• २०८१ बैशाख १८ मंगलबार

लिभरपुल फुटबल क्लब किन्ने प्रयासमा मुकेश अम्बानी

kharibot

काठमाडौँ । भारतीय धनाड्य व्यक्ति तथा रिलायन्स इन्डस्ट्रिजका मालिक मुकेश अम्बानीले छिट्टै इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल किन्न सक्ने मिडिया रिपोर्ट बाहिर आएको छ । द मिररको रिपोर्ट अनुसार मुकेश अम्बानी लिभरपुल फुटबल क्लब किन्ने दौडमा सामेल भएका छन् ।

रिपोर्टका अनुसार लिभरपुलको स्वामित्वमा रहेको फेनवे स्पोर्ट्स ग्रुप (एफएसजी) ले क्लब बेच्ने तयारी सुरु गरेको छ । एफएसजीले लिभरपुल एफसीलाई बेच्न ४ अर्ब पाउण्डको मुल्य तोकेको छ । अर्थात् अम्बानीले फुटबल क्लब किन्न यति धेरै रकम तिर्नुपर्नेछ । रिपोर्टमा मुकेश अम्बानीले लिभरपुल क्लब किन्न इच्छुक रहेको दाबी गरिएको छ ।

फोर्ब्सका अनुसार अहिले अम्बानीको कुल सम्पत्ति ९०.७ बिलियन डलर रहेको छ । अन्य व्यवसायका अलावा खेलकुद क्षेत्रमा पनि अम्बानीले ठुलो लगानी गरिरहेका छन् । चर्चित आइपिएल मुम्बई इण्डियन्स अम्बानीकै हो ।

इङ्ल्यान्डको लोकप्रिय फुटबल टोली लिभरपुललाई प्राप्त गर्न अम्बानीले मध्यपूर्व र अमेरिकाका अन्य लगानीकर्ताहरूबाट यो दौड जित्नुपर्ने बताइएको छ ।

अम्बानीले यसअघि सन् २०१० मा सहारा इन्डियाका अध्यक्ष सुब्रत रोयसँग मिलेर लिभरपुललाई किन्न प्रयास गरेका थिए तर त्यो सफल भएन । त्यसपछि फेनवे स्पोर्ट्स ग्रुपले लिभरपुल क्लबलाई अधिग्रहण गर्यो । प्रतिवेदनका अनुसार फुटबल टोली बेच्नका लागि लगानी बैंकिङ फर्म गोल्डम्यान स्याक्स र वित्तीय सेवा फर्म मोर्गन स्टेनलीलाई काममा लगाइएको छ ।

रिपोर्टका अनुसार रिलायन्सका अध्यक्ष अम्बानी विश्वकै सबैभन्दा सफल क्लब मध्येको एक लिभरपुललाई थप बलियो बनाउन टोलीमा लाखौं डलर लगानी गर्न इच्छुक रहेको बताइएको छ ।

रिलायन्स कम्पनीसँग पहिले नै ३ देशमा तीनवटा टी–२० टोली छन् । यसमा भारतमा आइपिएल टिमका अलावा युएई र दक्षिण अफ्रीकाको टी-२० लिगमा पनि अम्बानीको लगानीको टिम रहेको छ ।

यसका साथै फुटबलमा पनि उनको लगानी रहेको छ । अम्बानी अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) को व्यावसायिक साझेदार हुनुको अलावा इन्डियन सुपर लिग फुटबल प्रतियोगिता पनि आयोजना गर्ने गर्दछन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै