेको प्रकाशको ज्योतिले अन्धकारलाई नाश गर्दै ध्यानमार्फत लक्ष्यमा पुग्नु बान्छित हुन्छ भन्ने कुरा उल्लेख गरिएको छ ।

सयौं बर्षको खोजको निष्कर्ष छ, हामी आफूलाई समय नदिएर अरुलाई दिन्छौ, ज्ञान पनि त्यही गर्छौ, एकान्तको कुनै अभ्यास छैन्, आफ्नो स्वको केहि मतलब छैन्, स्वतन्त्रताको केही वास्ता छैन्, आत्मलाप कहिल्यै  गर्दैनौ, चैतन्यको बाटो कहिल्यै  हिड्दैनौं, आत्मज्ञानको खोजी गर्दैनौं, खोजिरहन्छौ बाहिर कतै सुख र सुगन्ध कस्तुरीले विना खोजेजस्तै । मृगले मरुभूमिमा पानी खोजेजस्तै । छिन मै हाँस्छौ र छिन मै रुन्छौ, बबुरो जस्तै । यौन र सुरक्षाको निम्ति जस्तोसुकै हर्कत गर्छौं । यी दुई बाहेक अरु कुरा नभएको जस्तो गर्छौ । बुद्धको अष्टाङ्ग मार्गको बेप्रवाह गर्छौ । दुखको अन्त्यको खोजी गर्दैनौं ।

तर हाम्रा ज्ञानी, सन्त र ऋषिमूनिले त्यसो गरेनन् । एकान्त खोजे । स्वच्छ र शान्त वातावरण रोजे । त्यही क्रममा हिमालमा गए, ध्यान गरे, धैर्य गरे, तपस्या गरे, कठोर साधना गरे, उपवास गरे, एकान्तिकतामा रमाए, स्वको खोज गरे र पत्ता लगाए- आफ्नै आकाश, आफ्नै प्रकाश । त्यही प्रकाशले आफू उज्याला भए र हामीलाई पनि उजिल्याय र खोज्न सिकाए, आफ्नै प्रकाश । निर्वाणमा लीन भए । मानव जीवनको गन्तव्य मुक्ति वा समाधि  वा निर्वाण हो भनि तय गरि बाटो र प्रक्रिया देखाइदिए । र अन्तिम निष्कर्ष निकाले- अंहम ब्रमास्मी ! त्यस्तै  ईश्वरीय कल्पनामा र भक्तिमा लीन गराउँन सिकाए । स्वलाई परात्मासँग एकीकृत गराउँने तरिका बताए । हामीलाई अर्थपूर्ण  हिसाबले आत्मज्ञान, चैतन्य र तत्वबोधको साथ सत् चित् आनन्दको अवस्था सहित जिउँन सिकाए । आफ्नै आकाश ,आफ्नै प्रकाशमा रम्न सिकाए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै