• २०८१ बैशाख १४ शुक्रबार

विश्वकप फुटबलमा २० बर्षदेखि युरोपको दबदबा, मेसी र नेइमारलाई चुनौती

kharibot

काठमाडौँ । फिफा विश्वकप फुटबल नजिकिदै गर्दा यस बारेको चासो पनि बढिरहेको छ । यसपटक युरोपको दबदबा टुट्ने हो वा होइन भन्ने चर्चा उत्तिकै रहेको छ ।

विगत २० वर्षदेखि युरोपेली राष्ट्रहरूले फिफा विश्वकपमा आफ्नो एकाधिकार कायम राखेका छन् । सन् २००२ मा पछिल्लो पटक युरोप बाहिर दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्व च्याम्पियन बनेको थियो । त्यसयता युरोपेली देशहरूले ब्राजिल र अर्जेन्टिनालाई प्रत्येक विश्वकपमा उपाधिका दावेदार भए पनि फिफा ट्रफीबाट टाढा नै रहेका छन् । नेइमार र लियोनल मेसीको नेतृत्वमा ब्राजिल र अर्जेन्टिना कतारमा आफ्नो दाबी पेश गर्न आएपछि २० वर्षदेखि चलिरहेको युरोपेली वर्चस्वलाई तोड्ने चुनौती दुवै देशलाई हुनेछ ।

सबैभन्दा धेरै पाँच पटक (१९५८, १९६२, १९७०, १९९४ र २००२) विश्व च्याम्पियन ब्राजिल र दुई पटकको उपाधि विजेता अर्जेन्टिना (१९७८, १९८६) यस पटक पनि जितका प्रबल दावेदार हुन् । द्रुत र आक्रामक फुटबल खेल्ने यी दुई देशले रक्षात्मक र प्राविधिक फुटबल खेल्ने युरोपेली देशभन्दा अगाडि जान्छन् कि सक्दैनन्, त्यो हेर्ने विषय हो ।

ब्राजिल र अर्जेन्टिनापछि फिफा विश्वकप जित्ने उरुग्वे तेस्रो दक्षिण अमेरिकी राष्ट्र हो । उरुग्वे सन् १९३० मा फिफा विश्वकपको पहिलो विजेता पनि थियो । र सन् १९५० मा पनि उनले माराकाना रंगशालामा एक लाख ४५ हजार दर्शकको अगाडि आयोजक ब्राजिललाई २–१ ले हराएर विश्व उपाधि जितेको थियो । सो खेललाई त्यतिबेलाको सबैभन्दा ठूलो अपसेट खेलको रुपमा पनि लिने गरिन्छ । यसपटक पनि उरुग्वे लुइस स्वरेज र एडिसन कभानीजस्ता फुटबलरसहित विश्वकप खेल्दै छ तर उरुग्वेलाई विश्वकप जित्ने दाबेदार देशको सूचीमा भने राखिएको छैन ।

२००२ सम्म, दक्षिण अमेरिकी देशहरूले युरोपका आठविरुद्ध नौ उपाधि जितेका थिए ।

२००२ सम्म, युरोप र दक्षिण अमेरिकी देशहरूमा उपाधिका लागि घनिष्ठ लडाइँ हुन्थ्यो । सन् २००२ सम्म भएका १७ विश्वकपमा नौ उपाधि दक्षिण अमेरिकी देशले र आठ उपाधि युरोपेली राष्ट्रले जितेका थिए तर त्यसपछि स्थिति उल्टो भयो । अहिलेसम्म युरोपेली देश १२ पटक विश्व च्याम्पियन बनेका छन् भने दक्षिण अमेरिकी देशले ९ पटक फिफा उपाधि जितेका छन् ।

अचम्मको कुरा, सन् २००२ यता भएका चार विश्वकपमा दक्षिण अमेरिकी टोली अर्जेन्टिना एकपटक मात्रै फाइनलमा पुग्न सकेको छ । सन् २०१४ मा जर्मनीले अर्जेन्टिनालाई १-० ले फाइनलमा हराएको थियो । सन् २०१० मा उरुग्वे र २०१४ मा ब्राजिल सेमिफाइनलसम्म  पुगेका थिए । अर्थात् २००२ देखि फिफा विश्वकपमा युरोपेली फुटबलको पूर्ण प्रभुत्व रहेको छ ।

यसपटक अर्जेन्टिना र ब्राजिललाई विश्वकप जित्न सक्ने देशको रुपमा हेरिएको छ । त्यस्तै मेसीको लागि पाँचौं र अन्तिम विश्वकप हुन सक्ने हुनाले पनि विश्वकपमा उनको प्रदर्शन बारे विशेष चासो रहेको छ । उनले अर्जेन्टिनालाई अहिलेसम्म कुनै पनि विश्व उपाधि जिताउन सकेको छैन । उनले यस पटक जित्नका लागि आफ्नो सबै प्रयास गर्न सक्छन्  । योसँगै नेयमार पनि अर्को वर्ष फेब्रुअरीमा ३१ वर्षका हुनेछन् । विज्ञहरूले यसलाई उनको अन्तिम विश्वकप पनि मानिरहेका छन् । नेइमारले पनि ब्राजिललाई च्याम्पियन बनाउन सकेका छैनन् । दुवै स्टार फुटबलर आफ्नो देशको उपाधिको खडेरी अन्त्य गर्न चाहन्छन् ।

अहिलेसम्मका विश्वकप विजेता दक्षिण अमेरिकी देशहरु 

उरुग्वे- १९३० र १९५० 
ब्राजिल- १९५८, १९६२, १९७०, १९९४ र २००२ 
अर्जेन्टिना- १९७८ र १९८६ 

फिफा विश्वकप विजेता युरोपेली देशहरू

इटाली- १९३४, १९३८, १९८२ र २००६ 
जर्मनी- १९५४, १९७४, १९९० र २०१४
फ्रान्स- १९९८ र २०१८ 
ईङल्याण्ड- १९६६ 
स्पेन- २०१०

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै