• २०८१ बैशाख १७ सोमबार

हाकिमीको नाममा सम्पति नभएपछि डिभोर्स मागेकी पत्नी जिल्ल !

kharibot

काठमाडौँ । मोरक्कोका पिएसजीबाट खेल्ने सुपरस्टार फुटबलर अचरफ हाकिमीकी पत्नी हिबा अबोउकसँग डिभोर्स हुने भएको छ ।

हाकिमी भन्दा १२ बर्ष उमेरमा बढी हिबाले हाकिमीसँग डिभोर्स फाइल गरेपछि यो विषय अहिले सामाजिक संजाल र मिडियामा चर्चामा रहेको छ ।  २४ बर्षिय हाकिमी र ३६ बर्षिय हिबाका दुई छोरा समेत छन् ।  तर डिभोर्स फाइल गर्दै हिबाले हाकिमीको आधा सम्पति दाबि गरेपछि हाकिमीको नाममा कुनै सम्पति नै नरहेको खुलासा भएको छ । 

हाकिमी पछिल्लो समय एक युवतीलाई बलात्कार गरेको आरोपमा विवादमा आएका थिए ।  गत फेब्रुअरीमा हाकिमीविरुद्ध बलात्कारको आरोप लगाइएको थियो र यो विषय अहिले अनुसन्धानमै रहेको बेला उनकी पत्नीले डिभोर्स फाइल गरको फ्रेन्च मिडियाहरुले उल्लेख गरेका छन् । 

डिभोर्स फाइल गर्दै हिबाले हाकिमीले आफ्नो पारिश्रमिक आफ्नी आमाको नामबाट बुझ्ने गरेको उल्लेख गर्दै उनको नाममा केहि नभएको उल्लेख गरेकी छन् ।  हाकिमीले पिएसजीबाट प्रति साता २ लाख ८९ हजार युरो पारिश्रमिक बुझ्ने गर्दछन् ।  मिडिया रिपोर्टका अनुसार हाकिमीले आफ्नो पारिश्रमिकको ८० प्रतिशत आमाको नाममा बुझ्ने गर्दछन् भने २० प्रतिशत आफ्नो दैनिक खर्चका लागि आफुले बुझ्ने गरेका छन् । 

हाकिमी र हिबाबीचको सम्बन्ध हालै सम्पन्न विश्वकप फुटबलसम्म राम्रोसँग अगाडी बढिरहेको भएपानी त्यसपछि हाकिमीमाथि बलात्कारको आरोप लागेपछि बिग्रिएको बताइएको छ । यद्यपी हाकिमीले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् ।  तर हिबाले भने एक विज्ञप्ति नै जारी गर्दै आफु हाकिमीसँग अलग हुने घोषणा गरेकी थिइन् । 
३६ बर्षिय हिबा अभिनेत्री एवं सामाजिक सञ्जालमा निकै चर्चित रहेकी छन् । उनी स्पेनकी चर्चित अभिनेत्री हुन् । उनका अभिभावक ट्युनिसिया र लिबियाका हुन् ।  उनका अभिभावक ट्युनिसियाबाट स्पेन गएका थिए । हिबाले अरबी फिलोलोजीमा डिग्रीसम्मको अध्ययन गरेकी छन् भने नाटकमा समेत डिग्री पढेकी छन् । 

हिबा चर्चित अभिनेत्री र मोडल रहेकाले उनले पनि राम्रो आय गरिरहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।  उनका इन्स्टाग्राममा मात्र १.३ मिलियन फलोअर रहेका छन् ।  सामाजिक सञ्जालबाट पनि उनले राम्रो कमाई गरिरहेकी छन् ।   

हाकिमी र हिबाको भेट २०१८ मा भोग अरेबियाका लागि फोटो सुटका क्रममा भएको थियो ।  त्यति बेला हाकिमी रियल म्याड्रिडमा थिए ।  त्यसपछि दुवैलाई २०१९ मा म्याड्रिडमा एक च्यारिटी कार्यक्रममा साथमा देखिएको थियो । त्यसपछि उनीहरुले आफ्नो सम्बन्धको औपचारिक जानकारी सामाजिक सञ्जालमा दिएका थिए । 

हाकिमी र हिबाले २०२० मा गोप्यरुपमा विवाह गरेका थिए । दुवैका दुई छोरा अमिन र नैम रहेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै