• २०८१ बैशाख २४ सोमबार

किसानको रोजाइमा खुमल ४, खुमल ११ र चाइनुङ २४२

kharibot

काठमाडौँ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले धानका नयाँनयाँ जात सिफारिस गरिरहँदा किसानले भने झन्डै चार दशकपहिले सिफारिस धानको बीउ नै बढी रुचाएको पाइएको छ ।  

किसानले मसिनो चामलका लागि खुमल ४ र मोटोमा खुमल ११ र चाइनुङ २४२ बढी रुचाएका छन् ।

काठमाडौँका स्थानीयवासीले खुमल ११ र चाइनुङ २४२ बढी रुचाउने गरेको नार्कको राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रका प्राविधिक सहायक राजनप्रसाद घिमिरेले बताए । चाइचुङ २४२ पाँच–छ टनसम्म उत्पादन रहेको छ ।

खुमल ११ र चाइचुङ बढी मात्रामा चिउरामा र कतिपयले स्थानीय जातका जाँडका लागि प्रयोग गर्छन् । उनले भने, “टाइचिन खानका लागि आडिलो पनि छ ।” 

चाइचुङ २४२ र खुमल ४ झन्डै ३८ वर्षपहिले सिफारिस भएको बीउ भए पनि अहिलेसम्म रुचाएको पाइन्छ ।

खुमल ११ विसं २०६३ मा सिफारिस भएको थियो र आज पनि किसानमाझ उत्तिकै लोकप्रिय छ । मञ्जुश्री एक वर्षभन्दा बढी समय किसानले नरुचाएको उहाँले बताउनुभयो । खुमल ८ पनि किसानले उत्तिकै रुचाएका छन् । उनले भने, “रोग लागे पनि हामी लगेर रोप्छौँ भन्ने गरेका छन् ।” 

नार्क केही समयपहिले मात्रै खुमल १२ सिफारिस गरेको थियो भने खुमल १६ सिफारिसको क्रममा छ ।

खुमल १६ प्राविधिक सिफारिस भइसकेको छ र यसको अनुमोदन मात्रै बाँकी छ । यसलाई खुमल बासमती नामाकरण गरिएको छ । 

पछिल्लो पटक सिफारिस भएको खुमल १२ केही किसानसम्म पुर्याउदा  उनीहरुले रुचाएको पाइएको छ ।  

मसिनो जातको यो धानको बीउबाट उत्पादन प्रतिहेक्टर चारदेखि साढे चार टन छ । बोटको उचाइ एक सय सेन्टिमिटरभन्दा बढी छ । 

नार्कका देशभरका विभिन्न स्थानमा रहेका कार्यालयले त्यहाँका लागि लक्षित गरी कृषि उत्पादनको अध्ययन, अनुसन्धान गर्दै आएका छन् ।

खुमलटारस्थित केन्द्रले मध्यपहाडी जिल्लाहरुका लागि लक्षित गरी अध्ययन गर्दै आएको छ । 

नार्कले स्रोत बीउ उत्पादन गर्छ र स्रोत बीउबाट प्रजनन बीउ उत्पादन हुन्छ । स्रोत बीउबाटै मूल बीउ निस्कन्छ ।

नार्कले पहिले जिल्ला कृषि विकास कार्यालयलाई स्रोत बीउ दिनेको गरेकामा अहिले कृषि ज्ञान केन्द्र, पालिकाका कृषि महाशाखा वा शाखा वा कृषि सहकारी दिने गरेको प्राविधिक सहायक घिमिरेले बताए । उनले भने, “कार्यालय वा सहकारीले उनीहरुले लगेर मूल बीउ उत्पादन गरेपछि त्यसपछि किसानले पाउँछन् ।” 

नार्कले अध्ययन, अनुसन्धान गर्दा राम्रो नतिजा दिने बीउ सिफारिस गर्दै आएको छ ।

यहाँबाट किसानलाई सोझै दिने नभए पनि कतिपय किसान भने नार्कले नै सोझै बीउ दिन्छ भन्ने भ्रममा छन् ।

उनले भने, “हामीले यहीँबाट बीउ पाउनुपर्छ भनेर कतिपय लडाइँ गर्न आउँछन् ।”

मध्यपहाडका लागि केन्द्रसँगै दोलखास्थित कार्यालयले पनि बीउमा अध्ययन र सिफारिस गर्छ

। तराईमा धानबालीमा अध्ययन गर्ने नार्कका कार्यालय धेरै छन् । ती सबैले उत्पादन गर्ने भए पनि सोझै बिक्रीवितरण गर्दैनन् । 

मध्यपहाड नौ सयदेखि एक हजार पाँच सय मिटर उचाइसम्म खुमलका सबै जात लाग्ने प्राविधिक सहायक घिमिरेले बताए ।

खुमल २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५ र १६ नार्कले सिफारिस गरिसकेको छ । तराईमा धानका धेरै जात रहेका छन् ।

उच्च पहाडका लागि चन्दननाथ, १ र २ रहेका छन् । जुम्ली मार्सी, माछापुच्छ्रे पनि उच्च पहाडमा लाग्ने उनले बताए ।

कृषि वनस्पति शाखाले बीउको अध्ययन गरेर केही कृषि ज्ञान केन्द्रमा राख्ने गरेको छ ।

उत्पादन कम भए पनि किसानले खानका लागि खुमल ४ रुचाएको पाइन्छ ।

खुमल ८ बीउ रोप्दा नलड्ने हुँदा किसानले रुचाइएको प्राविधिक सहायक घिमिरेले बताए ।

विसं २०६३ मा सिफारिस भएर १२ वर्षसम्म राम्रो उत्पादन दिएको खुमल ८ मा रोगको समस्या भए पनि किसानले रुचाएको पाइन्छ ।

उनले भने, “यसले हाइब्रिड सरह उत्पादन दिन्छ तर तीन वर्ष पहिलेदेखि समस्या देखिरहेको छ ।” 

किसानमा भारत र चीनबाट आउने हाइब्रिड बीउप्रतिको रुचि बढी छ । हाइब्रिड कुनै वर्षमा धेरै राम्रो फल्छ भने कुनै वर्षमा बाला नै नलाग्ने समस्या देखिएको छ ।

गत वर्ष केही स्थानमा हाइब्रिड धान पूरै बिग्रिएको थियो । मध्यपाहाडका लागि अहिले भर्खर हाइब्रिड सिफारिस गर्ने नार्कको तयारी रहेको छैन ।

तराईका लागि नार्कले नै हर्दिनाथ १ र हर्दिनाथ २ सिफारिस गरेको थियो । नार्कले किसानलाई हाइब्रिड नगर्न भन्दै आएको छ र यो वर्ष  सरकारले पनि रोक लगाएको छ । नार्कले अहिलेसम्म सिफारिस बीउ खुमल १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, चाइनुङ २४२, टाइचुन १७६, मञ्जुश्री लगायतका बीउ सिफारिस गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै