विराटनगर । जावलाखेल युथ क्लब विराट गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
विराटनगरको शहीद रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित गर्दै जवालाखेलले सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । निर्धारित समयमा दुवै टिम गोलरहित
बराबरी खेलेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टिम गोलरहित बराबरी खेलेका थिए । त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो ।
पेनाल्टी सुटआउटमा पनि दुवै टिमबाट ५–५ गोल भएपछि खेल सडनडेथमा पुगेको थियो । सडनडेथमा आर्मीका शेषेहाङ आङदम्बेले प्रहार पोष्टबाट बाहिरिएको थियो भने जावलाखेलका लागि विशाल तामाङले गोल गर्दै खेल जिताएका थिए ।
चैत्र १७ गतेसम्म चल्ने विराट गोल्डकप प्रतियोगिताको विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्छ भने उप विजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएका छन् ।