• २०८१ बैशाख २८ शुक्रबार

फ्रान्सको संकट बढ्यो, पोग्वाले विश्वकप गुमाउन सक्ने !

kharibot

काठमाडौँ । युभेन्टसबाट खेल्ने फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले विश्वकप गुमाउने सक्ने आशंका गरिएको छ ।

घुँडाको शल्यक्रिया गरेर रिकभरको प्रक्रियामा रहेका पोग्वाको पछिल्लो इन्जुरीका कारण कम्तिमा १५ दिन मैदान बाहिर रहने बताइएको छ । उनको दाहिने खुट्टाको मांसपेशीमा समस्या आएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

उनको यो इन्जुरीपछि युभेन्टसको टिममा उनको पुनरागमन अझै लम्बिने भएको छ । उनी फ्रान्सको विश्वकप टिममा पर्न आफ्नो फिटनेसमा काम गरिरहेका बेला नयाँ इन्जुरीले उनको विश्वकप खेल्ने विषय थप अन्योलमा परेको छ । विश्वकप शुरु हुन तीन साता भन्दा कम समय बाँकि रहेको अवस्थामा उनी फ्रान्सको टिममा पर्ने विषयमा आशंका व्यक्त गरिएको छ ।

उनी इन्जुरीका कारण यस सिजनमा खेलेका छैनन् । उनले गत सेप्टेम्बरमा आफ्नो घुँडाको अप्रेशन गरेका थिए । पोग्वाको नयाँ इन्जुरीले फ्रान्सको टिमलाई नयाँ संकट थपेको छ । फ्रान्सले इन्जुरीका कारण चेल्सीबाट खेल्ने एन्गोलो कान्टेलाई विश्वकपमा गुमाइसकेको छ ।

फ्रान्सले नोभेमबर ९ मा विश्वकपमा खेल्ने टिमको घोषणा गर्ने तयारी गरेकोमा त्यसअघि नै पोग्वाले आफ्नो फिटनेस प्रमाणित गर्नुपर्ने भएको छ । विश्वकपमा समुह डी मा रहेको फ्रान्सले आफ्नो पहिलो खेल नोभेम्बर २२ मा अस्ट्रेलियासँग खेल्ने तालिका रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै